एक लाख भूकम्प पीडितले बुझे दोस्रो किस्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 15, 2017 | 08:02:44 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन सकिएसँगै भूकम्पपीडितलाई घर बनाउने चटारो बढेको छ ।  निर्वाचनका कारण  केही समय सुस्त भए पनि अब भने त्यसले गति लिन थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  मङ्सिर २७ गतेसम्मको तथ्याङ्कअनुसार एक लाख ४८३ लाभग्राहीले निजी आवास पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता बुझिसकेका छन् ।  यो तथ्याङ्कले पनि निजी आवास निर्माणको गति बढेको प्राधिकरणले दाबी छ ।

प्राधिकरणले  गत साउन महिनासम्ममा अनुदान लिने लाभग्राहीले आगामी पुस मसान्तसम्म तोकिएकोे तहसम्मको घर निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने समय सीमा तोकिएका कारण पनि निजी आवास निर्माणको कार्य बढेको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘दसैँ, तिहारलगायतका चाडपर्व र कृषि उत्पादन भित्र्याउने चटारो सकिएलगत्तै घर पुनःनिर्माणले गति लिन थालेको हो । ’

प्राधिकरणले पुस मसान्तभित्र दोस्रो किस्ता र २०७५ जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ ।  त्यस्तै, २०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले २०७४ चैतभित्र दोस्रो किस्ता र २०७५ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने छ ।

लाभग्राहीले डीपीसी तहसम्मको पुनःनिर्माण सम्पन्न भएपछि प्राविधिकबाट जाँच गराई दोस्रो किस्ता लिन पाउँछन् ।  त्यस्तै, दोस्रो किस्ता लिएर छानो छाउने, पट्टी निर्माण गरेपछि तेस्रो किस्ताका लागि आवेदन दिन सक्छन् ।  प्राधिकरणले निजी आवास निर्माण कार्यलाई थप सहज बनाउन स्थानीय तहका प्रतिनिधिसँग सम्झौता गरेर १४४ बुँदे समझदारीसमेत तय गरेको छ ।

त्यस्तै, इन्जिनियर र प्राविधिकलाई पनि गाउँगाउँमा स्थानीय तहको मातहतमा रहेर काम गर्न खटाइसकेको छ ।   पुस मसान्तभित्रै करिब ५४ हजार डकर्मी र सिकर्मीलाई तालिम दिइसक्ने लक्ष्य रहेको पनि प्रवक्ता भुसालले जानकारी दिनुभयो ।  दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या एक लाख नाघे पनि दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या भने थप २४ हजार ३०७ छ ।  त्यस्तै, तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या ३३ हजार ४२५ पुगेको छ ।

अहिलेसम्म ६ लाख ५१ हजार ७९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।  निर्माण सम्पन्न भएका र निर्माणाधीन निजी घरको सङ्ख्या पनि सन्तोषजनक गतिमा अघि बढेको प्राधिकरणको दाबी छ ।  हाल निर्माणाधीन घरको सङ्ख्या एक लाख ७४ हजार ६२२ पुगेको छ ।  त्यस्तै, ७३ हजार ६५५ घर पुनःनिर्माण भइसकेका छन् ।  निर्माण सम्पन्न र निर्माणधीन घरको कूल सङ्ख्या २ लाख ४८ हजार २७७ हुन आउँछ ।  यो पहिलो किस्ता लिएका कूल लाभग्राहीको ३८ प्रतिशत हो ।


चार जनाद्वारा रकम फिर्ता

पहिलो किस्ता बुझेर पनि विभिन्न कारणले घर नबनाउने भूकम्प पीडितले रकम फिता गर्न सुरु गरेका छन् ।  तोकिएको स्थानमा निजी आवास बनाउन सुरु नगरेका चार जनाले हालसम्म रकम फिर्ता गरेको सहप्रवक्ता डा. भिष्मकुमार  भुसालले बताउनुभयो ।

प्राधिकरणका अनुसार हालसम्म मकवानपुरका तीन र रामेछापका एक जनाले पहिलो किस्ताको रकम फिर्ता गरेका छन् ।  यो क्रम केही बढ्ने विश्वास पनि प्राधिकरणले गरेको छ ।  रकम फिर्ता गर्नेहरूले सम्बन्धित् जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम बुझाएर लाभग्राहीको लगत कट्टा गराउनुपर्ने भुसालले जानकारी दिनुभयो ।

साउदी अरेबियाद्वारा सहयोग

पुनःनिर्माणमा साउदी अरेबियाले विकासका लागि साउदी कोषमार्फत् करिब तीन अर्ब नेपाली रुपियाँ (३० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्न रुचि देखाएको छ  ।

साउदी सरकारको विकासका लागि साउदी कोषका प्रतिनिधि र पुनःनिर्माण प्राधिकरणका अधिकारीबीच बिहीबार प्राधिकरणमा भएको छलफलमा उक्त सममmदारी भएको हो ।  प्राधिकरणका सहप्रवक्ता डा. भुसालले उक्त रकम निजी आवास, विद्यालय तथा स्वास्थ्य संस्थाको पुनःनिर्माणमा खर्च गर्ने प्रस्तावसहित प्राधिकरणले ऋण सम्झौता वार्ताका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाइसकिएको जानकारी दिनुभयो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved