चन्दा छल्न व्यवसायी विदेश भ्रमणमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 06:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

वीरगन्जका मुख्य तथा प्रतिष्ठित उद्योगी व्यवसायीको एउटा ठूलो समूह इन्डोनेसियाको भ्रमणमा हिँडेको छ । स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, वर्तमान वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुवोधकुमार गुप्तालगायत एक दर्जन उद्योगी व्यवसायीको टोली जकार्ताको लागि उड्न बिहीबार राजधानी पुगेको छ । उक्त टोलीले शुक्रबार राति नेपाल छाडेको छ । 

टोलीका सदस्यहरू महासंघका अर्का केन्द्रीय सदस्य अशोक टेमानीलाई यसै साता पितृशोक र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालाई मातृशोक परेकाले उनीहरूको भ्रमण अन्तिम समयमा रद्द भएको छ । संघका पूर्वअध्यक्ष अशोककुमार वैद्यले पनि अन्तिम समयमा आफ्नो नितान्त व्यक्तिगत कारणले भ्रमण रद्द गरेको स्रोत बताउँछ । 

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा आर्थिक नगरीका ठूला तथा प्रमुख उद्योगी व्यवसायीले नगर मात्र नभई मुलुकै छाडेर सयरमा जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ । कतिपयले निर्वाचनमा उम्मेदवारहरूबाट हुने चन्दा आतंकबाट आजित भएर मुलुक नै छाडेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूलाई चन्दा दिइसकेका उनीहरूले फेरि प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरूको ठूलै भीडलाई थेग्नुभन्दा मुलुक नै छाडेको अड्कलबाजी कतिपयले गरेका छन् ।

भ्रमण टोलीका एक सदस्यले नाम नछापिदिने सर्तमा भने, ‘चुनावको मुखमा अनेक झन्झट बोक्नुभन्दा हामी नयाँ ठाउँको भ्रमण गर्न हिँडयौं, केही नयाँ सिकिन्छ, केही नयाँ जानिन्छ ।’ भ्रमण टोलीका सबैजना खुलेर यस विषयमा बोल्न मान्दैनन् । ‘बिस्तारै चन्दा माग्नेहरू बढ्दै छन्, चिनेजानेका उम्मेदवारहरू माग्न आउँछन्, हामीले स्वेच्छाले दिने हो, हामी चन्दाको मारमा परेकै हौं,’ एक सदस्यले भने, ‘आतंकै त नभनौं । भोट र नोट दुवै माग्न आउँछन्, चित्त बुझाएर पठाउनैपर्‍यो ।’ कान्तिपुरमा खबर छ

भ्रमण टोलीकै एक सदस्यले आफूहरू भागेको नभई संयोगले घुम्नलाई चुनावअघिको समय जुरेको बताए । ‘तर, हामीले चन्दा किन र कुन प्रयोजनले दिने भन्ने कुरो अहम् छ,’ नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, ‘चुनावमा खर्च गरेर जित्ने नेताले जितेपछि त्यो खर्चको भर्पाई गर्न के–के गर्नुपर्छ सबैलाई थाहै छ, यो कस्तो संस्कार हो, हाम्रा नेताहरू कुन बाटोमा हिँड्दै छन् ।’

उद्योग व्यवसायको अवस्था दयनीय हुँदै गएको तर चुनाव आउने बित्तिकै सबै उम्मेदवारको नजर उद्योगी व्यवसायीमै पर्ने गरेको उनले गुनासो गरे । ‘चन्दालाई आयकरको खर्चमा लेख्न मिल्दैन, अचेल सम्पत्ति शुद्धीकरणको पनि निकै हल्ला छ, हामीले चन्दा खर्चलाई कुन शीर्षकमा राख्ने त,’ उनले भने, ‘उद्योगी व्यवसायीको यो पीडा कसले बुझिदिने, हामीले उम्मेदवार पिच्छे १० हजारदेखि १ लाख रुपैयाँ चन्दा दिनुपरेको छ, यो हाम्रो रहर होइन बाध्यता भइसकेको छ ।’

आर्थिक नगरी तथा मध्य तराईको व्यापारिक केन्द्रसमेत भएकाले यहाँका उद्योगी व्यवसायीले पर्सा मात्र नभई छिमेकी बारा, रौतहटसम्मका उम्मेदवारहरूको चित्त बुझाउनुपरेको छ । राजधानीमा बस्ने कतिपय दलका शीर्षस्थ तथा ठूला नेताहरूलाई उनीहरूले विगतदेखि ठूलो रकम चन्दाका रूपमा चुनावैपिच्छे दिँदै आएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved