भारतबाट आगामी हिउँदमा ५५ मेगावाट विद्युत् आगामी हिउँदमा आयात नहुने भएको छ । मंसिरसम्ममा २२० केभीको ढल्केबर सबस्टेशन निर्माण सम्पन्न हुने बेलामा ठेकेदार कम्पनीले ठेक्का तोडेपछि हिउँदमा भारतबाट थप आयात नहुने भएको हो ।
भारत र नेपालबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत १ सय ६० मेगावाट आयात गर्ने सम्झौता भए पनि ढल्केबर सवस्टेसन निर्माण नभएको कारणले दुई अस्थायी ट्रान्सफर्मर राखेर विद्युत् आयात हुँदै आएको छ ।
गत वर्षको हिउँदमा १ सय ४५ मेगावाटसम्म आयात गरिएको थियो । “ढल्केबर सबस्टेशन नबन्दा भारतबाट ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने भनिएको ५५ मेगावाट विद्युत् आयात नहुने भएको छ,” प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “लक्ष्यअनुसार आयात कम भए पनि आगामी हिउँदमा लोडसेडिङ नगर्ने गरी प्राधिकरणले तयारी अघि बढाएको छ ।”
विद्युत् आयातका लागि महत्वपूर्ण मानिएको ढल्केबरसहित तीन सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको ठेक्का तोडेपछि अहिले निर्माणमा अन्योल छ । प्राधिकरणले ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग २ सय २० केभीका ढल्केबर, हेटौंडा र इनरुवा सवस्टेसन निर्माणको लागि भएको ठेक्का तोडेको छ ।कारोबारमा खबर छ ।