गुण्डाको कारण प्रहरीमा द्वन्द्व , हत्याकाण्डका अभियुक्तका माल सामान प्रहरी आफै प्रयोग गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2018 | 08:59:56 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी भूमिमा लुकेर नेपालमा शृंखलाबद्ध व्यक्ति हत्या गर्ने समूहका नाइके पक्राउ पर्न नसक्दा आम जनमानसमा त्रासको वातावरण सृजना भएको छ । गतवर्ष रुपन्देहीको देवदहमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको दिनदहाडै हत्या भयो । केही महिनाअगाडि काठमाडौंको गौरीघाटमा गुण्डानाइके दाबा लामामाथि गोली प्रहार भयो । मिस फायरका कारण दाबा घाइते मात्रै भए । गत असोज २३ गते काठमाडौंको शान्तिनगरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ज्यान गयो । यस्तै, प्रकृतिको घटना गत शुक्रबार रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा घट्न पुग्यो । काठ मिल सञ्चालन गर्दै आएका बलु (बसन्त) पौडेल अज्ञात समूहको शिकार भए । शुक्रबार अपराह्न आफ्नै काठ मिलमा बसिरहेको बेला मोटरसाइकलमा आएका दुई व्यक्तिले पौडेललाई गोली हानेर भागे । छातीमा गोली लागेका उनलाई अस्पताल पु¥याउँदै गर्दा बाटोमै मृत्यु भयो ।  

चौध महिनाको अवधिमा भएका यी तीनवटै घटनामा रुपन्देही देवदहकै स्थानीय मनोज पुन र काठमाडौं बाफलका गुण्डा नाइके समिरमान बस्नेतको समूहको संलग्नता देखिएको प्रहरी दाबी रहँदै आएको छ । गौचन हत्याका मुख्य योजनाकार बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चितवनबाट पक्राउ गरेको दाबी गर्दै अहिले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । बस्नेत अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् भने पुन फरार छन् । सीआईबीले मङ्सिर १६ गते पत्रकार सम्मेलन गरेर बस्नेतलाई चितवनबाट पक्राउ गरेको दाबी गरेता पनि त्यसपछिका घटनाक्रम र अनुसन्धानको प्रकृति हेर्दा केही न केही गडबडी रहेको सहजै बुझ्न सकिन्छ ।

बस्नेतलाई पक्राउ गर्दा उनको साथबाट प्रहरीले केही पनि बरामद नभएको दाबी गरेको छ । ‘सामान्य अभियुक्त पक्राउ गर्दा साथमा भएको मोबाइल गरगहनासमेत बरामद गर्ने प्रहरीले बस्नेतको साथमा केही पनि भेटेन होला र ? इन्टरनेट कलमार्फत व्यापारी धम्क्याउँदै फिरौती लिन बस्नेतले प्रयोग गर्ने मोबाइल, ल्यापटप र असुलेको रकम बरामद किन गरिएन ? अहिले सीआईबीको अगाडि गम्भीर प्रश्नचिह्न खडा भएको छ । जटिल र गहन किसिमका अपराधको सफल अनुसन्धान गर्दै आएको सीआईबी बस्नेत काण्डमा कहाँनेर चुक्यो ? समीक्षा हुनु जरुरी देखिन्छ ।

असोज २३ मा गौचनको हत्यापछि प्रहरी मुख्यालयले डीआईजी गणेश केसीको संयोजकत्वमा समिति गठन गरेर अनुसन्धान सुरु गरेको थियो । समितिमा महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डीएसपी अजय केसी, विशेष ब्युरोका एसएसपी शेरबहादुर बस्नेत सदस्य छन् भने सीआईबीको तर्फबाट डीएसपी अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी पनि उक्त समितिमा आबद्ध छन् । अपराध अनुसन्धानमा अब्बल मानिने डीएसपी सोमेन्द्रसिंह राठौर र रुगम कुँवर पनि महानगरीय प्रहरी कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्दै अनुसन्धानमा खटिरहेका छन् । समितिका सबैले अनेक तरिका अपनाउँदै संकलन गरेको सूचनाकै आधारमा सीआईबीका सई रमेश बजगाईंले भारतीय प्रहरीको सहयोगमा बस्नेतलाई नेपाल ल्याएको बजारमा चर्चा छ ।

केहीको दाबी छ, ‘बस्नेतलाई उनका आफन्त पर्ने एक डीएसपीको अनुरोधमा आत्मसमर्पण गराइएको हो, इन्काउन्टरबाट बचाउनकै लागि पक्राउको नाटक रचिएको हो ।’ बस्नेतको पक्राउपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा घटेका घटनाक्रमले बाहिर गरिएका आशंकालाई थप मलजल गरेको छ । बस्नेतलाई भारतबाट नेपाल पु¥याएर सीआईबीमा पत्रकार सम्मेलन आयोजना गर्दासम्म छानबिन समितिका संयोजक डीआईजी केसी नै बेखबर थिए । छानबिन समितिका सदस्यहरुले पनि बस्नेत पक्राउको खबर सञ्चारमाध्यमहरुमा आएका समाचार हेरेर थाहा पाए । सीआईबीले बस्नेतलाई सार्वजनिक गर्दा उनको साथबाट बरामद सामानको विषयमा केही बोलेन । त्यसबाट प्रष्ट बुझ्न सकिन्छ, समीरको साथमा केही थिएन ।   

 सीआईबीले पत्रकार सम्मेलनपछि बस्नेतलाई छानबिन समितिको जिम्मा लगाउने आशामा थिए डीआईजी गणेश केसी । बस्नेतकै बयानबाट मनोज पुन, लोप्साङ लामालगायतका अभियुक्तलाई तान्न सकिने आशामा रहेको समिति त्यतिबेला झस्कियो, जतिबेला अदालतबाट म्याद थप गरेर बस्नेतलाई पुनः सीआईबी लगियो । छानबिन समितिको काममा हस्तक्षेप गर्दै आफूखुशी अनुसन्धान थालेपछि डीआईजी केसी र सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीबीच द्वन्द्व चर्कियो । जघन्य हत्याका आरोपी बस्नेतलाई ससुराली बसेजसरी सुविधा दिएर २४ दिनसम्म सीआईबीमै राखियो । त्यो २४ दिनमा बस्नेतले हिरासतको चिसो सहनुपरेन । उनलाई सुत्नको लागि सीआईबीमा छुट्टै कोठाको व्यवस्था गरिएको थियो । दिनभर खुल्ला ठाउँमा घाम ताप्न सुविधा दिइएको थियो । दिनभर बस्नेतको श्रीमती उनीसँगै हुन्थिन् । सीआईबीमै यस्तै यस्तै चलिरहँदा डीआईजी केसी नेतृत्वको छानबिन समितिले अनुसन्धानको क्रममा पुन लुकेको स्थान पत्ता लगाएपछि डीएसपी राठौर, कुँवर र इन्स्पेक्टर अधिकारीलाई भारत पठाउन प्रहरी मुख्यालयसँग सहमति माग्यो । 

समितिले सहमति मागेको थाहा पाएपछि डीआईजी कार्कीले भारत जाने तयारी थालेका दुई डीएसपीलाई फोन गरेर हप्काए । ‘तिमीहरुलाई बढ्ता हुनुपर्ने ? सीआईबीले गर्छ भनेपछि तिमीहरु किन बढ्ता जान्ने भएको ? तिमीहरुले हेर्ने नेपालको पाटो हो । इन्डियाको पाटो सीआईबीले हेर्छ,’ डीआईजी कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  

त्यसैबीचमा केही सञ्चारमाध्यममार्फत बस्नेतलाई सीआईबीले दिएको गैरकानुनी सुविधाको विषयमा समाचारहरु बाहिरिए । समाचार हेरेपछि पुनः उनै दुई डीएसपीलाई कार्कीले गाली गरे । ‘समाचार लेखाउँदै हिँड्ने ? तीन महिनापछि घर जाने डीआईजीको पछि लागेर नहिँड । अन्यथा राम्रो हुँदैन,’ कार्कीले हप्काउँदै गर्दाको भनाइ उद्धृत गर्दै कार्कीनिकट सीआईबीका एक डीएसपीले भने । छानबिन समिति र सीआईबीका निर्देशकबीचको द्वन्द्व चर्किँदै जाँदा शुक्रबार रुपन्देहीमा घटेको घटनाको अनुसन्धानमा प्रहरी जुटेको छ ।            

 रुपन्देही घटनाको जिम्मेवारी पनि उनै मनोज पुनले लिएका छन् । जसरी यसअघिका घटनामा पनि उनैले जिम्मा लिने गर्थे । दिनदहाडै हत्याका घटना दोहोरिन थालेपछि प्रहरीको सुरक्षा व्यवस्थाप्रति आपत्ति जनाउँदै रुपन्देहीका जनता सडकमा ओर्लिएका छन् । दुई दिनदेखिको रुपन्देही बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । प्रहरीको लागि मनोज पुनलाई पक्राउ गर्नु ठूलो चुनौती छ । तर, प्रहरीभित्रको आन्तरिक कलह र कामको जस लिने प्रतिस्पर्धाले अनुसन्धानमा बाधा उत्पन्न भएको यसअघिका घटनाले प्रष्ट पारिसकेको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पुन अहिले भारतमै लुकेर बसेका छन् ।

छानबिन समितिले पुन बसेको स्थान पत्ता लगाइसके पनि समितिका सदस्यहरुलाई भारत जान प्रहरी मुख्यालयले अनुमति नदिएको स्रोत बताउँछ । उच्च स्रोतका अनुसार सीआईबीका निर्देशक डीआईजी कार्की मनोज पुनको पक्राउलाई आफ्नो करियरसँग जोड्न चाहन्छन् । पुनलाई समातेर त्यसैको जसको आधारमा नेपाल प्रहरीको भावी महानिरीक्षक बन्ने कार्कीको सपनाले अनुसन्धानमा अप्ठ्यारो भएको समितिमा चर्चा छ ।   

‘वरीयताको तेस्रो नम्बरमा रहेका कार्की यही घटनाको अनुसन्धानको जस लिएर नेपाल प्रहरीको २६औं महानिरीक्षक बन्ने सपना नदेखेर छानबिन समितिलाई निर्धक्क काम गर्न दिएको भए एक महिना अगाडि पुन समातिसकेका हुन्थे,’ सीआईबी स्रोतले भन्यो । सकेसम्म आफैंले गर्ने नसके अरुलाई पनि गर्न नदिने कार्कीको रणनीतिका कारण समस्या उत्पन्न भएको सीआईबीमा चर्चा छ ।  

गौचन हत्याकाण्डमा अनुसन्धान गर्न गठित समितिलाई नबुझाई बस्नेतलाई सीआईबीमा राखेको भन्दै आलोचना भएपछि दुई हप्ता अगाडिमात्रै बस्नेतलाई महानगरीय प्रहरी परिसर टेकुको जिम्मा लगाइएको थियो । २४ दिन सीआईबीमा राख्दा बस्नेतलाई सामान्य सोधपुछसम्म नगरिएको सीआईबी स्रोत बताउँछ । ‘बस्नेतलाई कारबाही त पर जाओस् मिसिल मिलाएर मुद्दा कमजोर बनाउने रणनीति प्रष्ट देखिन्थ्यो,’ सीआईबीकै एक अधिकृतले भने ।    

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रियपात्र मानिने डीआईजी कार्की अपराध अनुसन्धानमा राम्रै दख्खल राख्ने अधिकृत हुन् । तर, भावी महानिरीक्षक बन्नको लागि गलत नियत राखेपछि विवादमा तानिएका छन् । एसएसपीको वरीयतामा १७ नम्बरमा रहेका उनी गत साउनको बढुवामा तेस्रो नम्बरमा पर्न सफल भएका थिए । तेस्रो नम्बरमा आएदेखि आफूलाई भावी महानिरीक्षक दाबी गर्दै आएका छन् । प्रहरी संगठनमा लामो समय बिताएका र महानिरीक्षकका लागि योग्य भएका जुनसुकै प्रहरी अधिकारीलाई पनि आफ्नो संगठनको नेतृत्व गर्ने चाहना हुन्छ ।

तर, भावी नेतृत्वका लागि नै महानिरीक्षक प्रकाश अर्यालको निकटताको फाइदा उठाउँदै गलत नियत राखेर अधिकारसम्पन्न समितिको काममा हस्तक्षेप गर्दै अनुसन्धानमा बाधा पर्ने गरी काम गर्नु गलत हुने जानकारहरु बताउँछन् । कार्कीले यतिसम्म गलत नियत राखे कि अनुसन्धानमा खटिएका एक दक्ष डीएसपीको रातारात काज सरुवा गराउन उनी सफल भए । कार्कीकै अनुरोधमा प्रहरी मुख्यालयले डीएसपी रुगम कुँवरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा काज सरुवा गरेको प्रहरी मुख्यालयमा चर्चा छ । दुर्गा तिवारी र शरद गौचन हत्याकाण्डका अन्य आरोपित नजिक पुगिसकेका कुँवरलाई महानगरीय प्रहरी कार्यालयबाट लखटेर उदयपुर पु¥याउन कार्की सफल भएका छन् । 

मनोज पुनलाई आफैं पक्राउ गर्ने र त्यसैबाट चर्चा कमाउने नियत राखेका कार्कीले चर्चाकै लागी अपराध महाशाखामा हुँदा तत्कालीन समयमा काठमाडौं परिसरले गरेको दिनेश अधिकारी ‘चरी’ हत्याकाण्डसमेत आफूले जिम्मा लिएका थिए । काठमाडौं प्रहरीका तत्कालीन एसएसपी उत्तम कार्कीलाई प्रभावमा पारेर उनीनिकट परिसरमा कार्यरत एक डीएसपीलाई हातमा लिएर कार्कीले चरीको इन्काउन्टरको नाममा हत्या गराएका थिए  । प्रहरीले पछाडीबाट चलाएको भनेको गोली  चरीको छातीमा कसरी लाग्यो ? चरीको हातमा राखिएको पेस्तोलबाटै मृतकको छातीमा कसरी गोली लाग्यो ? यो अनुसन्धानको विषय बन्नुपर्ने हो । तर, त्यसबेला गुण्डाको पछाडि कोही नलागेपछि कार्की जोगिए  । 

पछिल्लो समय प्रहरी भित्र कार्कीले गुट उपगुट सिर्जना गर्दै आएको आरोप समेत लाग्न थालेको छ  । पूर्ब महानिरीक्षक उर्पेन्द्रकान्त अर्याल र अख्तियारबाट अयोग्यता बिल्ला भिरेर बाहिरिएका लोकमानसिंह कार्कीनिकट रहेका डीआईजी कार्की अहिले प्रकाश अर्यालझैं महानिरीक्षक बन्ने सपना देख्न थालेका छन्  । प्रहरी संगठनमा कहलिएका डीआईजी रमेश खरेल र सर्वेन्द्र खनाललाई जुधाएर उनी महानिरीक्षक बन्ने दाउमा रहेको उनीनिकट एक अधिकृतले बताए ।

यस खेलमा कार्कीलाई पूर्वमहानिरीक्षक अर्याल, विवादित ठेकेदार दीपक भट्ट र केही ठेकेदारको समूह राजनीतिक माहोल मिलाउन लागि परेका छन् ।  डीआईजी कार्की स्वयं पनि भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीको निवासमा साताको एक पटक पुगेर चाकडी बजाउने गर्न थालेका छन् । नवराज सिलवाललाई फसाउने डिजाइनर कार्की पनि थाहा पाएपछि ओलीले उनलाई एआईजी पनि नबनाउने रणनीतिमा लागेको ओलीनिकट स्रोत बताउँछ ।  

स्रोतका अनुसार सीआईबीले गौचन हत्याकाण्डमा पक्राउ परेका गुण्डानाइके बस्नेतले प्रयोग गर्दै आएको मोबाईल फोन र ल्यापटप सीआईबीकै एक अधिकृतले राखेको र बस्नेतका दुईवटा गाडी कार्कीका विश्वास पात्र मानिने डीएसपी भूपेन्द्र खत्रीले केही महिनादेखि प्रयोग गर्दैै आएका छन् ।

गौचन हत्याकाण्डमा बस्नेत पक्राउ र प्रहरीबीचको आन्तरिक कलहबारे सुशासनन्युजले राखेको जिज्ञासामा डीआईजी कार्कीले आफूलाई यसबारेमा नसोध्न आग्रह गरे । ‘आरोपहरु लागेका हुनसक्छन्, जेजे आरोप छन् लेख्नुहोला । यस विषयमा म केही बताउन चाहदिनँ । प्रहरी अनुसन्धानको बारेमा बताउन प्रहरीका प्रवक्ता छन्, उहाँलाई नै फोन गर्नुहोला,’ कार्कीले भने । सुशासन साप्ताहिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved