भारत विरुद्धको जितमा नायक बनेका ऐरी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 06:24:09 AM मा प्रकाशित

laxmi  sunrise bank

कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि नेपालले एसीसी अन्डर १९ एसिया कपको समूह चरणको दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गरेको छ । 

दीपेन्द्रले ८८ रन बनाएपछि टस हारेको नेपालले निर्धारित ५० ओभर खेली ८ विकेट गुमाएर १ सय ८५ रन बनायो । अघिल्लो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित नेपालले जवाफमा भारतलाई ४८.१ ओभरमा १ सय ६६ रनमै अलआउट गर्‍यो । 

बायोमास ओभलमा भारतले छैटौं ओभरमा ओपनर आसिफ शेख (३) र दसौं ओभरमा अनिल साह (६) लाई पेभेलियनको बाटो देखायो । तेस्रो विकेटमा ओपनर जितेन्द्रसिंह र कप्तान दीपेन्द्रले सम्हालिएर खेल्दै ४९ रनको साझेदारी गरे । त्यसपछि लगातार विकेट खसे पनि दीपेन्द्र क्रिजमा डटेर बसे । जितेन्द्र आउट हुँदा ४६ बलमा २७ रन बनाएका दीपेन्द्रले त्यसपछि आक्रामक ब्याटिङ गरे । ४९ औं ओभरमा आउट हुनुअघि उनले १ सय १ बलमा ८८ रन जोडे । त्यसमा ६ चौका र ३ छक्का सामेल थिए । मध्यक्रममा दीपेन्द्रलाई साथ दिने क्रममा भीम सार्कीले २ चौका र १ छक्का मदतले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । रोहितकुमार पौडेल (६), पवन सर्राफ (१) र कमलसिंह ऐरी (५) ले सोचेअनुरूप साथ दिन असमर्थ रहे । सन्दीप लामिछानेले अन्त्यतिर ५ बलमा ९ रन जोडे । 

आक्रामक सुरुआत गरेको भारतले १२ ओभरमा ६५ रन जोड्दा टोलीको सहज जित देखिएको थियो । कमलसिंह ऐरीले आक्रामक ब्याटिङ गरिरहेका कप्तान हिमांशु रानालाई बोल्ड गरेपछि भारतको पतन सुरु भयो । पछिल्लो खेलमा शतक बनाएका रानाले ३८ बलमा ७ चौका र १ छक्का मदतले ४६ रन जोडे । नेपालको पेस बलिङलाई सहजै खेलेको भारतले मध्यक्रममा स्पिन भने खेल्न सकेन । लगातार विकेटको पतन र रनको गति पनि ढिला हुन थालेपछि दबाब बढेको थियो । ओपनर मनाजोत कालरा (३५) र अथर्व ताइदे (१३) सँगै सलमान खान (१) लगातार ओभरमा आउट भएपछि भारतको इनिङ धर्मराएको थियो ।

अनुज रावत र अभिषेक शर्माले इनिङ्स सम्हाल्ने कोसिस गरे पनि नेपालको स्पिनसामु भारतको धैर्यता टिक्न सकेन । पवनले १८ रन जोडेका अनुजलाई आउट गरेको केही क्षणमै सन्दीपले क्रिजमा नयाँ आएका तनुस कोटियालाई शून्यमा पेभेलियन फर्काए । ४० औं ओभरमा अभिषेकलाई दीपेन्द्रले आफ्नै बलिङमा क्याच गरेपछि भारतको हातबाट खेल फुत्किएको थियो ।

त्यसपछि लगातार भारतमाथि दबाब राखेको नेपाली टोलीले रनको गतिलाई कस्दै विकेट लिन सफल रह्यो । ४४ औं ओभरमा शिव सिंहले गरेको प्रहार सन्दीपले बाउन्ड्री लाइनबाट उफ्रेर उत्कृष्ट क्याच लिएपछि नेपाल जित नजिक पुगेको थियो । ४९ औं ओभरको पहिलो बलमा विवेक तिवारीको लामो प्रहार दीपेन्द्रले लङअनमा क्याच गरेपछि नेपालको जित पक्का भएको थियो ।

इतिहासमै पहिलोपटक भारतलाई हराउँदा करिब १ सयको हाराहारीमा उपस्थित नेपाली दर्शक पनि उत्साहित थिए । दर्शकसँगै खेलाडीमा पनि खुसीको रौनक प्रस्ट देख्न सकिन्थ्यो । यो जितसँगै नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना पनि जीवित रहेको कान्तिपुरमा खबर छ ।

नेपाललाई अर्को चरणमा पुग्न समूहको अन्य खेलको नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । अंक तालिकामा मलेसियाबाहेक तीनै टोलीको समान २ अंक छ । नेट रनरेटका आधारमा भारत (१.८३) शीर्षस्थान र त्यसपछि नेपाल (०.१९३) र बंगलादेश (०.०४४) रहेका छन् । यद्यपि बंगलादेशले सोमबार मलेसिया र मंगलबार भारतको सामना गर्दैछ । यता नेपालले भने अन्तिम खेलमा मंगलबार मलेसियाको चुनौती स्वीकार्नेछ । मलेसियाविरुद्ध जित हात परेमा नेपाललाई अर्को चरणमा पुग्न बंगलादेशले भारतलाई पराजित गरे पुग्नेछ । त्यसो नभएको खण्डमा समूहको शीर्ष दुई टोलीको छिनोफानो नेट रनरेटका आधारमा हुनेछ ।

यू–१९ क्रिकेटमा टेस्ट मान्यता देशमाथि नेपालको प्राप्त सफलता

सन् २००२/न्युजिल्यान्ड पाकिस्तानविरुद्ध ३० रनको जित

सन् २००२/न्युजिल्यान्ड बंगलादेशविरुद्ध २३ रनको जित

सन् २००४/बंगलादेश 

दक्षिण अफ्रिकाविरुद्ध १ विकेटको जित

सन् २००६/श्रीलंका 

दक्षिण अफ्रिकाविरुद्ध २ रनको जित

सन् २००६/श्रीलंका न्युजिल्यान्डविरुद्ध १ विकेटको जित

सन् २००८/मलेसिया जिम्बावेविरुद्ध ९९ रनको जित

सन् २०१६/बंगलादेश न्युजिल्यान्डविरुद्ध ३२ रनको जित

नोट : नेपालले सबै जित आईसीसी यू–१९ विश्वकपमा प्राप्त गरेको हो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved