
ठूलो चाड दसैँमा तरकारीको मूल्य अकासिएको छ । दसैँ सुरु भएदेखि नै बढेको तरकारीको मूल्य अहिले पनि घट्न सकेको छैन ।
तरकारीको मूल्य वृद्धि हुनुको कारण अघिल्लो महिना तराईमा आएको बाढी भएको बताइन्छ । पोखरामा ८० प्रतिशत तरकारी तराइबाटै ल्याउनुपर्छ भने २० प्रतिशतमात्रै स्थानीय उत्पादन रहेको छ ।
पोखरामा एक दशकदेखि तरकारी व्यवसाय गर्दै आउनुभएका व्यवसायी धादिङका रामकृष्ण शर्मा सबै तरकारी बाहिरबाट आउनुपर्ने र तराईको बाढीका कारण मूल्य वृद्धि भएको बताउनुहुन्छ । पोखरामा विशेष गरी धादिङ, मकवानपुर, नेपालगञ्ज लगायतका ठाउँबाट तरकारी आउने गर्छ भने स्थानीय रूपमा पोखराको हेम्जा, पुरुन्चौर, पोखराको मालेपाटन, भारतपोखरी र निर्मल पोखरीमा तरकारी उत्पादन हुने गरेको छ ।
व्यवसायीले विभिन्न बहाना बनाएर मूल्य वृद्धि गर्ने गरेको उपभोक्ताको गुनासो छ । कृषिमा अनुगमन नहुदाँ व्यवसायीले मनपरी गर्ने गरेको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाको भनाइ छ । कृषिमा अनुगमन गर्ने निकाय कृषि विकास कार्यालयको हो तर अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् ।
कृषि विकास कार्यालयका कार्यालय प्रमुख लोकेन्द्र बोहोराको संयोजकत्वमा उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र र वैदाम प्रहरीको प्रतिनिधित्व रहेको अनुगमन समिति रहेको छ । दसैँअघि केही समय अनुगमन गरेको भए पनि प्रभावकारी हुनसकेन । बजारमा माग अनुसार आपूर्ति नहुदाँ मूल्य वृद्धि गर्नुपरेको व्यवसायीले बताउने गरेका छन् ।
पोखरा न्युरोडकी अनिता अधिकारीले तरकारीको मूल्य सोध्दै जिउरो टोक्नुभयो । नेपालीका ठूला चार्डपर्वसँगै बजारमा तरकारीको मूल्य आकासिएको छ । एक किलो गोलभेँडाको मूल्य ८० रुपैयाँ भनेपछि अधिकारीले जिउरो टोक्नुभयो । तरकारी किनेर खानै नसक्ने भयो, मूल्य पनि कति बढेको हो उहाँले गुनासो गर्नुभयो । गोरखापत्रमा खबर छ ।