किस्ताका लागि रातारात घर: सयौं घरका जग थपिए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 07:18:14 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् ।

दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई समस्या परेको छ । ‘हाम्रोमा गए राति नै ३५ घरका जग बने,’ पकरबासका प्राविधिक नवराज श्रेष्ठले भने । उनले पुस मसान्तका दिन बनेका घरहरू माघ १ गते नापजाँच गरी फर्किएका छन् ।

‘अस्तिसम्मको नापजाँच सकेका थियौं एकै दिन त्यति धेरै घर बनेछन्,’ उनले भने ।

गुन्सीमा पुस मसान्तमा सुरु भएको घर माघ १ गते बिहानसम्म डीपीसी हुँदै थिए । राति कामै नरोकी गुन्सीमा झन्डै २५ घरका जग तयार भएको इन्जिनियर राजकुमार अहिरले बताए । प्राविधिकहरूले पुस मसान्तभन्दापछि बनेका घर ननाप्ने बताएपछि ग्रामीण क्षेत्रमा जग खन्नेदेखि डीपीसीसम्मको काम एकै दिन भ्याउने थुप्रै पीडित भए ।

अघिल्लो दिन जग्गा तयार गर्न डोजर लाँदै गरेको देखेका प्राविधिकहरू भोलिपल्ट डीपीसी हालेको खबरले अचम्भित भएका छन् । ‘एकै रात यति धेरै काम हुने रहेछ×,’ चिसापानीका इन्जिनियर तोपनारायण पौडेलले भने, ‘पहिलेदेखि यस्तो चेतावनी दिएको भए पुनर्निर्माणको काम यो बेलासम्म सम्पन्न भइसक्ने थियो ।’

जिल्लामा झन्डै २५ प्रतिशतले मात्र जग हालेको भन्दै अधिकांश घर नबनेकाले सरकारले म्याद थप्नेमा पीडितहरू आशावादी थिए । ‘अन्तिम दिनसम्म पनि म्याद थप्ला भन्ने आशा थियो,’ चिसापानीका कृष्णबहादुर श्रेष्ठले भने, ‘रेडियो र टीभीमा समाचार आउला भनेर बसियो तर नआएपछि दोब्बर ज्याला तिरेर रातभरि काम गर्‍यौं । घर निर्माणमा पश्चिमी पहाडबाट आएका डकर्मीहरूले झिपिक्क नसुतेर दोस्रो किस्ता आउने वातावरण बनाइदिए ।’

उनीजस्तै प्राधिकरणले दोस्रो किस्ता लिने समय थप्ला भनेर आशामा बसेका पीडितहरू भने अझै अन्योलमा छन् । ‘डकर्मी अभावमा चाहेर पनि घर बनाउन पाइएन,’ मन्थलीका शमशेर माझी भन्छन्, ‘अझै पनि थपिएला भन्ने आशामा छौं । म्याद थपिएन भने हाम्रो बास कटेरामै हो ।’ जिल्लामा काठ र पानी अभावले घर निर्माण गर्न नसकेका परिवार पनि उत्तिकै छन् । जिल्लाका दक्षिणी भेगका बासिन्दालाई खानेपानी जुटाउनै धौधौ छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved