दशैँको किनमेल स्थानीय हाटबजारमा

रासस

रासस

Oct 11, 2024 | 08:28:36 PM मा प्रकाशित

laxmi sunrise bank

नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको छ । सहरी क्षेत्र सुनसान बन्दै गएको बेलामा गाउँघरका पसल तथा बजारहरु स्थानीयको किनमेलको केन्द्र बन्ने गरेको छ । 

दशैँको टीकाको अघिल्लो दिन आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ इटौरामा लाग्ने हाटबजारमा किनमेल गर्ने स्थानीयको घुइँचो लागेको छ । फूलपातीकै दिनदेखि सहर बजार सुनसान बन्दै गएको अवस्थामा आज महानवमीको दिन यहाँको हाटबजार भने भरिभरिउ छ । अन्य बेलाको तुलनामा आज हाटबजारमा किनमेल गर्नेको सङ्ख्या अत्यधिक भएको कपडा व्यवसायी काशिराम कँडेलले बताए । 

“दशैँको अघिल्लो दिन भएर पनि होला । आज किनमेल गर्ने उपभोक्ताको ठूलै घुइँचो लागेको छ”, उनले भने, “अन्य शुक्रबारको तुलनामा आजको दिन चार गुणा बढी व्यापारसमेत भएको छ ।” दसैँमा घर आउँदा सामान खरिद गर्न नपाएका उपभोक्ताहरु घर नजिकै सस्तो र गुणस्तरीय सामान पाउने भएपछि हाटबजारमा आकर्षित भएका कँडेलको भनाइ छ । सहर बजारको पसलमा भन्दा हाटबजारमा लाग्ने पसलमा सामान सस्तो तर एउटै गुणस्तरको पाउनेसमेत कँडेलले दाबी गरे ।

 स्थानीय कोल्हुवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले हाटबजार स्थानीय सामान बिक्री गर्ने सहज माध्यम भएको बताए। “आफ्नो बारीमा उत्पादन भएको फलफूल तथा तरकारी बिक्री गर्न समेत हाटबजार उपयुक्त माध्यम बनेको छ”, उनले भने, “धेरै उत्पादन हुनेले बिक्री गर्ने अनि आवश्यकता पर्नेले खरिद गर्ने थलो हाटबजार बनेको छ ।” हाटबजारले स्थानीयलाई सामान खरिद गर्न, बिक्री गर्न टाढा बजारमा जानुपर्ने अवस्थाको अन्त्य हुँदा समय र पैसाको समेत बचत भएको उनको भनाइ छ । 

मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले हाटबजारका कारण स्थानीय सरकारलाई राजस्व समेत प्राप्त हुने गरेको बताए । “हाटबजारमा सामान बिक्री गरेबापत व्यवसायीले सरकारलाई कर बुझाउँछन्”, उनले भने, “उपभोक्ताले पनि ताजा र सस्तो सामान खरिद गर्ने अवसर पाएका छन् ।” दशैँको अघिल्लो दिन लागेको हाटबजारमा त झनै दशैँका लागि आवश्यक पर्ने तरकारी, फलफूल तथा अन्य सामग्री खरिद गर्न अन्य दिनभन्दा बढी उपभोक्ताहरु पुगेका उनले बताए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved