प्रदेश नं २ मा दलहरुवीचको तालमेल तोडियो, आ–आफ्ना तरिकाले उम्मेदवारी दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 04:49:31 AM मा प्रकाशित

काठमाडौं ।  स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ। प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबार उम्मेदवारी दर्तामा त्यो देखिएन।

तीनवटा स्थानीय तहबाहेक सबैमा दलहरूले आ–आफ्ना उम्मेदवारी दिएका छन्। धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रूपनी गाउँपालिकामा राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ। त्यसबाहेक अन्य स्थानका प्रमुख पदमा सबै दल एक्लाएक्लै भिडदै छन्। कांग्रेस र माओवादी केन्द्रबीच १० भन्दा बढी स्थानीय तहमा तालमेल गर्ने तयारी थियो। तर धनुषाको मिथिला र बाराको निजगढ गरी दुइटा नगरपालिकामा मात्र गठबन्धन सम्भव भयो। दुवै नगरमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख लिएर तालमेल गरेका छन्। बाराकै जितपुर–सिमरा उपमहानगरमा समेत तालमेल गर्ने उनीहरूको पहल सफल भएन।

गठबन्धनका लागि दलहरूले व्यापक कसरत गरे पनि आन्तरिक किचलोका कारण तालमेल सम्भव नभएको हो। ‘हामीले धेरै स्थानमा तालमेलका लागि प्रयास गरेका थियौं, तर दुवै पार्टीभित्र आन्तरिक किचलो पनि देखियो र आकांक्षी व्यवस्थापन पनि गर्नुपर्ने भएकाले तालमेल सम्भव भएन,’ कांग्रेस नेता आनन्द ढुंगानाले भने। कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष माओवादीसँग तालमेल नगरी चुनाव लड्नुपर्ने पक्षमा उभिँदै आएको थियो । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने माओवादीसँगको तालमेललाई प्राथमिकतामा राखेका थिए। उनले सत्ता गठबन्धनलाई समेत मजबुत बनाइराख्न र एमालेको प्रभाव कमजोर पार्न गठबन्धनमा जोड दिएका थिए।

पौडेल पक्ष भने माओवादीसँग तालमेल गरेर जाँदा कांग्रेसलाई घाटा हुने भन्दै विपक्षमा उभिएको हो। यसअघि कुनै पनि चुनावमा अन्य पार्टीसँग गठबन्धन नगरेको दल अहिले माओवादीसँग जोडिँदै हिँडदा कांग्रेस कमजोर भएको सन्देश गएको भन्दै पौडेल पक्षले एक्लै लड्नुपर्ने अडान राखेको हो।  माओवादीले पनि तालमेलका लागि कांग्रेससँग केही शर्त राखेको थियो। राजमार्ग क्षेत्रमा आफ्नो प्रभाव रहेकाले त्यहाँ पर्ने नगर र गाउँपालिकामा कांग्रेसले सघाउनुपर्ने सर्त माओवादीको थियो ।

राजमार्ग क्षेत्रमा सहयोग गरे राजमार्गभित्रका स्थानीय तहमा कांग्रेसलाई सघाउने माओवादीले बताएको थियो। तर यो विषयमा दुई पार्टीबीच कुरा मिल्न नसकेपछि बुधबारको मनोनयनमा दुवै दलले आ–आफ्नो उम्मेदवारी दिएको आजको कान्तिपुरमा खबर छ । ‘मिलेर जाने अधिकतम प्रयास थियो तर धेरै स्थानमा सम्भव हुन सकेन,’ माओवादी प्रदेश २ का संयोजक विश्वनाथ साहले भने।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved