तिहार नजिकिएसँगै भाइमसला र फूल तथा माला किन्नेको भिड बढेको छ । राजधानीको पुरानो व्यापारिक थलो असन बजारका ठूला होलसेल पसलदेखि सानातिना फुटपाथ पसलसम्म भाइमसला किन्नेको भिड बाक्लो देखिएको छ ।
मसला मात्रै नभई भाइटिकाका लागि आवश्यक रङ्गसहित माला किन्नेहरु पनि उत्तिक्कै बढेका छन् । सामान किन्नको लागि भिडको चहपहल छ तर सामानको भाउँ बढेको कारण खरिद गर्न डराउने गरेको व्यवसायीको भनाई छ।
असनका पसलहरुमा एक केजी काजुको मूल्य २१ सय रुपैयाँ छ । यद्यपी, सबै पसलमा फरक फरक मूल्य रहेको छ । केही पसलमा भने प्रतिकेजी २ हजार ३ सयमा पनि उपलब्ध छ । पेस्ता प्रतिकेजी २ हजार २ सय रुपैयाँ र ओखर प्रति केजी ५ सय ५० रुपैयाँ रहेको पाइएको छ । मिश्रि प्रति केजी २६० रुपैयाँ, बदाम प्रति केजी १ हजार ८०० सय रुपैयाँ, नरिवल प्रति केजी ५५० रुपैयाँ रहेको छ ।
त्यस्तै, किसमिसको मूल्य प्रतिकिलो ५२५ रुपैयाँ, सूपाडी पाउँको ३ सय रुपैयाँ रहेको पाइएको छ । प्याकेटको ल्वाङ्खको मूल्य ४ सय, सुकमेलको मूल्य पाउँको ९ सय रुपैया रहेको पाइएको छ । यी सामानको मूल्य अघिल्लो वर्षको तुलनामा धेरै महङ्गो भएको व्यवसायीहरुको भनाई छ ।
दिदीबहिनीले तिहारमा आफ्नो दाजुभाइलाई लगाइदिने फूलका मालाको मूल्य पनि पसल अनुसार फरक फरक पाइएको छ । मखमलीको एउटा मालाको मूल्य ४० रुपैयाँ छ भने सयपत्रीको मालाको मूल्य २० रुपैयाँ रहेको छ । इण्डियन सयपत्रीको एउटा मालाको मूल्य सय रुपैयाँ छ । गोदावरी र सयपत्री मिसिएको एउटा मालाको मुल्य पनि २ सय रुपैयाँ रहेको पाइएको छ ।
सामानको भाउँ सोध्दै जाने क्रममा असनमा सानो किराना पसल खोलेर बसेकी निलीमा तुलाधरले पहिलेको जस्तो व्यापार नभएको बताईन्। अहिले फुट्पाथमा धेरै व्यापारीहरु बाटो बाटोमा बसेर सामान विक्री गर्ने गरेकाले पहिलाको जस्तो व्यापार नभएको उनको भनाई छ।
तिहारको बेला मात्र नभई काजु, पेस्ता, बदाम, सुकुुमेल, नरीवल जस्ता पौष्टिकतत्व खानेकुराले शरीर तनदुरुस्त र शरीरलाई तागत दिने खानेकुुरा भएकाले यसको भाउँ दोब्बर बढेको व्यवसायी बताउछन।
भाईटिकाको दिन दाजुभाई लाई सगुनको रुपमा अथवा उपहारको रुपमा दिइने भाईमसला प्याकेटको मूल्य १ सय ५० देखि १३ सयसम्म रहेको पाइएको छ । सबै पसलहरुमा एउटै मूल्य भने छैन् सबै पसलमा फरक फरक मूल्य रहेको छ ।