मन्त्रीको उपस्थितिमा विद्यालयमा सभा, कक्षाकोठा बने भान्सा घर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 07:09:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत विष्णुपुर गाउँपालिकाको खुरहुरिया चोक, जहाँ अवस्थित छ जनता माध्यमिक विद्यालय । यो विद्यालयमा शुक्रबार बिहान १० बजे विद्यार्थीको कक्षा सुरु हुनै लाग्दा अनौठो दृश्य देखियो । विद्यालय लाग्दा झन्डा लगाएको नदेखेका विद्यार्थीहरु आश्चर्य माने ।

विद्यालयको मुलगेटमा नेपाली कांग्रेसको चारतारे अनि रुख चिन्ह छापिएको झन्डा टांगियो । प्रधानाध्यापक सूर्यनारायण यादवको सहमतिमा कांग्रेस कार्यकर्ताले झन्डा विद्यालयको मुलगेटमा टाग्नुका पछाडिको कारण थियो, सोही विद्यालय परिसरमै १ बजेदेखि कांग्रेसको पार्टी प्रवेश कार्यक्रम । १२ बजेपछि कार्यकर्ताको आगमन सुरु भयो। शुक्रबार भएका कारण चार घण्टीको पढाईपछि विद्यालयमा छुट्टी हुनेवित्तिकै घन्कियो स्पीकर अनि बज्न थाल्यो हिन्दी फिल्मी गीतहरु । ‘छतरी न खोल बरसातमे भिग जाने दे भिगी रातमे’भन्ने गीत चलिरहँदा कार्यकर्ता र नवप्रवेशीको संख्या बाक्लिँदै गयो ।

विद्यालय परिसरमा चारैतिर कांग्रेस र रुख चिन्ह भएको झन्डा लगाइयो । एउटा कक्षा कोठाभित्र ठूलो कराहीमा रेहु माछा फ्राई हुँदै थियो भने अर्कोमा रेहुको झोल तयारी हुँदै । उक्त कक्षा कोठाको स्थिति कुनै होटेलको भान्साभन्दा कम थिएन । अर्को ग्यास चुलोमा चियाको पानी तात्दै थियो । केहीबेरमा कांग्रेस सप्तरीका सभापति एवं सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेशकुमार यादव आए अनि सुरु भयो कार्यक्रम । कक्षाकोठामा माछा पाक्दै थियो भने विद्यालय परिसरमा कांग्रेसको सभा । अनि विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादव पनि थिए अतिथिको लहरमा। प्रअ यादवले कांग्रेसको पक्षमा भोट माग्दै भाषण गर्न पनि भ्याए ।

दुईसाता अघि मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादव गृहजिल्ला सप्तरी आउँदा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भनेका थिए,‘सरकारी विद्यालयका शिक्षक राजनीतिमा प्रत्यक्ष सहभागी भएको हेर्नेवित्तिकै पक्राउ गर्नुस्, कारबाही चलाउनुस् । ’तर प्रअ यादव ढुक्कसँग विद्यालय समेत प्रयोग गर्न दिएर आफू अतिथि र वक्ता बने । कार्यक्रम सुरु भएको आधा घण्टामा भर्खरै कांग्रेससित पार्टी एकता गरी कांग्रेस नेता बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव आइपुगे ।

बा २ झ १९४७ नम्बरको सरकारी स्कारपियोमा आएका मन्त्री देव प्रमुख अतिथिको आसन ग्रहण गर्ने वित्तिकै सुरु भयो पार्टी प्रवेश कार्यक्रम । विद्यालयको हाताभित्र उपस्थितलाई सुरु भयो चिया वितरण।  कोही चिया पाक्दै गरेको कक्षाकोठासम्मै पुगे भने अतिथि र अन्य कार्यकर्तालाई ठाउँमै चिया दिइयो । कार्यक्रम सकिएपछि साँझ विद्यालय परिसरमै माछा चिउराको भोज भयो । खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका भएको कार्यक्रमभन्दा अगाडि मन्त्री देवसहितको टोली पथ्थरगाडास्थित एउटा विद्यालयमै भएको चुनावी सभामा सहभागी भएको थियो । निर्वाचन आचारसंहिताविपरीत शुक्रबार सप्तरी जिल्लाका दुईवटा विद्यालयमा देखिएको दृश्य एउटै थियो । विद्यालयकै परिसर सभा स्थल बनेको थियो भने कक्षाकोठा भान्सा घर । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि दलले विद्यालयमा सभा गर्न नपाउने बताए । उनले भने,‘सबै दलले निर्वाचन आचारसंहिता पालना गर्छु भनेर प्रतिबद्धता जनाएका छन् त्यसको विपरीत जान मिल्दैन ।’ उनले शुक्रबार आचारसंहिताविपरीत कार्यक्रम भए नभएको विषयमा जानकारी लिएपछि मात्र बताउन मिल्ने प्रतिक्रिया दिए। विद्यलायका व्यवस्थापन समिति अध्यक्ष जयनारायण यादवले निर्वाचन आचारसंहिता र विद्यालय शान्ति क्षेत्रको विपरीत गएर माछाचिउराको भोज र चुनावीसभा विद्यालय परिसरमा गर्नु जायज नभएको बताए ।

उनले आफूलाई कार्यक्रमबारे कुनै जानकारी नभएको तथा यस्तो कार्यको अनुमति दिनेमाथि कारबाही हुनुपर्ने माग गरे। प्रअ सुर्यनारायण यादवले आफू कार्यक्रममा अतिथि र वक्ता भएको स्वीकारे  । उनले आफ्नो अनुमतिवेगर नै विद्यालयमा मञ्च बनाइसकेकाले रोक्न नसकिएको र विद्यालयमा हुँदा आशनग्रहण र बोल्नका लागि समय दिएकाले बोलेको बताए । जिल्लाको २ वटा विद्यालयमा निर्वाचन आचारसंहिताविपरीतका कार्यक्रममा प्रमुख अतिथि भएका पर्यटनमन्त्री जीतेन्द्रनारायण देवले कार्यक्रमहरु विद्यालयमा भएकोबारे आफू अनभिज्ञ रहेको बताए । उनले विद्यालय पसिरमा किन चुनावी सभा गरियो भन्ने विषयको जवाफ कांग्रेसको जिल्ला नेतृवले दिने बताए।

पदीय दुरुपयोग गरी भोट माग्दै रेडक्रस सभापति नेपाली कांग्रेसले सप्तरीको ३ नम्बर क्षेत्रका २ वटा विद्यालयमा गरेको चुनावी सभामा अतिथिको रुपमा थिए नेपाल रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगत ।

पथ्थरगाडास्थित सखुवामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति भगतले अहिले आचारसंहिता लागू भएकाले बाढीपीडितलाई राहत वितरणमा समस्या आएको सुनाउँदै कांग्रेसको पक्षमा मत दिए राहत वितरण राम्ररी हुने आसयको भाषण गरे । सभापति भगत स्थानीय तह निर्वाचनको मुखमा राजपा वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको हातबाट अबिर लगाउँदै राजपा प्रवेश गरेका थिए। उनले आफू व्यक्तिगत रुपमा कांग्रेस उम्मेदवारलाई मत मागेको प्रतिक्रिया दिए । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved