को बन्ला मुख्यमन्त्री ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 06:32:07 AM मा प्रकाशित

laxmi  sunrise bank

चुनावको चर्चा परिचर्चामा यतिबेला ४ नम्बर प्रदेशको मुख्यमन्त्री को होलान् भन्ने बहस सुरु हुँदा प्रादेशिक राजधानी भनिएको कास्कीमा उक्त पदका दाबेदार निस्किएका छैनन् । ११ जिल्ला समेटिएको यो प्रदेशमा पहिलो चरणमा ६ र दोस्रो चरणमा ५ जिल्लामा हुने चुनावले प्रदेशसभाका लागि ३६ सदस्य निर्वाचित गर्नेछ । कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्र छन् । मुख्यमन्त्रीका लागि कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । संसद्को विकास समितिका पूर्वसभापति रवीन्द्र अधिकारीलाई प्रदेश प्रमुखको दाबेदारका रूपमा हेरिएको थियो । उनलाई वाम गठबन्धनले क्षेत्र २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । जिल्लामा प्रदेशसभामा लड्ने उम्मेदवार अधिकांश नयाँ अनुहार छन् । 

मुखियाको ‘मुख्यमन्त्री’ बन्ने धोको

लमजुङ– एमाले पार्टी सचिव पृथ्वी सुब्बा गुरुङलाई धेरैले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्लान् भन्ने ठानेका थिए तर उनी प्रदेशसभाको क्षेत्र ‘ख’ बाट उम्मेदवार छन् । पार्टी संगठकको छवि बनाएका उनलाई धेरै अगुवा कार्यकर्ताले जितेको खण्डमा प्रदेशको मुख्यमन्त्री हुन सक्ने आकलन गरेका छन् । संविधानसभा चुनाव २०६४ मा प्रतिस्पर्धी कांग्रेस उम्मेदवारभन्दा ६ हजार मत बढी ल्याएर विजयी भएका उनी २०७० मा भने ६ सय ७२ मततान्तरले कांग्रेस उम्मेदवारबाटै पराजित भएका हुन् । ०४३ यता एमालेका लागि लमजुङ क्षेत्र २ (हाल प्रदेश ख) मा उनी हरेक चुनावका एक्ला उम्मेदवार रहिआएका छन् । वाम गठबन्धनबाट प्रदेश ४ को मुख्यमन्त्री बन्ने उद्घोषका साथ चुनावी मैदानमा रहेका उनको जित प्रतिस्पर्धी पनि लोकप्रिय रहेकाले सहज छैन ।

उनले भने, ‘प्रदेशको मुख्यमन्त्री बने हरेक वर्ग, जातजाति, भाषाभाषी, धर्मावलम्बीलाई समेटै सुन्दर प्रदेश र सुन्दर लमजुङ बनाउने सपना मसँग छ ।’ उनलाई चुनौती दिन कांग्रेसबाट उम्मेदवार कृष्णप्रसाद कोइराला छन् । जिल्लाकै शालीन नेतामा गनिने कोइराला कसैलाई आरोप प्रत्यारोप नगर्ने नेतामा चिनिन्छन् । उनी भन्छन्, ‘मेरो संगठन छ । विकासमा मेरो योगदान कुनै मन्त्रीभन्दा कम छैन । नागरिकले मलाई नै चुन्नेछन्, यो मेरो विश्वास हो ।’

तनहुँमा आधा दर्जन आकांक्षी 

दमौली– प्रदेशसभा सदस्य चुनावमा तनहुँबाट केन्द्रीय तहमा स्थापित प्रमुख दलका नेताहरू प्रतिस्पर्धामा छन् । प्रमुख दलका नेतादेखि बहालवाला मन्त्रीसम्म उम्मेदवार भएपछि जसले जिते पनि तनहुँकै नेताले प्रदेशको मुख्यमन्त्री दाबी गर्नेमा पार्टीहरूका अगुवा कार्यकर्ता ढुक्क छन् । 

क्षेत्र २ प्रदेशसभा ‘ख’ का उम्मेदवार एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ छन् । उनलाई एमालेका अगुवा कार्यकर्ताले मुख्यमन्त्रीको दाबेदार उम्मेदवारका रूपमा हेरेका छन् । ०५३ मा नेविसंघ केन्द्रीय सभापति र २०५८ मा तरुण दलको महासचिव भएका कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा उम्मेदवार छन् । मुख्यमन्त्रीको उनी पनि बलिया आकांक्षी मानिन्छन् । कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल क्षेत्र २ ‘क’ बाट प्रदेशसभाकै उम्मेदवार हुन् । उनी पनि दाबेदारका रूपमा चर्चामा छन् । पौडेलकी प्रतिस्पर्धी माओवादीकी आशा कोइराला छिन् । उनी पनि वाम गठबन्धनबाट प्रभावशाली उम्मेदवार भएकाले मुख्यमन्त्रीकी आकांक्षी मानिएकी छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved