चार महिनामा वीरगन्जबाट मात्र भित्रिए ५ अर्बको मोटरसाइकल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2017 | 06:15:53 AM मा प्रकाशित

laxmi  sunrise bank

 मुलुकको मुख्य नाका वीरगन्जबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ अर्ब रुपैयाँँभन्दा बढीका मोटरसाइकल भित्रिएका छन् । चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ । 

जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन राजस्वमा योगदानको हिसाबले महत्त्वपूर्ण मानिन्छन् । चालु आवको चौमासिकमा ५ अर्ब ४९ करोड रुपैयाँ राजस्व बुझाएर ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको ६५ हजार ४ सय ११ वटा मोटरसाइकल आयात भएका छन् । यो अघिल्लो वर्षको यसै अवधिका तुलनामा २५ प्रतिशतभन्दा बढी हो । गत आवको यसै अवधिमा ४ अर्ब २६ करोड रुपैयाँ राजस्व बुझाएर ४ अर्ब १३ करोड रुपैयाँ बराबरको ४८ हजार ७ सय ६२ वटा मोटरसाइकल यो नाकाबाट आयात भएको तथ्यांक छ । 

कार्यालयको तथ्यांकअनुसार चालु आवको साउनदेखि कात्तिकसम्मको चौमासिक अवधिमा ७ अर्ब ६२ करोड रुपैयाँ राजस्व बुझाएर ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४ हजार ७ सय ५४ वटा जिप, कार, भ्यान यो नाकाबाट आयात भएको तथ्यांक छ । गत आवको यसै अवधिमा ७ अर्ब ४० करोड रुपैयाँ राजस्व बुझाएर ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको ४ हजार २ सय २५ वटा जिप, कार , भ्यान आयात भएका थिए । यी सवारीको आयात गर्दा करिब २ सय ५० प्रतिशतसम्म राजस्व लाग्ने भएकाले यिनको आयात बढदा यो भन्सारकै राजस्व असुलीमा सकारात्मक प्रभाव पर्छ । 

दुई वर्षअघिको नाकाबन्दीमा यो नाकाबाट सवारी साधनको आयात घटेको र आयातकर्ताहरू भैरहवा नाकातर्फ आकर्षित भएका थिए । हाल यो नाकाबाट हुने सवारी साधनको आयातको अनुपात पुरानै लयमा फर्किएको संकेत यसले गरेको छ । 

चालु आवको चौमासिकमा ४९ करोड २१ लाख रुपैयाँ राजस्व बुझाएर ९२ करोड ८१ लाख रुपैयाँ बराबरको ५ सय ६८ वटा ट्रक, मिनीट्रक आयात भएका छन् । गत आवको यसै अवधिमा ३७ करोड १३ लाख रुपैयाँ राजस्व बुझाएर ७१ करोड ४४ लाख रुपैयाँ बराबरको ३ सय ६९ वटा यस्ता सवारी साधन आयात भएका थिए । 

यो नाकाबाट भित्रिने अधिकांश सवारी साधनको मुख्य बजार राजधानी नै हो । राजधानीका सवारी साधनका बिक्री सोरुमहरूमा ग्राहकले सवारी साधन बुक गरेपछि अटो व्यवसायीले यहाँबाट जाँचपास गराई लग्छन् । सवारी साधन बुक हुनुअघि नेपाल भित्र्याउने र वीरगन्ज भन्सारमै जाँचपास नगराई राख्दा पनि भाडा लाग्ने भएकाले अधिकांश आयातकर्ताले आफ्ना सवारी साधन सीमापारि भारतीय सहर रक्सौलमा जग्गा भाडामा लिई राख्ने गरेका छन् । रक्सौलमा हाल पनि नेपाली अटो व्यवसायीहरूको सबैखाले गरी करिब ४ देखि ५ हजार सवारी साधन राखिएको अनुमान गरिएको छ । 

आयातकर्ताले तेस्रो मुलुकबाट आयात गर्ने सवारी साधन कोलकाता बन्दरगाह हुँदै यो नाकाबाट ल्याउन सबैभन्दा छोटो मार्ग भएकाले सहज छ । भारतमा निर्मित सवारी साधन आयात गर्न पनि यो नाका नै पायक पर्छ । यो नाकाबाट सवारी साधन भित्र्याउँदा राजधानी लग्न पनि छोटो दूरी भएकाले सबै हिसाबले आयातकर्तालाई पायक पर्छ । 

चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट ३ करोड रुपैयाँ राजस्व बुझाएर ७ करोड ५५ लाख रुपैयाँ बराबरको ४३ वटा बस आयात भएका छन् । गत आवको यसै अवधिमा २ करोड २१ लाख रुपैयाँ राजस्व बुझाएर १२ करोड ४९ लाख रुपैयाँ बराबरका ४६ वटा बस आयात भएका थिए । 

चालु आवको यस अवधिमा १९ करोड ४४ लाख रुपैयाँ राजस्व बुझाएर २१ करोड ६९ लाख रुपैयाँ बराबरको १ सय १८ वटा मिनीबस आयात भएको छ । गत आवको यस अवधिमा ३७ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएर ४१ करोड रुपैयाँ बराबरको १ सय ८७ वटा मिनिबस आयात भएको थियो । 

चालु आवको चौमासिकमा ६२ करोड रुपैयाँ राजस्व बुझाएर ५३ करोड रुपैयाँ बराबरको ४ सय १८ वटा डवल क्याव पिकअप गाडी आयात भएका छन् । गत आवको यसै अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ राजस्व बुझाएर १ अर्ब २ करोड रुपैयाँ बराबरको १ हजार ९ वटा डबल क्याब पिकअप गाडी आयात भएको थियो । 

चालु आवको चौमासिकमा ३७ करोड ५८ लाख रुपैयाँ राजस्व बुझाएर ३२ करोड २३ लाख रुपैयाँ बराबरको ५ सय ४९ वटा सिंगल क्याब पिकअप गाडी आयात भएको छ । गत आवको यसै अवधिमा ५४ करोड ६७ लाख रुपैयाँ राजस्व बुझाएर ४६ करोड ६७ लाख रुपैयाँ बराबरको ७ सय ४१ वटा यस्ता सवारी आयात भएको कान्तिपुर दैनिकमा खबर छ  । 

भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव कुनै पनि खाले सवारी साधनको आयात निर्यात घट्नुमा तिनको माग नै प्रमुख कारक हुने बताउँछन् । ‘हामीले यो नाकाबाट जाँचपासमा सक्दो सहजीकरण गर्ने मात्र हो,’ उनले भने, ‘कुनै पनि खाले सवारी साधनको आयात बढ्नुको मुख्य कारण तिनको माग बढ्नु र आयात घट्नुमा तिनको माग घट्नु मुख्य कारण हो ।’ भन्सारको कुल राजस्वमा २० देखि २५ प्रतिशतसम्म योगदान सवारी साधनबाट संकलन हुने राजस्वको रहने गरेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved