खुला सीमाको फाइदा उठाउँदै प्रतिबन्धित भारतीय नोट नेपाल भित्रिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 04:45:49 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २३ कात्तिकमा गैरकानुनी कारोबार रोक्न भारतीय मुद्रा पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । त्यस क्रममा ५० दिनसम्म सर्वसाधारणसँग भएको नोट बैंकमा जम्मा गर्ने सुविधा दिइएको थियो ।

त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलमार्फत नेपालमा रहेका भारु पाँच सय र एक हजार दरका नोट साट्ने पहल गरेको थियो । पटक–पटक भारतीय रिजर्भ बैंकमार्फत प्रतिबन्धित नोट साट्न पहल गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । बैंकिङ च्यानलमार्फत पैसा जम्मा गर्दा वैध आर्जनको बाटो खोजिने भएकाले कतिपय भारतीय व्यापारीले यस्तो पैसा आफूसँग राख्दै आएका छन् ।

८ जेठ ०७४ मा भारत हरियाणा प्रदेश रोहतक डिस्ट्रिक्ट, थाना पोस्ट अफिस रोहतक ८१३ वडा २, इन्द्रा कोलोनी घर भएका अनिलकुमार सोनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । उनीको साथबाट प्रहरीले ५० लाख ५० हजार रुपैयाँको प्रतिबन्धित नोट बरामद गरेको आजको अन्नपूर्णपोष्टमा खबर छ ।

अनुसन्धानका क्रममा सोनीले उक्त रकम दिल्लीको चाँदनी चोकका होलसेल व्यापारी रामकुमार अग्रवालले पठाएको बताए । डेराबाट पक्राउ परेका उनी ४ जेठमा नेपाल एयरलाइन्सको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका थिए । उनले आफू काठमाडौंमा पुराना टायर मर्मतको काम गर्दै आएको बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ वैशाखपछि प्रतिबन्धित नोटसँग सम्बन्धित पाँच घटना विभागको जिम्मा लगाएको छ । पाँच घटनामा तीन करोड ३९ लाख प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पठाएको विवरणका आधारमा थप अनुसन्धान गरेर विभागले मुद्दा दर्ता गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved