उम्मेदवारी दर्तासँगै दलहरूमा अन्तरकलह, कार्यकर्ता अन्योल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 04:51:13 AM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुर  । प्रदेश नं।२ का ८ वटै जिल्लामा उम्मेदवार छनोटको विषयलाई लिएर प्रमुख राजनीतिक दलमा आन्तरिक कलह चर्केको छ। त्यसले चुनावी प्रचारलाई समेत प्रभाव पारेको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाको आन्तरिक विवादले कार्यकर्तामाझ अन्योल खडा गरेपछि नेताहरुलाई चुनावी कार्यक्रमतिर भन्दा आन्तरिक व्यवस्थापन गर्नै अलमल भएको छ। 

अन्य दलका तुलनामा कांग्रेस र राजपाका कार्यकर्तामा बढी असन्तुष्टि देखिन्छ। मधेसमा १ नम्बर पार्टी बन्ने प्रतिस्पर्धामा रहेका यी दुवै दलमा देखिएको भित्री झगडा समयैमा व्यवस्थापन गर्न नसके त्यसको लाभ एमालेलगायत मधेसकेन्द्रित अन्य दलले लिन सक्ने समीक्षा पनि सँगसँगै भइरहेको छ।  असन्तुष्टिकै कारण पार्टीबाट विद्रोह गरी उम्मेदवार दिनेहरु पनि अघिल्ला चरणका तुलनामा प्रदेश नम्बर २ मा बढी छन्। उपमेयरका तुलनामा मेयरमा बढी स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र भएर उठ्नेमा सवैभन्दा बढी वडा अध्यक्षका आकांक्षी छन्। वीरगञ्ज महानगरपालिकामा राजपा नेता विमल श्रीवास्तव पार्टीले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका छन्। राजपाका सांसद जंगीलाल राई औपचारिक रुपमै पार्टी छाड्ने तयारीमा छन् ।

उनी निकटका नेताहरु एमालेबाट टिकट लिएर चुनावी मैदानमा आएका छन्। जनकपुरका बुद्धिजिवी एवं प्राध्यापक सुरेन्द्र लाभले अघिल्ला चुनावमा भन्दा मधेसमा यसपटक उम्मेदवारको विषयमा चर्को असन्तुष्टि देखिएको बताए। कार्यकर्तातहमा देखिएको यो असन्तुष्टिले अन्तर्घातको रुप लिएमा त्यसको सबैभन्दा असर कांग्रेस र राजपालाई पर्ने उनको ठम्याइ छ।  उम्मेदवारी दिँदा नेताहरुले इमानदार, पार्टीमा लामो समय क्रियाशील र सघर्ष गरेकालाई भन्दा आर्थिक हैसियतमा रहेका, नेताका वरीपरी घुम्ने र नातागोतालाई च्यापेको उनीहरूको आरोप छ । 

‘एउटा होइन, सवैजसो पार्टीले पैसा खुवाएर उम्मेदवार बनाए । राम्रालाई होइन आफ्नालाई दिए भन्ने गुनासो व्याप्त छ । यस्तो असुन्तुष्टी नभएको २ नम्बर प्रदेशमा कुनै दल छैन’, लाभ भन्छन्, ‘असन्तुष्टि भएपछि अन्तर्घात गर्ने संस्कृति छ। यसलाई नेताहरुले कसरी व्यवस्थापन गर्छन्, त्यसपछि मात्रै चुनावको परिणाम आंकलन गर्न सकिन्छ।’ नेताहरुले टिकट दिंदा मधेसका जातिय बाहुल्यलाई पनि प्रमुख आधार बनाएका छन्। जसले अन्य अल्पसंख्यक जाति असन्तुष्ट छन्। जनकपुर उपमहानगरपालिकामै सवैजसो दलले साह थरकालाई उम्मेदवार बनाएका छन्। कांग्रेस, एमाले, राजपा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयां शक्ति नेपाल र फोरम लोकतान्त्रिकले साह थरकालाई छानेका छन्।  धनुषाको पूर्व तथा दक्षिणमा यादव थरकालाई उम्मेदवार बनाइएको छ। उत्तरी क्षेत्रमा थारु बहुलता छ। अधिकांश दलले त्यहाँ थारुलाई उम्मेदवार बनाएका छन् ।

धनुषा मात्रै नभएर मधेसका ८ वटै जिल्लामा यस्तो अवस्था देखिन्छ। ‘यस्तो संस्कृति लोकतन्त्रको विकृति हो’, लाभले भने, ‘राम्रो मान्छे अल्पसंख्यक र बहुसंख्यक दुवैमा हुन सक्छन, जातिय भोटलाई हेरेर उम्मेदवार बनाउनु गलत हो।’  राजविराजका बुद्धिजीवी शिवहरि भट्टराईले पुराना र त्यागी कार्यकर्तालाई उम्मेदवार नबनाएको गुनासो सवैजसो जिल्लामा देखिएको बताए। राजपाभित्र एकीकरण हुनुअघिका ६ पार्टीका नेतालाई मिलाएर उम्मेदवार बनाउनु चुनौती त थियो नै, कांग्रेसमा पनि त्याग र निष्ठावान कार्यकर्तालाई बञ्चित गरियो। ‘नगरपालिकामा चुनाव जित्न करौडौ रुपैयाँ खर्च हुने अवस्था छ। त्यसैलाई हेरेर नेताहरुले पैसा भएका, पर्दा आफूलाई पनि सहयोग गर्ने व्यापारीलाई उम्मेदवार बनाए’, भट्टराई भन्छन्। आजको कान्तिपुर दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved