प्रत्यक्ष तर्फको परिणाम चार दिनमै र समानुपातिकतर्फको नतिजा ८ दिनमा आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2017 | 06:14:23 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम ४ दिन र समानुपातिकको ८ दिनभित्र दिने लक्ष्य राखेको छ ।  

मतगणना छिटो र व्यवस्थित रूपमा सक्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको उल्लेख गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘प्रत्यक्षको ४ र समानुपातिकको ८ दिनसम्ममा गणना सक्ने लक्ष्य छ ।’ मतदाता संख्याअनुसार थप गणना टोली परिचालन गरी निर्धारित समयभित्रै नतिजा दिन भनिएको उनले बताए । मतपत्र छोटो र छरितो रहेकाले पनि गणना लक्षित समयभित्रै पूरा हुने आयोगको विश्वास छ । 

आयोगका अनुसार मंसिर १० गते पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका प्रतिनिधिसभातर्फका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रको गणना दोस्रो चरणको निर्वाचन सकिएलगत्तै थालिनेछ । पहिलो चरणको मतपेटिका जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख र अनुगमनमा छन् । मतपेटिका राखिएका स्थलमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिको समेत निगरानी छ । बिहीबार हुने ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रको गणना सबै मतपेटिका सदरमुकाम ल्याएपछि सुरु हुनेछ । सुगमस्थल र सदरमुकाम नजिकका निर्वाचन क्षेत्रको भने त्यही रातबाट गणना हुनेछ । 

पौडेलले सर्वदलीय बैठक गरी मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले मतगणना थाल्न सक्ने जनाए । गणनाबारे जानकारी दिन आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फको गणना एकैसाथ सुरु हुने बताए । कतिपय जिल्लामा स्थान अभाव भए प्रत्यक्षतर्फको गणना पहिले गरिने पौडेलले बताए । जिल्लामा गणनास्थल र गणकहरू तय भइसकेको उनले जनाए । 

सबै गणना एकैपटक थाल्दा एउटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै चारवटा गणनास्थल आवश्यक पर्नेछ । प्रतिनिधिसभा, प्रदेशसभाका २ क्षेत्र र समानुपातिकतर्फको छुट्टै स्थल बनाउनुपर्ने हुन्छ । प्रत्येक समूहमा एक सिफ्टमा ७ कर्मचारी खटाउनुपर्ने हुन्छ । आयोगले एकैपटक गणना गर्न सकिने भने पनि धेरै निर्वाचन क्षेत्र रहेको तराईका जिल्लामा स्थान र कर्मचारी अभावले त्यसको सम्भावना कम छ । आयोगले मतगणनामा शिक्षकलाई खटाउन नपाउने भनेको छ । गणना गर्दा सम्बन्धित निर्वाचन क्षेत्रको कम्तीमा दुईवटा मतदान केन्द्रको मतपत्र मिसाएर गन्नुपर्ने मतगणना निर्देशिकामा उल्लेख छ । 

आयोग प्रवक्ता नवराज ढकालले स्थानीय निर्वाचनको अनुभव हेर्दै गणनामा केही नयाँ र विशेष व्यवस्था गरिएको बताए । गणनास्थल प्रवेश गर्ने हरेक व्यक्तिको अनिवार्य सुरक्षा जाँच, फोटोसहितको परिचपत्रको प्रावधानमा कडाइ गरिने उनले बताए । आयोगले गणनामा खटिएका कर्मचारीबाहेकले मतपत्र छुन नसक्ने व्यवस्था मिलाउन कडा निर्देशन दिएको छ । 

‘गणक र दलका प्रतिनिधिबीच निश्चित दूरी राख्न र दुवै बस्ने खण्ड नै अलगअलग बनाउन भनिएको छ,’ आयुक्त पौडेलले भने, ‘मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबाहेक अरूलाई मोबाइल फोन, क्यामरा, अडियो वा भिडियो उपकरण लैजान निषेध गरिएको छ ।’ सञ्चारकर्मीलाई मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्थामा बाधा नपर्ने गरी निश्चित दूरीबाट गणनास्थलको दृश्य खिच्ने व्यवस्था मिलाइने उनले बताए । 

गणनास्थलमा उपलब्ध स्रोतसाधनबाट सीसीटीभी जडान गर्न सकिनेसमेत मातहतलाई निर्देश गरिएको छ । ‘मतगणना आरम्भपूर्व नै कस्ता मतपत्र सदर वा बदर हुनेबारे सर्वदलीय सहमति कायम गरिनुपर्छ,’ पौडेलले भने, ‘मतगणना सुरु भइसकेपछि बीचबीचमा थप सहमति नगर्ने व्यवस्था मिलाउन भनिएको छ ।’ कान्तिपुर दैनिकमा खबर छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved