राजधानीमा क्रिसमस इभको रमझम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 24, 2017 | 07:01:53 AM मा प्रकाशित

laxmi  sunrise bank

दरबारमार्गका रेस्टुरेन्ट व्यवसायी रोहित किङरिङ मगर ‘क्रिसमस–इभ’ मनाउन निकै मिहिनेतसाथ लागिपर्नुभएको छ । उहाँ होटल याक एन्ड यती लाइनमा रहेको रेस्टुरेन्ट तथा लाउन्ज बार ‘किङरिङ’को सजिसजाउमा व्यस्त हुनुहुन्छ ।


इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस’ नेपालमा पनि धुमधामका साथ मनाउन थालिएकाले आफूले पनि ग्राहक आकर्षित गर्न रेस्टुरेन्ट सजाएको उहाँले बताउनुभयो । विशेषगरी क्रिसमस मनोरञ्जन गरी मनाइने भएकाले पर्यटकीय स्थल, होटल, रेस्टुरेन्ट, सपिङ मल र डिस्कोहरू झकिझकाउ गरिएको पर्यटन व्यवसायी बताउँछन् ।

ठमेल नरसिंह चोकस्थित इबिजा लाउन्ज बारका सञ्चालक दावाङ तामाङ पनि रेस्टुरेन्टलाई दुलहीझैँ सजाइरहनुभएको छ । क्रिसमस–इभ अर्थात् डिसेम्बर २५ तारिखको अघिल्लो रात्रिकालीन मनोरञ्जनका लागि ग्राहकलाई आकर्षित पार्न यतिको दुःख गर्नुपरेको हो– उहाँले भन्नुभयो ।

उपत्यकाका मुख्य पर्यटकीयस्थल, विभिन्न स्टार होटल, सपिङ मल, पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा ‘मेरी क्रिसमस–ईभ’को व्यापक तयारी देखिएको छ । होटल, रेस्टुरेन्ट तथा सपिङ मलको गेटदेखि नै रङ्गीचङ्गी बेलुन र ध्वजापताकासहित प्रवेशद्वार निर्माण गरिएका छन् ।

त्यस्तै गेटपाले तथा सुरक्षा गार्डहरूलाई सान्टा क्लाउजको पोसाक पहिरन लगाई आकर्षक र आत्मीय स्वागत सत्कारसँगै बनावटी क्रिसमस ट्रीमा सेताम्मे कपास थुपारेर हिँउको थुप्रो राखी चर्चित कलाकारको साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले मेरी क्रिसमसलाई स्वागत गर्न अघिल्लो साँझ ठमेलमा सामान्य किसिमको सङ्गीत कार्यक्रम राखिएको जानकारी दिनुभयो । सार्वजनिक सवारी साधनमुक्त ठमेलको सडक चोकमा सान्टा क्लाउजको पोसाकमा सजिएकाहरूले सर्वसाधारणलाई स्वागत गर्नेछन् ।

ठमेल परिषद्ले मेरी क्रिसमस–इभ (आइतबार साँझ)को दिन बढीभन्दा बढी ग्राहक ठमेल आमन्त्रण गर्न तीन दिनअघि नै मेरी क्रिसमसको प्रचारप्रसार अभियान सञ्चालन गरेको थियो । होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले आफ्नै किसिमका छुट्टाछुट्टै मनोरञ्जन कार्यक्रम आयोजना गरेका छन् ।

तर, परिषद्ले नयाँ वर्ष, २०१८ मा लाइभ कन्सर्ट आयोजन गर्ने जनाएको छ । क्रिसमस इभका लागि अधिकांश होटल, सपिङ मल, रेस्टुरेन्ट, बार तथा लाउन्ज बारहरूले चर्चित गायक तथा गायिकाहरू आमन्त्रण गरी साङ्गीतिक महोत्सव आयोजना गरिएको जनाएका छन् ।christmas

दरबारमार्ग क्षेत्रका पनि अधिकांश होटल तथा रेस्टुरेन्टमा क्रिसमस ट्रीका अतिरिक्त आकर्षक प्रवेशद्वार निर्माण गरी ग्राहकलाई मनोरञ्जन दिन व्यवसायीहरू सक्रिय देखिन्छन् । राजधानीका काठमाडौँ मल, सीटीसी सेन्टर, राइजिङ मललगायतका सपिङ सेन्टरहरूले प्रत्यक्ष साङ्गीतिक कार्यक्रमका अतिरिक्त ग्राहकलाई छुटको समेत व्यवस्था गरेका छन् ।

त्यस्तै ठमेलका इविजा, फेसेज, हार्ड–रक, फायर, रेगी, ओएमजी, पर्पलएज, फूलमुन, सीएनआईलगायतका दुई दर्जन रेस्टुरेन्ट तथा नाइट क्लब र लाउन्ज बारले रातभर डीजे म्युजिकसँगै गीत सङ्गीत कार्यक्रम आयोजना गरेका छन् ।

इसाई धर्मका प्रवर्तक भगवान यशुको जन्मोत्सव पारेर यो पर्व मनाउने गरिन्छ । नेपाल सरकारले पनि २०६३ सालबाट मुलुक धर्मनिरपेक्ष भएसँगै क्रिसमसका दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

यसैबीच महानगरीय प्रहरी कार्यालयले क्रिसमस मनाउने क्रममा सर्वसाधारणको भीड लाग्ने उपत्यकाका सबै स्थानमा सुरक्षा व्यवस्था भरपर्दो बनाउन निर्देशन दिएको छ । पर्यटकीय क्षेत्र, होटल तथा सपिङ मल, डिस्को तथा नाइट क्लबमा कडा सुरक्षा निगरानी राख्न निर्देशन दिएको हो ।

त्यस्तै ठमेल र दरबारमार्ग क्षेत्रको सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षककै नेतृत्वमा सुरक्षाकर्मी तैनाथ हुने जनाइएको छ । महानगरीय प्रहरी वृत्त लैनचोर र दरबारमार्गले क्रिसमस इभका लागि आवश्यक सुरक्षा तयारी बलियो र भरपर्दो बनाइएको जानकारी दिएको छ ।

प्रहरी वृत्त लैनचौरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले भन्नुभयो– क्रिसमस इभमा कुटपिट, झैझगडा, आगलागी, चोरी, डकैती र लुटपाट मात्र नभई अन्तर्राष्ट्रिय आपराधिक समूहको समेत घुसपैठ हुने भएकाले उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गोरखापत्रमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved