पुरुषलाई चुनाव लाग्यो महिला मेलापातमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 04:19:39 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । प्रदेश २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै यहाँका घरघरमा चुनाव लागेको छ । उम्मेदवार र अगुवा कार्यकर्ता जित सुनिश्चित गर्न घरदैलोमा व्यस्त छन् । मतदाता आकर्षित गर्ने होड सुरु भएको छ । यस्ता कार्यक्रममा महिलाको उपस्थिति  भने शून्यप्राय देखिन्छ । ‘यहाँका महिला प्रचारमा हिंडैनन्,’ टाउकामा घाँस बोकेर घर फर्किरहेकी हरिपुर २ पिडारीकी नगिनादेवी चौधरीले बिहीबार भनिन्, ‘श्रीमान् हिजो ९बुधबार० जानुभो, हामी त कहिल्यै जाँदैनौं ।’ 

उनका पति बुधबार उम्मेदवारी मनोनयन र्‍यालीमा सहभागी बनेका थिए । परिवारका पुरुष सदस्य आफूले समर्थन गरेको दलका लागि भोट माग्न जाने गर्छन् । महिलालाई भने चुलोचौको र मेलापातमै फुर्सद छैन । उनीहरूलाई त्यस्ता कार्यक्रममा सहभागी गराइँदैन । परिवारले खुलेर हिंड्न प्रोत्साहित नगरेपछि उनीहरू घरव्यवहारमा सीमित बन्छन् । ‘कसैले जाऔं भने पो जानु,’ हरिपुर ४ की बच्चियादेवी रायले भनिन्, ‘हाम्रो खोजी नै गरिंदैन ।’ गाउँघरमा झन्डा बोकेर पुरुष हिंडेको देख्दा उनलाई रमाइलो लाग्छ । तर कसैले वास्ता नगरेको उनको गुनासो छ । पुरुष भोट माग्न जाँदा महिलालाई कामको बोझ थपिने गरेको छ । 

‘अहिले उम्मेदवार बनेका महिला मात्रै कार्यक्रममा जान्छन्,’ स्थानीय प्रभु रायले भनिन्, ‘हाम्रो काम बालबच्चा, वस्तुभाउ हेर्न हो ।’ बिहीबार जिल्लामा निर्वाचन प्रचारका कार्यक्रममा पुरुष मात्र सहभागी थिए । अधिकांश व्यक्ति मोटरसाइकल र गाडीमा झन्डा राखेर घुमिरहेका देखिन्थे । चौतारा, चियापसल र बजारमा पनि पुरुषकै संख्या धेरै थियो । महिला धान गोड्न, घाँस काट्न, घरायसी काम र गोठालामा व्यस्त थिए । ‘हामी प्रचारमा जाँदैनौं,’ घाँस काटेर फर्किरहेकी मलंगवा १२ की राजवली मण्डलले भनिन्, ‘घरमूलीले जे चिह्नमा भन्यो, त्यसमै भोट हाल्ने हो ।’ 

परम्परादेखि यहाँका जिल्लामा राजनीतिलगायत सार्वजनिक कार्यक्रममा महिलाको सहभागिता न्यून हुने गरेको हरिपुर ४ का ५८ वर्षीय योगेन्द्र रायले बताए । ‘मधेसतिर जन्नी जात ९महिला० ले राजनीति गर्दैन,’ उनले भने, ‘त्यसैले प्रचारमा पनि जाँदैनन् ।’ उनका अनुसार महिलालाई घरधन्दाको जिम्मा हुन्छ । उनीहरू बिहानैदेखि चुलोचौको र मेलापात गर्छन् । ‘खुलेर बोल्न पनि आउँदैन,’ रायले भने, ‘घुम्टो ओढेर के प्रचार गर्नु ?’ 


अहिले स्थानीय तहमा महिला अनिवार्य गरिएको छ । ‘उपल्ला पदमा धनी उम्मेदवार बनेका छन्,’ उनले भने, ‘वडासदस्य मात्र गरिबका भागमा परेको छ ।’ उनका अनुसार वडामा दलित महिला सदस्य अनिवार्य गरिएपछि यहाँका बस्तीमा उम्मेदवार तानातान भएको छ । ‘एउटै घरका जेठानी–देउरानी उम्मेदवार बनेका छन्,’ उनले भने, ‘तर राजनीति बुझेका छैनन् ।’ आजको कान्तिपुरबाट



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved