काठमाडौं हुदै पोखरा र लुम्बिनीसम्म अब छुकछुके रेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 04:29:50 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन् । ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको छ ।’ 

‘परराष्ट्रमन्त्री महराले रेल हाम्रो आवश्यकता भइसकेको भन्दै आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री लीले चीनले नेपालसम्मै रेल पुर्‍याउन गृहकार्य गरिरहेको बताएका हुन्,’ ती सदस्यले टेलिफोनमा कान्तिपुरसँग भने, ‘उनले रेलमात्र होइन, नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध साँच्चै आत्मीय रहेकाले यसलाई विकास गर्न पनि आपसमा यस प्रकारको सहकार्य आवश्यक रहेको बताए ।’ 

उपप्रधानमन्त्री महराले नेपाल–चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरूको धारणा समान रहेको जानकारी गराएका थिए । उनले आफू चीन आउनुअघि सबै दलका नेताहरूसँग भेटवार्ता गरेर समान धारणा बनाएको समेत बताएका थिए । 

चीनले पटक–पटक नेपाललाई ‘दक्षिण एसियाको ढोका’ भनिरहेको अवस्थामा रेल मार्ग आफैंले जोड्ने विषय उच्च तहबाटै बाहिर आएको हो । सिगात्सेबाट केरुङ ल्याउन लागिएको निर्माणाधीन रेलमार्गलाई पहिलो चरणमा काठमाडौं ल्याउनेबारे अध्ययन भइरहेको र त्यसपछि काठमाडौंबाट पोखरा र लुम्बिनीसम्म लैजानेबारे पनि तत्काल अध्ययन थालिने चीनको भनाइ छ । 

परराष्ट्रमन्त्री महराले चिनियाँ समकक्षी वाङ यीसँग तीन घण्टा लामो दुईपक्षीय लन्च वार्तापछि प्रधानमन्त्री लीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा लिले चीनले नेपाललाई प्राथमिकतामा राखेको र धेरै विषयमा सहयोग गर्न चाहेको स्पष्ट पारेका थिए । सडक सञ्जालदेखि व्यापार, पुनर्निर्माण, ऊर्जा र पर्यटनको क्षेत्रमा समेत सहयोग गर्न लागेको जानकारी दिएका थिए । उनले नेपालमा लगानी गर्न चिनियाँ जनता उत्साहित रहेको भन्दै त्यस्तो वातावरण बनाउनसमेत आग्रह गरेका थिए । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र तेस्रो चरणको निर्वाचनबारे समेत छलफल भएको थियो । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved