उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा तानियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2017 | 05:38:49 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मंगलबारदेखि लागू हुने गरी मन्त्रालयमा तानेका छन् ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम भने मंगलबार आकस्मिक बिदा लिएर बसेका छन् । उनी बिदा बसेकै दिन मंगलबार कार्यालय खुल्नासाथ मन्त्री देवले प्राधिकरणमा पत्र पठाई गौतमलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका हुन् ।

महानिर्देशक गौतमले सोमबार पर्यटनमन्त्री देवलाई चौबीसघन्टे स्पष्टीकरणपत्रको चार पृष्ठ लामो जबाफ बुझाएका थिए । त्यसलगत्तै प्राधिकरणमा आफूपछिका सबैभन्दा वरिष्ठ अधिकारी उपमहानिर्देशक राजन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर गौतम मंगलबार बिदा बसेका थिए ।

‘मन्त्री देवले महानिर्देशक गौतमलाई प्राधिकरणबाट जसरी पनि हटाएरै छाड्ने उद्देश्य लिएर दुईदुई पटक स्पष्टीकरण सोधे र जबाफ पनि पाए,’ पर्यटन मन्त्रालय उच्च स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘तर, मन्त्रीले असोज ९ गते सोमबार एउटा हावादारी कार्यदल गठन गरी त्यसैको संयोजकको जिम्मेवारी गौतमलाई दिएका छन् । यस्तो निर्णय गर्नुको पछाडि गौतमलाई जसरी पनि अप्ठेरोमा पारेर राजीनामा दिन लगाउने मनसाय मन्त्रीको देखिन्छ ।’

स्रोतका अनुसार मन्त्री देवले मन्त्रालयमा महानिर्देशक गौतमको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन् । जसको अन्य दुई सदस्यमा मन्त्रालयका उपसचिवद्वय प्रमोद नेपाल र निराजन घिमिरे छन् । गौतमलाई नियमित मन्त्रालयमा हाजिर भई उक्त कार्यदलमा काम गर्ने र नियमित प्रतिवेदन तयार गरी मन्त्रीलाई पेस गर्न भनिएको छ ।

हवाई नीति २०६३ लाई पुनरावलोकन गरी नेपालको नागरिक उड्डयन क्षेत्रलाई समग्र सुधार गर्न अवलम्बन गर्नुपर्ने नीति र गर्नुपर्ने कार्यबारे सुझाव दिने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड ९एलएमडब्लु० ले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन अध्ययन गरी त्यसबापत भुक्तानी गर्नुपर्ने रकमबारे रायसुझाव दिने, सबै राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित राय सुझाव दिने र नेपालको नागरिक उड्डयनलाई थप सुरक्षिति बनाउन स्थायी रूपमा हवाई सुरक्षा जाँच ब्युरो स्थापना गर्ने सन्दर्भमा रायसुझाव दिने चारवटा कार्यगत सर्त मत्रालयले उक्त कार्यदललाई दिएको छ ।

‘मन्त्रिपरिषद्बाट नियुक्त भएका महानिर्देशकलाई पर्यटनमन्त्री देवले ठाडो आदेशमा मन्त्रालयमा हाजिर गराउनु कानुनविपरीत हो,’ एक पूर्वपर्यटन सचिवले नागरिकसँग भने, ‘यसरी हावादारी कार्यदल बनाएर महानिर्देशकलाई मन्त्रालयमा तानिएको यो पहिलो घटना हो । यो भनेको मन्त्री देवको स्वेच्छाचारी निर्णय हो ।’

महानिर्देशक गौतमलाई पदमुक्त गराउने समग्र प्रकरणमा पर्यटन सचिव महेश्वर न्यौपानेले मन्त्री देवको प्रत्येक निर्णयमा समर्थन जनाउँदै आएको भन्दै ती सचिवले आपत्ति प्रकट गरे । ‘सचिव न्यौपाने मौन बस्दा त्यसबाट मुलुकलाई ठूलो नोक्सानि हुने निश्चित छ,’ उनले भने ।

गौतमलाई गत भदौ २७ गते सोधिएको ११ बुँदे स्पष्टीकरणको जबाफ चित्त नबुझ्दो भएको तर्क गर्दै मन्त्री देवले असोज ५ गते पुनः चौबीसघन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । त्यसको जबाफ गौतमले सोमबार दिएका थिए । आजको नागरिक दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved