१० महिनामा साढे ७ लाख पर्यटक, अघिल्लो वर्षको तुलनामा एक तिहाई बढी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 06:08:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो १० महिनामा नेपाल आउने पर्यटकको  संख्यामा उल्लेख्य वृद्धि भई ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो अघिल्लो  वर्षको यसै  अवधिको तुलनामा एक तिहाइले बढी हो ।

 अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या  सात लाख नाघेको हो । सन् २०१६ को पूरै १२ महिनाको दाजोमा चालु वर्षमा ४ हजार ४ सय बढी पर्यटक  आएका हुन ।

पर्यटन बोर्डले यस वर्ष १० लाख पर्यटक पुग्ने प्रक्षेपण गरेको छ । ‘यस वर्षको तथ्यांक अघिल्लो वर्षसँग विश्लेषण गर्दा ३० देखि ३५ प्रतिशतले विदेशी पर्यटक बढेको देखीन्छ,’ बोर्डका निर्देशक सुनिल शर्माले भने, ‘ यही अनुपातले पर्यटक आगमन रह्यो भने अबको दुई महिनामा नेपाल आउने पर्यटकसहितको कुल संख्या सन् २०१७ मा १० लाख पुग्ने छ ।’

शर्माका अनुसार यो संख्या हालसम्मकै उच्च हुने छ । अहिलेसम्म सबैभन्दा धेरै विदेशी पर्यटक सन् २०१२ मा पुगेको थियो । त्यस वर्ष ८ लाख ३ हजार ९२ विदेशी नेपाल घुम्न आएका थिए । यस वर्ष तारे र पर्यटक स्तरका होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारी रहेको छ । पर्यटक बोक्ने अधिकाशं विदेशी एयरलाइन्समा यो नोभेम्बर महिनाभर टिकट ‘सोल्ड आउट’ भइसकेका छन् । अहिले नेपालमा पर्यटकको संख्या बढ्नुमा पहिलो कारण भूकम्पलाई मान्छन् बोर्डका प्रमुख कार्यकारी  अधिकृत  दिपकराज जोशी । ‘भूकम्पले नेपाललाई विश्वभर चिनायो,’ उनले भने । यसबाहेक पछिल्लो पटक सोसल मिडियाका कारण पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको बोर्डले जनाएको  छ ।

यस वर्षको पहिलो दस महिनामा हवाई मार्ग भएर सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल घुम्न आएका थिए । तथ्यांकअनुसार भारतबाट एक लाख ३३ हजार, दोस्रोमा चीनबाट ८३ हजार, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट ६५ हजार पर्यटक नेपाल आएका थिए ।

यी मुलुकपछी धेरै पर्यटक आउनेहरुमा क्रमश: श्रीलंका, बेलायत, थाइल्याण्ड, म्यानमानर, कोरिया, अस्ट्रेलिया र जर्मनी छन् । सबैभन्दा धेरै पर्यटक अक्टोबरमा एक लाख १२ हजार र मार्चमा एक  लाख ६ हजार आएका थिए । सन् २०१७ को पहिलो दस महिनामा नेपालमा हवाई बाटो भएर आउने १३ लाख ८१ हजार नेपालीसहित विदेशीको संख्या २१ लाख ३९ हजार पुगेको छ । नेपालीलाई अध्यागमन विभागले पर्यटकको सूचीमा राख्दैन् । कान्तिपुरमा खबर छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved