समयमै वृद्धभत्ता पाउने आसमा मतदान केन्द्रमा पुगे वृद्धवृद्धा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 19, 2017 | 05:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरी ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी ८५ वर्षीया गंगादेवी झा सोमबार बिहान ७ बजे घरनजिकैको जनता माविको केन्द्रमा मतदान गर्न लाम लागिन्। राजतन्त्र, प्रजातन्त्र र संघीय गणतन्त्रको निर्वाचनमा मतदान गरेको अनुभव सँगालेकी उनी स्थानीय तहमा भने २० वर्षपछि मतदान गर्दै थिइन्। 

अस्वस्थताका कारण उनलाई सुरुमै मतदान गर्ने सुविधा दिइयो। मत खसालेर निस्केपछि उनले भनिन्, ‘सायद अब समयमै घरघरमै वृद्ध भत्ता पाउँछु होला।’ गाविस सचिव नभेटिने, भेटे पनि समयमा भत्ता नदिने, जिविसबाट सामाजिक सुरक्षा भत्ता उठाएर सचिव फरार हुनेजस्ता पीडा खेपेका ज्येष्ठ नागरिक स्थानीय तहको निर्वाचनपछि आशावादी देखिए। सोही मतदान केन्द्रमा लाइन बसेर मतदान गरेकी वृद्धा गुलाव देखी पनि मतदानपछि खुसी देखिइन्। 

‘गाउँमै अब सरकारी काम हुने भयो,’ उनले भनिन्, ‘गाउँकै मानिसलाई चुन्न पाउँदा हर्षित छु।’ वृद्धा गंगादेवी र गुलाव देखी मात्र होइन, सोमबार स्थानीय तहको जनप्रतिनिधि छान्न वृद्धवृद्धाहरू बिहानैदेखि लाइन बसेका थिए। अघिल्ला दुई दिनको चर्को घामका कारण गर्मीले उकुसमुकुस भइरहेका बेला आइतबार राति भएको सामान्य वर्षा र सोमबार बिहानैदेखि घाम नलाग्नु तथा चिसो हावा चलेका कारण वृद्धवृद्धालाई लाइन बस्न सजिलो भएको थियो। 

मतदान केन्द्रमा वृद्धवृद्धा, अशक्त र बिरामीका लागि छुट्टै लाइनको व्यवस्था गरिएकाले सहजतापूर्वक वृद्धवृद्धाले मतदान गरेका थिए। तिलाठी कोइलाडी ८ कै अर्का वृद्ध रामदत्त मण्डलले भने, ‘स्थानीय तहको निर्वाचनमा मतदान गर्छु जस्तो लागेको थिएन तर जीवनको उत्तरार्धमा आफ्नो गाउँको जनप्रतिनिधि छान्न पाएकोमा खुसी छु।’ उनले अब जनप्रतिनिधिले ज्येष्ठ नागरिकको भत्ता र सुविधामा पनि ध्यान दिनेमा आशावादी रहेको बताए। 

पूर्वजनप्रतिनिधि समेत रहेका महदेवा गाउँपालिकाका वृद्ध देवकिसुन यादवले भने, ‘एक दुई वर्ष हो र रु २० वर्षपछि स्थानीय जनप्रतिनिधि छान्ने अवसर पाउनु भाग्यको कुरो हो।’ जिल्लाका कतिपय मतदान केन्द्रमा शारीरिक रूपमा अशक्त र बिरामी भएका वृद्धवृद्धासमेत मतदान गर्न केन्द्रमा पुगेका थिए। आफन्तले बोकेरै पनि वृद्धवृद्धालाई मतदान केन्द्रसम्म पुर्‍याएको आजको कान्तिपुर दैनिकमा सचार छ । 

आँखा नदेख्ने, मत संकेत गर्न नसक्ने वृद्धवृद्धाको हकमा आयोगका कर्मचारी वा उनका आफन्तले नै मत संकेत गरेका थिए। आफूले मत हाल्ने छापको विषयमा वृद्धवृद्धाले भनेपछि कर्मचारी वा आफन्तले नै मतपत्रमा स्वस्तिक लगाइदिएका थिए। जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेशकुमार ठाकुरले सोमबार जिल्लाका सबै मतदान केन्द्रमा वृद्धवृद्धाको उपस्थिति उत्साहजनक देखिएको बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved