अस्थायी शिक्षकलाई सीधै स्थायी बनाउन सजिला प्रश्न !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 03, 2017 | 06:19:54 AM मा प्रकाशित

laxmi  sunrise bank

भनसुन र तोक आदेशमा सामुदायिक विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरूलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा सजिलो प्रश्न सोधेर सहजै स्थायी बनाइने भएको छ । आयोगले अस्थायी शिक्षकहरूलाई सोध्ने प्रश्नको ग्रिड तथा पाठ्यक्रम नै सहज बनाएको छ । अस्थायी शिक्षकलाई उसले पढाउने विषयका आधारमा प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने खुला प्रतिस्पर्धाबाट शिक्षक हुन चाहनेलाई विषयगत ज्ञानबाहेक पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिबाट पनि प्रश्न सोध्ने पाठ्यक्रम बनाइएको छ ।

अस्थायी शिक्षकलाई सहजै स्थायी गराउन ४० नम्बरको वस्तुगत र ६० नम्बरको विषयगत ज्ञानको प्रश्न सोधिनेछ । तर, खुला प्रतिस्पर्धीलाई २० नम्बरको मात्रै वस्तुगत प्रश्न सोधिनेछ । बाँकी ८० नम्बरमा सम्बन्धित विषयवस्तुसम्बन्धी ज्ञानको ४० नम्बर र पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिसम्बन्धी ४० नम्बरको छ । अस्थायीलाई विषयगत ज्ञानको प्रश्न ६० नम्बरको सोध्न लागिएको छ भने खुलालाई ४० नम्बरको मात्रै छ । अस्थायीलाई पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिसम्बन्धी प्रश्न वस्तुगतमा समेटिएको छ । खुला प्रतिस्पर्धीले भने यससम्बन्धी लामा र छोटा उत्तर लेख्नुपर्ने हुन्छ ।

त्यस्तै अस्थायीलाई विषयगतको पनि लामो प्रश्न मात्रै सोध्न लागिएको छ भने खुलाले लामो र छोटो दुवै प्रश्नको उत्तर लेख्नुपर्नेछ । अस्थायीलाई सम्बन्धित ज्ञानमा आधारित रहेको १०–१० नम्बरका ६ प्रश्न (६० नम्बरको) मात्रै सोध्ने ग्रिड बनाइएको छ । छोटो प्रश्न छैन । खुलालाई विषयगत प्रश्न १० नम्बरको २ वटा र पाँच नम्बरको छोटो प्रश्न १२ वटा सोध्ने ग्रिड बनाइएको छ । स्थायी शिक्षक हुन ४० नम्बर ल्याए पास हुने व्यवस्था छ । शिक्षा ऐनअनुसार ०४९ अघिदेखि ०६१ सम्मका अस्थायी शिक्षकले स्थायी हुन ४० नम्बर मात्रै ल्याए हुन्छ । वस्तुगत प्रश्न ४० नम्बरको भएपछि पास गर्न समस्या पर्दैन ।

शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले अस्थायी र खुला प्रतिस्पर्धीलाई फरक पाठ्यक्रम बनाउने नियत नै गलत भएको बताए । ‘छुट्टाछुट्टै प्रश्न किन चाहियो ? अस्थायी र खुला प्रतिस्पर्धीलाई फरक पाठ्यक्रम, ग्रिड बनाउनु भनेको विभेद हो,’ उनले भने, ‘अस्थायीलाई लिखितमै संरक्षण गर्ने होइन । अन्तर्वार्तामा उसको अनुभवका आधारमा नम्बर दिने व्यवस्था गर्नु उचित हुन्छ ।’ शिक्षकलाई ४० नम्बरको पास हुने व्यवस्था गर्नु नै गलत भएको कोइरालाको भनाइ छ । ‘४० नम्बरमा पास हुनु भनेको ६० नम्बर जान्दैन भनेको हो । धेरै नजान्नेलाई सिस्टममा भित्र्याउन हुँदैन,’ उनले भने ।

अस्थायी शिक्षक र शिक्षा मन्त्रालयबीच गत असार ९ मा भएको सम्झौताको तेस्रो बुँदामा शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षा सजिलो बनाउने विषय उल्लेख थियो । आयोगले साविकको प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका अस्थायी शिक्षकलाई सहजै पास गर्न सकिने गरी पाठ्यक्रम बनाएको हो । खुला प्रतिस्पर्धा गर्न चाहनेले भने अस्थायीले प्रतिस्पर्धा गरेकै तहमा परीक्षा दिनुपर्दा गाह्रो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ । वस्तुगत प्रश्न मात्रै नभई सम्बन्धित विषयवस्तुको ज्ञानको पाठ्यक्रमसमेत अस्थायी शिक्षकलाई सजिलो छ भने खुलालाई गाह्रो छ ।

आयोगले सार्वजनिक गरेको पाठ्यक्रम विश्लेषण गर्दा पनि अस्थायीलाई सीधै स्थायी बनाउन लागेको पुष्टि हुन्छ । निम्नमाध्यमिक तहका अस्थायीलाई तयार गरिएको पाठ्यक्रममा हामी र हाम्रो समाज, हाम्रो सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो आर्थिक क्रियाकलाप, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग, जनसंख्या र यसको व्यवस्थापनका बारेमा मात्रै छ । तर, खुला प्रतिस्पर्धीलाई सम्बन्धित विषयको विषयवस्तुसम्बन्धी ज्ञानमा  सामाजिक अध्ययनको स्वरूप, सामाजिक अध्ययनअन्तर्गत भूगोल विषयका प्रमुख विषयवस्तु, सामाजिक अध्ययनअन्तर्गत इतिहास विषयका प्रमुख विषयवस्तु, अर्थशास्त्र, समाजशास्त्र/मानवशास्त्र र जनसंख्या विषयका प्रमुख विषयवस्तु, राजनीतिशास्त्र, दर्शनशास्त्र र नीतिशास्त्रका प्रमुख विषयवस्तु, सामाजिक अध्ययनका प्रमुख सीप, सामाजिक अध्ययन विषयका पूरक तत्त्व पाठ्यक्रममा राखिएका छन् ।

त्यस्तै माध्यमिक तहको अंग्रेजीमा पनि यस्तै छ । माध्यमिक तहको अंग्रेजीको पाठ्यक्रमको पहिलो पाठबाहेक अरू केही मिल्दैन । खुलालाई इङलिस ल्याङग्वेज टिचर्स प्रोफेसनल डेभलपमेन्ट, इङलिस ल्याङग्वेज क्लासरुम म्यानेजमेन्ट, इङलिस ल्याङवेज टिचिङ एड्स एन्ड रिसोर्स, इन्स्ट्रक्सन प्लानिङ, लिट्रेचर फर ल्याङग्वेज डेभलपमेन्ट, इङलिस ल्याङग्वेज टिचिङ इन नेपाल, ल्याङग्वेज एन्ड लिङगुस्टिक्स, ल्याङग्वेज फङसन्स टाइप एन्ड युजसहित १२ वटा पाठ राखिएका छन् । तर, आन्तरिकमा पूरै परिवर्तन गरेर ल्याङग्वेज एन्ड लिङगुस्टिक्स, कम्युनिकेसन इन इङलिस, रिडिङ एन्ड राइटिङ इन इङलिस, ग्रामर, इङलिस ल्याङग्वेज टेस्टिङ र इस्युज एन्ड च्यालेन्जेज अफ इङलिस ल्याङग्वेज टिचिङ इन नेपाल पाठसहित सात वटा युनिट राखिएको कान्तिपुरमा खबर  छ ।

खुलालाई तयार गरिएको पाठ्यक्रम विस्तृतमा छ । कक्षा व्यवस्थापनदेखि पढाउने तरिकासम्म समावेश गरिएको छ । अंग्रेजी विषय शिक्षण विधि, सिद्धान्त, नेपालको सन्दर्भमा अग्रेजी भाषा, अंग्रेजी कसरी पढाउने भन्ने शैक्षणिक योजनासमेत समावेश छ । तर, अस्थायीको पाठ्यक्रम यस्तो छैन । त्यस्तै सामाजिकको माध्यमिक तहको पाठ्यक्रम ९ र १० मा पढाइ हुने पाठमा आधारित छ । त्यसमा हामी र हाम्रो समाज, विकास र विकासको पूर्वाधार, हाम्रो सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो आर्थिक क्रियाकलाप, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग, समाजिक अध्ययनअन्तर्गतका प्रमुख सीप गरी १० पाठ राखिएका छन् । खुलालाई योभन्दा फरक छ । सम्बन्धित विषयको विषयवस्तुसम्बन्धी ज्ञानको ४० अंकमा सामाजिक अध्ययन, सामाजिक अध्ययनका प्रमुख विषयवस्तुहरू, सामाजिक अध्ययनअन्तर्गतका प्रमुख सीप, सामाजिक अध्ययनमा प्रयोग हुने शैक्षिक सामग्री, सामाजिक अध्ययनमा सिकाइ योजना र सहजीकरण प्रक्रिया रहेका छन् । जुन कक्षा ९ र १० को पाठभन्दा फरक छ ।

शिक्षाविद् प्रा. मनप्रसाद वाग्लेले एउटै पदमा प्रतिस्पर्धा गर्ने शिक्षकलाई दुई खालको पाठ्यक्रम राख्नुु गलत भएको बताए । ‘लिखितबाट व्यक्तिको गुणस्तर परीक्षण गर्ने हो,’ उनले भने, ‘लिखितमा सम्झौता गरेपछि गुणस्तर कहाँ खोज्ने ? अनुभवका आधारलाई आरक्षण दिन सकियो । लिखितमा सम्झौता गर्नु हँुदैन । वस्तुगतमा कसैलाई २० कसैलाई ४० बनाउनु बदमासी हो ।’

शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले अस्थायी र खुलाको पाठ्यक्रममा एकरूपता हुने बताए । ‘अस्थायीको विज्ञापन भइसकेकाले पाठ्यक्रम परिवर्तन भए पनि खुलाको विज्ञापन भइनसकेकाले परिवर्तन बाँकी छ,’ उनले भने, ‘कसैलाई विभेद गरिएको होइन । अस्थायीलाई जुन पाठ्यक्रममा परीक्षा लिने हो, खुलालाई पनि त्यही हुनेछ ।’ 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved