निर्वाचनमा सत्ताको दुरुपयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 05:05:46 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा सत्ताधारी दलले सत्ताको व्यापक दुरुपयोग गरेका कारण आफ्नो पार्टीका पक्षमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ । प्रदेश २ को मतपरिणाम सार्वजनिक भइरहेका बेला बिहीबार बसेको स्थायी समिति बैठकले चरम दुरुपयोग र भ्रामक प्रचारका बीचमा पनि पार्टीले हासिल गरिरहेको जित सन्तोषजनक भएको ठहर गरेको छ । 

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको स्थायी समिति बैठकमा प्रदेश २ को चुनावको समेत समीक्षा भएको थियो । ‘निर्वाचन घोषणापछि स्थानीय तहको संख्या फेरबदल गर्ने, आचारसंहिता उल्लंघन गर्ने, सत्ताको दुरुपयोग गरेर मत प्रभावित गर्ने र एमालेविरुद्ध अनर्गल प्रचार गर्ने काम भयो,’ बैठकले पारित गरेको प्रस्ताव उल्लेख गर्दै एमाले उपाध्यक्ष भीम रावलले कान्तिपुरसँग भने, ‘यस्तो अवस्थामा पनि जनताले हामीलाई विश्वास गरेका छन् र समग्रमा हामी पहिलो पार्टीका रूपमा स्थापित भएका छौं ।’ 

एमालेलाई जसरी पनि पछि पार्ने रणनीतिअनुसार चुनावका सामान्य नियमसमेत बेवास्ता गर्दै सत्ताधारी दलहरू अघि बढेको बैठकको निष्कर्ष छ । बैठकले तीनवटा प्रस्ताव पनि पारित गरेको छ । सत्ताको दुरुपयोगका बीचमा पनि मत दिएकामा एमालेले जनतालाई धन्यवाद दिएको छ । त्यस्तै, विभिन्न स्थानमा मतगणनामा समेत अनियमितता गरिएको पाइएको भन्दै त्यसबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । वीरगन्ज महानगरपालिकाको एउटा वडामा एक मतले हारेका उम्मेदवारको पुनस् गणना गर्दा ११ मतले जितेको प्रसंग उल्लेख गर्दै एमालेले यसबाट पनि मतगणनामा भएको त्रुटि र गडबडी पुष्टि हुने जनाएको छ । 

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि यस्तै हर्कत हुन सक्ने भन्दै गम्भीर हुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको आजको कान्तिपुर दैनिकमा खबर छ । निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउनुपर्ने र तोकिएकै समयमा चुनाव हुनुपर्ने एमालेको निष्कर्ष छ । ‘आचारसंहिता उल्लंघनलाई कडाइका साथ रोक्न, सत्ताको दुरुपयोग बन्द गर्न र भय एवं आशंकाको वातावरण सिर्जना नगर्न बैठक सरकार र सम्बद्ध निकायसँग माग गर्दछ’ एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा छ । 

शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटीमा अध्यक्षले प्रतिवेदन पेस गर्ने र त्यसमाथि समूह बनाएर छलफल हुनेछ । अध्यक्षको प्रतिवेदनमा समग्र राजनीति, स्थानीय तह चुनावको समीक्षा, आउँदो चुनावको योजनालगायत कुरा आउने उपाध्यक्ष रावलले जानकारी दिए ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved