
बारम्बार बिजुली जाने सिंहदरबारमा अब भने कहिल्यै नजाने भएको छ । सरकारले सिंहदरबारभित्र बिजुली आपूर्ति नियमित बनाउन भवनका छतछतमा सोलार प्यानल जडान गर्दैछ।
आगामी तीन महिनाभित्रै सिंहदबारमा १ मेगावाट क्षमताको सोलार प्यानल जडान भइसक्ने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बिहीबार नागरिकलाई बताए ।
‘सिंहदरबारभित्रका १७–१८ वटा भवनको छतमा सोलार प्यानल जडान गर्न लागिएको छ,’ उनले भने, ‘सिंहदरबारभित्रका भवनको छतले नपुगेर बाहिर रहेका राष्ट्रिय वाणिज्य बैंक, बिमा संथानको भवनको छतमा पनि सोलार प्यानल राखिने छ।’
चिनियाँ सरकारको अनुदानमा जडान गर्न लागिएको सोलार प्यानलबाट पुस १६ गतेभित्र विद्युत् उत्पादन हुने पनि घिमिरेले जानकारी दिए । ‘सोलार प्यानलबाट उत्पादन हुने एक मेगावाटको बिजुलीले सिंहदरबारलाई नपुगे पनि बिजुली गएको बेला ब्याकअपको रुपमा काम गर्नेछ,’ उनले भने, ‘सोलार प्यानल जडानपछि सिंहदरबारमा बारम्बार बिजुली जाँदा हुने सास्तीको अन्त्य हुनेछ।’