कर छल्ने र बक्यौता राख्नेलाई कारबाहीको तयारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 07:47:28 AM मा प्रकाशित

laxmi  sunrise bank

ठूला करदाता कार्यालयले कर रकम बक्यौता राख्ने व्यवसायीहरूलाई कारबाही गर्ने भएको छ । लक्ष्यअनुसार कर संकलनमा आक्रामक बनेको ठूला करदाता कार्यालयले कर रकम बक्यौता राख्ने करदातालाई ताकेता गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्ने तयारी गरेको हो ।

ठूला करदाता कार्यालयले कर रकम बक्यौता राख्ने करदातालाई रकम दाखिला गर्न विभिन्न मितिमा पत्रिकामा सूचना प्रकाशित गरेर आग्रह गरिसकेको छ । कर तिर्न अटेर गर्ने, कर छल्ने र नतिर्ने करदातालाई अब कारबाहीको तयारी भइरहेको कार्यालयले जनाएको छ ।

सुरुमा निर्माण व्यवसायी तथा व्यावसायिक फर्मको लिस्ट तयार भइरहेको ठूला करदाता कार्यालय स्रोतको दाबी छ । तर, प्रमुख कर प्रशासक गंगाराम गेलालले भने कर उठाउने प्रक्रिया चलिरहेको बताए । उनले भने, ‘कर छल्नेउपर हुने कारबाहीमा कुनै कसर बाँकी हुँदैन ।’

कार्यालय स्रोतका अनुसार केही फर्मले मासिक बुझाउनुपर्ने कर विवरणसमेत बुझाएका छैनन् । नाम चलेका करिब दुई दर्जन निर्माण व्यवसायीहरूले मंसिर महिनाको मूल्य अभिवृद्धि करको विवरणसमेत नबुझाएको कार्यालय स्रोतले जनाएको छ ।

सरकारले संघीयता कार्यान्वयनमा जोड दिएसँगै कर संकलन गर्न कर प्रशासनमा दबाब बढ्दै गएको छ । यस्तो अवस्थामा मसिंर महिनासम्मको तोकिएको राजस्व लक्ष्य हासिल नभएपछि ठूला करदाता कार्यालय प्रशासन आक्रामक भएको हो ।

कर रकम बक्यौता राख्ने करदाताहरूलाई रकम दाखिला गर्न ताकेता गर्ने, विवरण नबुझाएका करदाताहरूलाई विवरण बुझाउन ताकेता गर्नेजस्ता तीव्रताका साथ भइरहेको कर प्रशासक गेलालले बताए ।

स्टक लुकाएका र न्यून स्टक भएका व्यवसायी, लामो समयदेखि क्रेडिटमा रहेका, लामो समयदेखि घाटाको विवरण पेस गरेका, अन्डर इन्भ्वाइसिङ गरी आयात गर्ने र आफ्नै निकायहरूमा खरिद–बिक्री देखाई कर छली गर्ने करदाताहरूको पहिचान भइसकेको स्रोतले बताएको छ ।

यस्ता कर छली गर्ने, कर दाखिला नगर्ने वा बक्यौता राख्नेको कारोबार रोक्का गर्ने, घरजग्गा र अचल सम्पत्ति पहिचान र रोक्का गर्ने, बैंक खाता तथा निकासी–पैठारी रोक्का गर्ने, ठेक्कामा काम दिने निकायबाटै असुल्ने, व्यवसाय नवीकरण रोक्का गर्ने तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा कालो सूचीमा राख्न अनुरोध गर्नेसम्मका प्रक्रिया सुरु भएको स्रोतको दाबी छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved