अझै पञ्चेको बर्चश्व, निर्वाचनबाट मुखिया चुन्न उत्साहित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 04:40:02 AM मा प्रकाशित

laxmi  sunrise bank

रौतहट ।  पञ्चायतकालको प्रभावमा यहाँका मतदाता अहिले पनि जनप्रतिनिधिलाई ‘मुखिया’ सम्बोधन गर्छन्। स्थानीय निर्वाचनबाट आफूले विश्वास गरेको मुखिया चुन्न उत्साहित छन् उनीहरू।

बुधबार उम्मेदवारी दर्तासँगै बजार र ग्रामीण क्षेत्रमा चुनावी रौनक बढेको छ। चोक, चौराहा, हाट र गाउँघरमा प्रचार तीव्र छ। उम्मेदवार एजेन्डा सुनाएर मतदाता आकर्षित गर्न केन्द्रित छन्। मिति तोकेर चुनाव पटक–पटक सारिएकाले मतदाता पनि भोट हाल्न बढी नै आतुर देखिन्छन्। ‘दुई दशकपछि मुखिया चुन्ने अवसर मिलेको छ,’ वृन्दावन नगरपालिका–६ का ७५ वर्षीय जंगी महतोले भने, ‘अहिलेको पुस्ताले मुखियाको महत्त्व बुझेको छैन।’ इतिहास पढ्नेभन्दा लहलहैमा लाग्ने धेरै भएकाले अहिलेको पुस्ताले जनप्रतिनिधिको महत्त्व नबुझेको उनले सुनाए।

कर्मचारीले गाउँलेका पीरमर्का कमै सुन्ने गरेको महतोको भनाइ छ। ‘गाउँकै व्यक्ति मुखिया ९जनप्रतिनिधि० बनेमा चाहेको काम हुन्छ,’ उनले भने, ‘टाढाको व्यक्तिले समस्या सुनाउँदा पनि झर्को मान्छन्।’  दलहरूको उम्मेदवार चयनमा भएको ढिलाइले अलमलमा परेका यहाँका बासिन्दा बुधबार बिहानैदेखि चुनावी माहोलमा होमिए। ‘मनोनयन दर्तापछि यहाँ साँच्चिकै चुनावी माहोल बन्यो,’ वृन्दावन–६ का जागेश्वर दासले भने, ‘दलित, मधेसी, मुस्लिमको प्रतिनिधित्व हुने भएपछि घर–घरमा चुनाव लागेको छ।’ दुई दशकयता सर्वसाधारणले सरकारको अनुभूति गर्न नपाएको गुनासो उनले गरे। ‘पहिले हुनेखानेले मात्र सेवा पाए,’ दासले भने, ‘भ्रष्टाचार थियो, विकास निर्माण भएन।’ अहिले यहाँका बासिन्दाले उम्मेदवारसँग सडक, विद्यालय, अस्पताल, बिजुलीका पोल माग्ने गरेका छन्। नयाँ संविधान र नयाँ संरचनाअनुसार अधिकांश सरकारी सेवा स्थानीय तहबाटै मिल्ने खबरले मतदाता उत्साही छन्। 

 २०१५ सालयताका सबै निर्वाचनमा भोट हाल्दै आएका स्थानीय भिखारी ठाकुरले नयाँ सरंचना ठीक लागेको बताए। ‘पहिले स्थानीय तहमा बजेट हुन्थेन,’ उनले भने, ‘मुखियाले चाहेर पनि काम गर्न सकेनन्।’ यसपालि स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनिएकाले गाउँका आधारभूत आवश्यकता पूरा हुने विश्वास उनले व्यक्त गरे। ‘सचिवले हाम्रो आवश्यकता बुझेनन्,’ उनले भने, ‘गाउँकै व्यक्ति मुखिया बनेपछि हाम्रो मर्का बुझ्ने छन्।’ उनी बुधबार मनोनयन दर्ता हेर्न नगरपालिका कार्यालय आएका थिए। उनीसित गाउँका धेरै वृद्ध पनि थिए। हर्साहाका सब्बिर हुसेनले यसअघि मधेस आन्दोलनमा सडक तताउने व्यक्ति नै अहिले दलका झन्डा बोकेर प्रचारमा जुटेको बताए। ‘यसअघि आन्दोलनमा सहभागी हुने पनि यिनै हुन्,’ उनले भने, ‘अहिले चुनाव तताउने पनि यिनै हुन्।’ उम्मेदवारको टुंगो लागेसँगै गाउँ–गाउँमा रौनक सुरु भएको उनले बताए।

विभिन्न नगरपालिकामा मनोनयन दर्ता गर्न जाने क्रममा आयोजित र्‍यालीमा पुरुषको संख्या धेरै देखिन्थ्यो। महिला खेत गोड्न र घाँसपातमा व्यस्त थिए। ‘चुनाव लागेको छ, थाहा छ,’ घाँस काट्न जाँदै गरेकी फूलवती राउतले भनिन्, ‘घरमूलीले जुन चिह्नमा भन्यो, त्यसमै छाप लाउने हो।’ स्थानीयका अनुसार अधिकांशले परिवार र गाउँका अगुवाले अह्राएको चिह्नमा भोट हाल्ने गरेको आजको कान्तिपुरमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved