चुनावमा लम्किने समानुपातिकमा चम्किने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 06:42:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभामा ३३ प्रतिशत र प्रदेशसभामा ५० प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले अनिवार्य गरे पनि अधिकांश दलले १० प्रतिशत महिलालाई समेत उम्मेदवार बनाएका छैनन् । प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र माओवादीले सात प्रतिशत महिलालाई समेत अवसर दिएको छैन । उम्मेदवार बनाएका महिलालाई सुरक्षीत क्षेत्र पनि दिइएको छैन ।

अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले प्रतिनिधिसभामा १६५ मध्ये १५४ क्षेत्रमा उम्मेदवार बनाएकोमा ९ जना महिलालाई मात्रै प्रत्यक्षमा टिकट दिएको छ । टिकट दिएकामध्ये अधिकांशमहिलाको क्षेत्र कमजोर मानिन्छ ।

नेकपा एमालेले एक सय तीन स्थानमा उम्मेदवारी दिएकोमा पाँच जनालाई र नेकपा माओवादी केन्द्रले चार जना महिलालाई मात्र उम्मेदवार बनाएको छ । राप्रपा राप्रपा प्रजातान्त्रिकले क्रमश ६ र ५ क्षेत्रमा मात्र उम्मेदवारी दिए पनि एक क्षेत्रमा पनि महिलालाई उम्मेदवारी दिइएको छ ।

मधेशकेन्द्रीत दल संघीय समाजवादी फोरमले १ सय ७ जना उम्मेदवार उठाए पनि चार जना महिलालाई मात्र उम्मेदवार बनाएको छ। ६५ स्थानमा उम्मेदवार उठाएको राजपा पनि ६ जना भन्दा बढी महिलालाई उम्मेदवार बनाएको छैन।


प्रतिनिधिसभाको निर्वाचनमा ९५ वटा दल र स्वतन्त्र गरी एक हजार नौं सय ४५ जनाले उम्मेदवारी दिए पनि २७ वटा पार्टीका १ सय ४६ जना मात्र महिला उम्मेदवार छन् ।

प्रमुख दलले महिला उम्मेदवार उठाएको अधिकांशनिर्वाचन क्षेत्रमा विपक्षी दलका प्रभावशाली उम्मेदवार हुने वा विपक्षी पार्टीको पकड क्षेत्र हुने गरेको छ। जसले गर्दा महिला उम्मेदवारलाई सहज निर्वाचनमा जित हासिल गर्न कठिन देखिन्छन् ।

कांग्रेसले उम्मेदवार बनाएका नौं मध्ये ५ वा ६ जनाले मात्र निर्वाचन जित्न सक्ने आंकलन गरिएको छ ।

तेह्रथुममा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी केन्द्रीय सदस्य सीता गुरूङ यसअघिको संविधानसभामा निर्वाचित एमालेका भवानी खापुङसँग प्रतिष्पर्धा गर्दैछिन् । खोटाङबाट प्रतिनिधिसभामा उम्मेदवार भएकी सरस्वती बजिमय पनि अघिल्लो निर्वाचनमा बिजयी एमालेकै बिसाल भट्टराईसंग प्रतिष्पर्धा गर्दैछिन् ।

कांग्रेसबाट उम्मेदवार भएकी महालक्ष्मी उपाध्याय मकवानपुर २ मा एमालेका बिरोध खतिवडासँग प्रतिष्पर्धा गर्दैछिन् । यसअघि सो क्षेत्रबाट एमालेले नैं जितेको थियो । महोत्तरी २ वाट उम्मेदवार भएकी किरण यादवसँग ६ मधेशकेन्द्रीत दल मिलेर बनेको राजपाका अध्यक्ष मण्डलका शरत्सिंह भण्डारी प्रतिष्पर्धी छन् ।

दाङ १ वाट उम्मेदवार भएकी सुशीला चौधरी एमाले र माओवादी गठबन्धनका उम्मेदवारसँग प्रतिष्पर्धा गरिरहेकी छन् । बागलुङ १ वाट उम्मेदवार भएकी चम्पादेवी खड्काबिरूद्ध राष्टिय जनामोर्चा र माओवादीको समर्थनमा एमालेका सूर्यप्रसाद पाठक प्रतिष्र्धामा छन ्।

कैलाली ५ मा कांग्रेसबाट प्रधानमन्त्री देउवापत्नी डा. आरजु चुनावी मैदानमा छिन्। त्यहाँ एमालेका उम्मेदवारसँग उनको टक्कर परिरहेको छ भने कैलाली एकमा भने कांग्रेसकी इश्वरी न्यौपाने एमालेकी मदनकुमारी शाहबीच प्रतिष्पर्धा छ ।

एमालेले उम्मेदवार बनाएको भगवती चौधरीलाई फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका बिजयकुमार गच्छदारले टक्कर दिएका छन भने उदयपुर १ मा एमालेको तर्फबाट उम्मेदवार बनेकी मञ्जुकुमारी चौधरीसँग कांग्रेसका डा.नारायण खड्का प्रतिष्पर्धा गर्दैछन्। गच्छदार र खड्का दुवैले यसअघिको संविधानसभा निर्वाचनमा बिजय हासिल गरेका थिए ।

झापा २ वाट उम्मेदवार बनेकी पवित्रा खरेल निरौलाले झापा कांग्रेसका सभापति उद्धव थापासँग प्रतिष्पर्धा गर्नुपरेको छ भने स्याङ्जा २ वाट उम्मेदवार बनेकी एमालेकी पद्माकुमरी अर्यालले उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका हेभिवेट नेता गोपालमान श्रेष्ठसँग टक्कर लिँदैछिन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषाल यसअघिको संविधान सभा निर्वाचनमा एमालेलाई भारी मतले पराजित गर्न सफल कांग्रेसका मदनबहादुर अमात्यसँग प्रतिष्पर्धा गर्दैछिन् । माओवादीको तर्फबाट उम्मेदवार भएकी उर्मिला अर्याल पर्षा ४ मा कांग्रेसका रमेश रिजाल र राजपाका लक्ष्मणलाल कर्णसँग दोहोरो प्रतिष्पर्धामा छिन् ।

अघिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसाग पराजित माओवादीकी विना थापामगर यसपटक कञ्चनपुरमा उनैसँग प्रतिष्पर्धामा उत्रिएकी छन्। रूकुम (पूर्व) बाट उम्मेदवार बनेकी कमला रोक्का पार्टी भित्रको आन्तरिक असन्तुष्टिलाई व्यवस्थापन गर्दै कांग्रेसका शरिशंकर रोक्का मगरसँग भिँड्दैछिन्।

प्रतिनिधिसभामा महिला उम्मेदवारको सख्या र प्रमुख दल

कांग्रेसका १ सय ५४ मध्ये ९ महिला

नेकपा एमालका १०३ मा ५ जना महिला

नेकपा माओवादी केन्द्र ६० मध्ये ४ जना महिला

राप्रपाका ६ मध्ये महिला उम्मेदवार सुन्य

राप्रपा (प्रजातान्त्रिक) का ५ मध्ये महिला उम्मेदवार शुन्य

नयाँशक्ति एक सय २३ मध्ये ३ जना महिला

संघीय समाजवादी फोरमका १०७ मध्ये ४ जना महिला

राजपा ६५ मध्ये ६ जना महिला

विवेकशील साझा ६६ मध्ये ३ जना महिला

प्रतिनिधिसभामा खसेको सदर मतको तीन प्रतिशत मत प्राप्त गर्ने सम्भावना नभएको दल राष्टिय जनमोर्चाले ९, एकीकृत राप्रपा (राष्ट्रवादी) र नेपाल मजदुर किसान पार्टीले आठ, आठ र राष्ट्रिय जनमुक्ति पार्टीले ६ जना महिलालाई उम्मेदवार बनाएको छ ।

अन्य दलले उठाएका महिला उम्मेदवारहरू

स्वतन्त्र महिला उम्मेदवार ३४ जना, नेपाली जनता दल ४, विवेकशील साझा ३, राजमुपा ६, संलोरामञ्च ३, बहुजन शक्ति पार्टी २, नेपाल संघीय समाजवादी पार्टी ३, नेकपा माले ३, देशभक्त जनगणतान्त्रिक मोर्चा ३, चुरेभावर लोकतान्त्रिक पार्टी २, नेपाल दलित पार्टी २, मंगोल नेसनल अर्गनाईजेसन ३ रहेका छन्।

महिला उम्मेदवार नै नभएका २९ जिल्लाहरूमा

दार्चुला, बैतडी,डोल्पा, मुगु, जुम्ला, जाजरकोट, बाजुरा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्वु, दोलखा, रसुवा, गोरखा, मनाङ, लम्जुङ, मुस्ताङ, म्याग्दी, इलाम, धनकुटा, वारा, तनहुँ, पाल्पा, अर्घाखाँची, सल्यान, दैलेख, रूकुम (पश्चिम) र डडेलधुरा हुन्।

जहाँ ५० प्रतिशत महिला हुनुपर्नेमा ७ प्रतिशत पनि उम्मेदवार उठाइएन

प्रदेशसभाको गठन गर्दा राजनीतिक दलबाट निर्वाचितमध्ये ५० प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले अनिवार्य गरेको छ। तर प्रमुख दले प्रदेश सभामा ५० प्रतिशत महिलालाई पनि उम्मेदवार बनाएनन् ।

प्रदेश सभामा निर्वाचित सांसदको सख्या तीन सय ३० हो। नेपाली कांग्रेसले करिव तीन सय २१ स्थानमा प्रदेश सभामा उम्मेदवार उठाएकोमा ६ जना मात्र महिला उम्मेदवार छन् । कांग्रेसले ताप्लेजुङमा लिलादेवी बोखिम, बझाङमा पूर्वसांसद चन्द्रादेवी जोशी, काठमाडौं ५को एकमा रमादेवी पौडले गुरागाईलाई उम्मेदवार बनाएको छ ।

काश्की ३ को एकमा पूर्वसांसद शारदा पौडेल र कैलाली ५ को एकमा सुश्री जीवन रानालाई प्रदेश सभातपर्फ कांग्रेसले उम्मेदवार बनाएको छ ।

एमालेले भने म्याग्दी एकको २ मा नरदेवी पुनमगर, इलाम १ को एकमा विनु लङ्वा, उदयपुर २ को दुईमा कला घले, महोत्तरी १ को एकमा शारदादेवी झा, सर्लाही १ को दुईमा वेची लुङ्गेली, काठमाडौं १ को एकमा विष्णुकुमारी भूषाललाई प्रदेशसभा तर्फको उम्मेदवार बनाएको छ ।

एमालेले काठमाडौं क्षेत्र नम्वर ८ को २ वाट पार्टी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौं १० को दुईमा रमा आलेमगर, रूपन्देही क्षेत्र नम्वर ४ को एकमा पल्लवी शुक्ला र वाँके क्षेत्र नम्वर एकको दुईमा आरती पौडेललाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले भने नुवाकोट क्षेत्र नम्वर १ को एकमा पूर्वराज्यमन्त्री राधिका घले, गोरखा क्षेत्र नम्वर २ को एकमा कमला नहर्की, बझाङको दुईमा देवकी मल्ल, मोरङ क्षेत्र नम्वर ३ को एकमा गीता तिम्सिना, मकवानपुर क्षेत्र नम्वर २ को एकमा कुमारी मोक्तानलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले वाराको क्षेत्र नम्वर ३ को एकबाट पूर्वसांसद ज्वालाकुमारी साह, तनहुँ क्षेत्र नम्वर २ को एकबाट आशा कोइराला र वाँके क्षेत्र नम्वर एकको एकबाट कृष्णा केसी उम्मेदवार बनेकी छन् ।  जनप्रहार साप्ताहिक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved