दशैंपछिको दोश्रो महत्वपूर्ण पर्व यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन मंगलवार धनतेरस पर्व सम्पन्न भएको छ । यस अवसरमा सुन, चाँदी, तामा, पित्तललगायतका धातु खरिद गर्ने परम्परा छ । जनकपुरमा ५ करोड अधिक मूल्य बरावरको सुन र चाँदीको बिक्री भएको सम्बद्ध बिक्रेताहरुले जनाएका छन् ।
लक्ष्मीपूजाको पूर्वसन्ध्यामा मनाइने यस पर्वको अवसरमा धातु तथा धातु निर्मित भाडा– वर्तन, गर–गहना खरिद गर्दा शुभ लाभ हुने मान्यता छ ।
न्यु महालक्ष्मी ज्वेलर्सका संचालक पवन साहका अनुसार धनतेरसको अवसरमा जनकपुर बाजारमा साढे तीनदेखि चार किलोसम्म सुन तथा १ क्वीन्टलसम्म चाँदी बिक्री भएको बताउँछन तर बलराम ज्वेलर्सका संचालक बलरामप्रसाद साह यस अवसरमा ५ किलोसम्म सुनको व्यावसाय हुने गरेको बताउँछन् ।
बलराम साहका अनुसार धनतेरसका दिन सुनचाँदी खरिद गर्दा शुभ हुने मान्यताका कारण यस अघि अर्डर दिएका क्रेताहरु पनि यस दिन गर गहनाको डिलेभरी लिने गरेका छन् । जनकपुरका एक सय बढी सुनचाँदीको पसलमा मंगलवार बिहानैदेखि क्रेताहरुको भीड लागेको थियो ।
सुनचाँदी खरिद नगर्नेहरु पित्तल, तामा वा स्टिलका भाडा वर्तनहरु खरिद गर्छन् । यसैगरी, धनतेरसको दिन खरिद गरिएको लक्ष्मी, गणेश आदिको मूर्ति लिएर लक्ष्मीपूजा गर्ने परम्पराका कारण मंगलवार भाडा वर्तन तथा मूर्ति पसलहरुमा पनि क्रेताको उल्लेख्य भीड थियो । यस अवसरमा जानकी मन्दिर बाहिर माटोको कलात्मक मूर्ति बजार नै लागेको कानितपुरमा खबर छ ।