नेपाल टेलिकमले भारतीय एकाधिकार इन्टरनेट सञ्जाल तोडियो,चीनसंग जोडियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 08:46:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो ।

नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ ।

दुई वर्षअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फको अप्टिकल फाइबर एक–अर्कामा जोडिएका छन् ।

सम्पूर्ण परीक्षण सफल भएपछि अब व्यावसायिक सञ्चालन गरिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’को औपचारिक उद्घाटन गर्ने टेलिकमले जनाएको छ ।

नेपालको स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिने भएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिने भएको हो । विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुईवटा माध्यम छन् । हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय आबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ । चीनसँग अप्टिकल फाइबरमार्फत जोडिएसँगै अब नेपालले भारतबाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिने प्रवक्ता वैद्यले बताइन् ।

अघिल्लो वर्ष हङकङमा भएको सम्झौता कार्यक्रममा सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका थिए । चीनले हिमालय क्षेत्रमा बिछ्याएको अप्टिकल फाइबरबाट नेपाल र नेपाल हुँदै दक्षिण एसियाली मुलुकसँग आबद्धता हुन चाहेको जनाएको नयाँपत्रिकामा खबर छ । यसका लागि चीनले नेपालसँगको अर्को कुनै एक नाकाबाट समेत इन्टरनेटमा आबद्धता हुन चाहेको टेलिकमका एक अधिकारीले बताए । ‘चीन र भारतबीच सिक्किमबाट इन्टरनेट आबद्धता थियो, तर सुरक्षाका कारण त्यसलाई बन्द गरिएको छ,’ उनले भने, ‘चीनले नेपाल हुँदै भारत र दक्षिण एसियाली मुलुकमा जोडिन चाहेको बताउँदै आएको छ ।’

एसियामा इन्टरनेट डाटा सेन्टरको मुख्य हब सिंगापुर र हङकङलाई मानिन्छ । भारतको दिल्ली र मुम्बई पनि ठूला हब हुन् । हालसम्म नेपालको नेटवर्क भारतको चेन्नई हुँदै सिंगापुर पुग्छ र समुद्रीमार्गबाट अन्तर्राष्ट्रिय सञ्जालमा जोडिन्छ । अब चीनतर्फको नेटवर्क केरुङ, ल्हासा हुँदै हङकङ जोडिनेछ । चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमले जनाएको छ । दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीयसमेत हुने सरोकारवाला बताउँछन् ।

भारतले ०७२ मा लगाएको नाकाबन्दीपछि नेपालले इन्टरनेट व्यान्डविथका लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धतामा जोडिन निर्देशन दिएको थियो । संसद् र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबर पुर्‍याएर चाइना टेलिकम ग्लोबलको अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान–प्रदानका लागि औपचारिक सम्झौता भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved