वीरगञ्ज । पर्सागढी नगरपालिका–८ हरपुरका बासिन्दा शुक्रबार मध्याह्न बैठकमा भेला भई दस दिनपछि हुने निर्वाचनको जोडघटाउमा जुटे। पुराना दलको काम, नयाँ दलको क्षमता आँकलन गर्दै उनीहरूले कुनचाहिँ उम्मेदवारले समाजको विकास गर्न सक्छ भनी छलफल गरे। मतदातामाझ उम्मेदवारको व्यक्तित्वदेखि पार्टीले विगतमा गरेका विकास गतिविधिबारे चर्चा चलिरहेको छ। मत तान्न उम्मेदवारले दिनहुँजसो गर्ने भोजभतेर र आर्थिक प्रलोभनबारे समेत खुला छलफल भइरहेको छ। ‘भोजभतेरकै भरमा भोट दिने जनता पछि खाडलमा पर्छन्।
विकास गर्ने, भेदभाव नगर्ने, समाजमा शान्ति कायम राख्ने, कम बोल्ने धेरै काम गर्नेलाई चुन्नुपर्छ,’ ७४ वर्षीय लंगटु रामले भने। उनकै भनाइमा सही थप्दै २५ वर्षीय रोहित रामले पनि भोज खुवाएकै भरमा भोट दिन नहुने विचार राखे। ‘उम्मेदवारको मूल्यांकन गनुपर्छ,’ उनले भने, ‘पैसाको भरमा चुनाव जित्ने उम्मेदवारले पछि विकास गर्दैन।’ अर्का स्थानीय विजय साह कलवारको बुझाइमा यस्तो विकृति मौलाउनुमा मतदाता र कार्यकर्ता पनि उत्तिकै दोषी छन्। ‘घरदैलोमा सँगै हिँडेका कार्यकर्तालाई नास्ता, पेट्रोल र पैसा नदिए भोलिपल्ट नेतासँग हिँड्नै छाड्छन्,’ उनले भने, ‘बरु मेरै खाऊ, अरूको नखाइदेऊ भन्ने बाध्यता छ।’ उनी निकटका एक वडाध्यक्ष उम्मेदवारको साढे दुई लाख रुपैयाँ खर्च भइसकेको उनले सुनाएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
गत महिना मात्र नगरपालिका घोषणा भएको पर्सागढीमा कांग्रेसबाट लोकनारायण यादव, एमालेबाट गोकर्ण पाठक, संघीय समाजवादी फोरमबाट ब्रिजमोहन चौधरी, माओवादीबाट धनबहादुर श्रेष्ठ मेयरका लागि चुनावी मैदानमा छन्। यहाँ १७ हजार ७ सय २३ मतदाता छन्। उम्मेदवारहरू विकासको मुद्दा अघि सार्दै घरदैलो अभियानमा जुटिरहेका छन्। थारू, पहाडी र मधेसी समुदायको बाहुल्य रहेको नगरमा त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको छ। एमालेका पाठक ०५४ बिरुवागुठी गाविसमा अध्यक्ष चुनिएका व्यक्ति हुन् ।
कांग्रेसले क्षेत्र नम्बर ३ का सचिवलाई मेयर उठाएको छ भने माओवादीले ०५४ मा एमालेबाट पञ्चरूखीको अध्यक्ष बनेका श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । फोरमका तिवारी पञ्चायतकालमा बागबन्ना गाविसका मुखिया थिए। पछिल्लो समय थरूहट आन्दोलनमा सक्रिय उनी गत महिना मात्र फोरम प्रवेश गरेका हुन्।