एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू ठगिए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 27, 2017 | 07:03:21 AM मा प्रकाशित

laxmi  sunrise bank

  एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् ।   बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन् ।  नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन् ।  नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस अध्ययनका लागि भरसक बङ्गलादेश नजान र जाँदा राम्रोसँग बुझेर मात्र जान आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, “ठगिने नेपाली विद्यार्थीको लामो सूची प्राप्त भएको छ । ” नेपाली विद्यार्थी बङ्गलादेश गएर मेडिकल कलेजमा अध्ययन गरेको एक÷दुई वर्षमा पनि ठगिने गरेका छन् ।

काउन्सिलका अनुसार बङ्गलादेशमा विदेशी विद्यार्थीहरूका लागि ३० प्रतिशतमात्र सिट छुट्याइएको हुन्छ ।  कुनै कुनै कलेजमा विदेशी विद्यार्थीका लागि ३० जना कोटा  भए पनि ५० जना नेपाली विद्यार्थीलाई भर्ना गरिएको पाइएको छ ।

भारत, बर्मा लगायतका देशबाट समेत बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या धेरै हुने भएकोले नेपालबाट जाने विद्यार्थीले एमबीबीएस अध्ययनका लागि अवसर नपाउने प्रस्ट्याउनु भयो ।

बङ्गलादेशका मेडिकल कलेजहरूले पनि नेपाली कन्सल्टेन्सीलाई जति पनि विद्यार्थी पठाउन भनेकोले कलेज र कन्सल्टेन्सी मार्फत नेपालीहरू ठगिँदै आएको काउन्सिलको दाबी छ ।  उहाँले भन्नुभयो, “जथाभावी कमिसन खाएर विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई सरकारले नियन्त्रण गर्न सक्नुपर्दछ । ”

बङ्गलादेश गइसकेपछि विद्यार्थीलाई बङ्गलादेशको मेडिकल कलेजले भर्ना गरिदिन्छ ।  अध्ययन गर्न पनि पाएकै हुन्छन् ।  अध्ययनपछि परीक्षा पनि दिने गरेका छन् तर परीक्षा दिइसकेपछि नतिजा प्रकाशनका बेला नेपाली विद्यार्थीहरूको नतिजा अनुत्तीर्ण भनी उल्लेख हुने गरेको छ ।

एक वर्षपछि पैसा फिर्ता माग्दा ‘तिमीहरूले भर्ना भएर अध्ययन गरिसक्यौ, अब पैसा फिर्ता हुँदैन, अर्को वर्ष मिल्यो भने पुनः अध्ययन गर्नू’ भन्ने जवाफ बङ्गलादेशको मेडिकल कलेजले दिने गरेको छ ।  बङ्गलादेशको नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेका १८ जना विद्यार्थी त्यसैगरी ठगिएका छन् ।  त्यहाँस्थित मेडिकल काउन्सिलले उक्त कलेजलाई कारबाही गरेपछि मात्र नेपाली विद्यार्थीले आफू ठगिएको पत्तो पाए ।  त्यसपछि दूतावास गुहार्न गएपछि दूतावासको पहलमा उक्त कलेजबाट विद्यार्थीहरूको ढाका विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा स्थानान्तरण भएको थियो ।  नेपाल मेडिकल काउन्सिलका अनुसार नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेर सबै पैसा त्यही कलेजलाई बुझाएका नेपाली विद्यार्थीले अरू कलेजले थप रकम नदिँदासम्म अध्ययन गराउन मानेन ।  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved