दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् । दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झन्डै आठ दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्यविद् हस्तबहादुर राईका अनुसार मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्न हुँदैन । उनका अनुसार बोसो भएको मासु पनि सकेसम्म खरिद गरी उपभोग गर्नुहुन्न । नेपाली बजारमा उत्पादन हुने मासुमध्ये करिब ८० प्रतिशत मासु अस्वस्थ्यकर छन् । मासु उत्पादन हुने मूल स्रोत बधशाला नै अव्यावहारिक भएकाले शुद्ध मासुको अपेक्षा गर्न नसकिने उनको ठहर छ । ‘मासु ओसार पसार र भण्डारण वैज्ञानिक छैन’, विज्ञ राईले भने, ‘तथापि उपभोक्ताले आफंै सचेत भएर सकेसम्म स्वच्छ मासु उपभोग गर्न सक्छन् ।
सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन ।’बंगुरको हकमा भने बोसो भएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज ९रेफ्रिजरेटर० मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ । ‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरि आवश्कताअनुसार काटेर पकाउने,’ राईले भने, ‘बचेको मासु फेरि फ्रिजमा राख्ने र फेरि निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खान अयोग्य मानिन्छ ।’
(हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्न सुझाव
(छाला र भएको मासु प्रयोग गर्नु नहुने
(फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने
(पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया घातक
(पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा
(मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाँदा राम्रो
(गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्नुपर्ने
यस्तै, पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निकै घातक हुने उनको ठहर छ । यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन्छ । मासुमा अम्लियपनाको मात्रा ५।७ पिएचभन्दा कम र ६।३ पिएच भन्दा बढी हुनुहुँदैन । यस्तो भयो भने मासु कालो र पिक्काजस्तो देखिन्छ । यस्तो मासु सेवन गर्नुहुँदैन ।
विभागका पूर्वमहानिर्देशक जीवनप्रभा लामाका अनुसार डिपफ्रिजमा राखिएको मासु पनि तापक्रम नमिलेर मासुभित्र पानी जम्ने सम्भावना हुन्छ । यस्तो मासु मानव स्वास्थ्यका लागि खानयोग्य मानिँदैन । प्रतिदिन १०० ग्रामसम्म मासु सेवन गर्नुपर्छ । कतिपय मासुमा पहिलेदेखि किटाणु यथावत हुन्छ । उक्त किटाणुले मासुमा विष छाडेको अवस्थामा त्यस्ता मासु पनि खान हुँदैन । मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खाँदा उत्तम मानिन्छ । प्रतिग्राम मासुमा एक लाखभन्दा तलको संख्यामा जीवाणु भेटिए त्यस्ता मासु पनि खानयोग्य मानिन्छ ।
यस्तै, प्रतिग्राम मासुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलो ब्याक्टर, बरुसोलोसिसलगायत जीवाणु भेटिए खान अयोग्य मानिएको छ । बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुर्याउनेलगायत समस्या देखापर्ने लामाले जानकारी दिइन् ।
खानपिनमा सामान्य ध्यान नदिँदा दसैंका बेला उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको खाद्यविद्को भनाइ छ । ‘धेरै दिन पुग्ने गरी एकै दिन मासु पकाएर खाँदा विभिन्न प्रकारका फुड प्वाइजन हुने खतरा हुन्छ’, लामाले भनिन् ।
उनका अनुसार रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रवल सम्भावना हुन्छ । मधुमेह र क्यान्सरजन्य रोगबाट प्रभावित भएकाले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न नहुने लामाको सुझाव छ । ‘त्यही भएर सकेसम्म ताजा मासु मात्रै खानुपर्छ । खसीबोकाको मासुसँगै कुखुराको मासु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा पचाउन पनि सजिलो हुन्छ । यसरी सन्तुलित खाना खाँदा शरीरमा बोसो जम्मा नहुने अनि फाइदा पनि गर्छ ।’ उनका अनुसार एक पटकमा अधिकतम तीन÷चार टुक्रा खाँदा फाइदा गर्छ ।
पशुपक्षी विकास मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरमा गरेको एक सर्वेक्षणअनुसार मासु पसलबाट उत्पादित मासु स्वास्थ्यका लागि स्वस्थ्यकर नभएको अवस्था फेला परेका छन् । अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित मिट सेन्टर सञ्चालनमा आए पनि मासुको गुणस्तरमा अझै कमी रहेको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलको ठहर छ । अध्ययन प्रतिवेदनअनुसार एक सय दुई पसलबाट बेचिने मासुको जीवाणुसम्बन्धी ९माइक्रोबियल लोड० र एन्टिबायोटिक औषधिसम्बन्धी दुईखाले परीक्षण गरिएको आजको अन्नपूर्णपोष्टमा खबर छ ।