
 2mb (1).gif)
सर्वोच्चको मानहानी मुद्दामा अनसन स्थलबाट प्रा.डा. गोविन्द केसी पक्राउ परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा छन्। अहिले प्रधानन्यायाधीश पराजुलीको नागरिकताको विषय बेचिलो बन्दै गएको छ। देशभर चर्चा भइरहेका बेला यसको असर प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँमा पनि पर्न थालेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा उनको नागरिकताबारे बुझ्नका लागि नियमित रुपमा सञ्चारकर्मीको फोन आउने गरेको छ। शुक्रबारबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले पनि यसबारे प्रश्नहरु सामना गर्नुपरेको छ। ‘उहाँहरुले जिज्ञासा राख्नुभएको छ,’ उनले भने।
प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँ र जन्मघर ऋषिङ गाउँपालिका १ काहुँशिवपुर हो। पराजुलीले तनहुँ प्रशासनबाटै नागरिकताको प्रमाणपत्र लिएको प्रशासनका एक अधिकारीले बताए। तर, सुरुमा वितरित नागरिकतामा जन्म मिति भने उल्लेख नभएको प्रशासन श्रोतको भनाइ छ।
‘त्यतिबेलाका प्रायः नागरिकतामा जन्म साल मात्र उल्लेख हुन्थ्यो,’ पराजुलीको नागरिकता प्रकरण अहिले विवादमा आएजस्तो ठूलो नभएको जिकिर गर्दै ती अधिकारीले भने,‘पछि उहाँले महिना र साल उल्लेख गरी काठमाडौंं प्रशासनबाट प्रतिलिपि निकाल्नुभएको देखिन्छ।’ उनले सुरुको नागरिकतामा जन्म महिना र मिति उल्लेख नभएकाले पराजुलीले सेवा प्रयोजनमा पर्नसक्ने असरलाई ध्यानमा राखेर मिति उल्लेख गरेको हुनसक्ने बताए। ‘पहिलेको र अहिलेको मितिमा फरक पर्यो भन्ने कुरा गलत छ,’ उनले भने।
पराजुलीको सार्वजनिक प्रतिलिपि नागरिकतामा २०१० साल वैशाख १६ गते उल्लेख छ। तर पुरानो नागरिकताको प्रति भने सार्वजनिक भएको छैन। प्रतिलिपिबारे जिज्ञासा राख्दा प्रजिअ शाक्यले संवैधानिक निकायबाट माग भएमा मात्र उपलब्ध गराउन सकिने बताए।
विवेकशिल साझा र नयाँ शक्ति पार्टी नेपालको एक टोलीले प्रजिअ शाक्यलाई भेटेर नागरिकताका बारेमा अनुसन्धानमा सघाउन गरेको आग्रहको जवाफमा उनले भने,‘हामीलाई सम्बन्धित निकायबाट माग भएमा यहाँको विवरण उपलब्ध गराउँछौं।’ नयाँ शक्ति पार्टी का केन्द्रीय परिषद सदस्य सञ्जिव अधिकारीले पराजुलीको दोहोरो नागरिकता र विवादित मितिको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे।
‘यहींबाट नागरिकता वितरण भएकाले सत्यतथ्यमा प्रशासनको सहयोग जरुरी छ,’ उनले भने। विवेकशिल साझा पार्टीका पदम न्यौपानेले पनि चिकित्सक गोविन्द केसीको मागअनुसार पराजुलीको नागरिकतासमेत छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रशासनले सघाउनुपर्ने माग गरे। पवन पौडेलले नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन् ।