निर्वाचन आयोगको विना सल्लाह ११२ उपसचिवसहित १२६० कर्मचारी सरूवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 05:30:35 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो । 

निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो । यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो ।

निजामती सेवा नियमावलीअनुसार भदौ महिनाभरि कर्मचारीलाई अन्तरमन्त्रालयमा सरुवा गर्ने समय भए पनि निर्वाचन आचारसंहिताका कारण सरुवा रोकिएको थियो । निर्वाचन आयोगले आचारसंहिताका कारण अन्य मन्त्रालयको कर्मचारी सरुवा भने रोक लगाएको आजको नयाँ पत्रिकामा खबर छ ।

११२ उपसचिव सरुवा

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका एक सय १२ उपसचिव स्थानीय तहमा काजमा खटाएको छ । यस्तै, सरुवा गरिएमध्ये ७५ जना शाखा अधिकृत छन् । मन्त्रालयले ६ सय ८१ जना सुब्बालाई पनि स्थानीय तहमा खटाएको छ । यसैगरी, ३ सय ९२ जना खरदारलाई पनि स्थानीय तहमा काजमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका खरदारमध्ये अधिकांश खरदार सिंहदरबारस्थित विभिन्न मन्त्रालयअन्तर्गतका छन् ।

सामान्य प्रशासन मन्त्रालयले सिहदरबारमा रहेका २ सय २ जना खरदारलाई स्थानीय विकास मन्त्रालयमा खटाउने नीति लिएको छ । सोही नीतिअनुसार अहिले अधिकांश खरदारलाई स्थानीय तहमा खटाएको हो ।

स्थानीय तहमा अझै कर्मचारी खटाइने

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि अझै कर्मचारी खटाउने जनाएको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले राजधानी केन्द्रित कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउने प्रक्रियालाई जारी राख्ने बताए । उनले भने, ‘निर्वाचन आयोगसँग सहमति लिएर स्थानीय तहमा कर्मचारी खटाउने काम निरन्तर भइरहन्छ । मेरो जिम्मेवारी नै स्थानीय तहमा कर्मचारी खटाउने र संघका कर्मचारीलाई समायोजनमा पठाउने हो ।’ उनले स्थानीय तहमा अझै २५ सय कर्मचारी तत्काल पठाउनुपर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved