शशांक, शेखर र सुजाताको संकल्प : कोइराला परिवारको विरासत फर्काउने अठोट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 05:17:15 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच मंगलबार भएको भेटमा पार्टीमा पुनः कोइराला परिवारको शक्ति फर्काउने विषयमा कुराकानी भएको थियो ।

के–के भयो मन्डिखाटारमा ?

गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकसाथ पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेका तीन नेताले सात महिनापछि अब सशक्त ढंगले पार्टीमा प्रस्तुत हुने सहमति गरेका छन् । मंगलबार गिरिजापुत्री सुजाताको मण्डिखाटारस्थित निवासमा शशांक र शेखर कोइरालाले खानासहित तीन घन्टा छलफल गरेका थिए ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले व्यहोर्नुपरेको नमिठो हारको समीक्षा र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनेबारे कुराकानी भएको थियो । बिहीबारका लागि चुनावी समीक्षासहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएपछि भएको कोइराला परिवारका तीन नेताको भेटलाई महत्वका साथ हेरिएको छ ।

झन्डै दुई वर्षअघि सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस नेतृत्व कोइराला परिवारबाट शेरबहादुर देउवाको हातमा पुगेको थियो । महामन्त्रीमा बीपीपुत्र शशांक निर्वाचित भएका थिए । तर, त्यसयताका निर्वाचनमा कांग्रेस नेतृत्वकै कारण कमजोर भएको र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेको तीनै नेताको निष्कर्ष छ ।

सुजाता भन्छिन्– हामीलाई कांग्रेसको चिन्ता छ

कांग्रेसनेतृ सुजाता कोइरालाले निर्वाचनपछि पार्टी कमजोर बन्दा आफूहरूलाई चिन्ता भएको भन्दै पुरानै साख र छवि फर्काउन निरन्तर छलफल गरेको जानकारी दिइन् । ‘निर्वाचनपछि कांग्रेसको संगठन कमजोर भएको देखियो । गुट, उपगुट र झगडाको राजनीतिले हामी कमजोर भएका छौँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘अब सधैँ यसैगरी कांग्रेस कमजोर रूपमा चल्न सक्दैन । कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन हामीले छलफललाई निरन्तरता दिएका हाैँ ।’ तीनवटै निर्वाचनमा पार्टीले अस्वाभाविक हार व्यहोरेको भन्दै हारको समीक्षा गर्दै कारण खोज्ने र समाधानको उपाय पत्ता लगाउन आफूहरू केन्द्रित भएको उनको भनाइ छ ।

झुन्डलाई एकत्रित गर्ने

कोइराला परिवारका तीन नेताले कांग्रेसमा झाँगिँदो गुटका झुन्डझुन्डलाई एउटै कित्तामा उभ्याउन भूमिका खेल्ने निर्णय गरेका छन् । ‘पार्टी संस्थागत ढंगले चल्न सकेन, नेतृत्व कमजोर भयो । जसको परिणाम राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कमजोर हुनुले देखाएको छ,’ नेता शेखर कोइरालाको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘कांग्रेसको अन्तर्राष्ट्रिय छवि किन बिग्रियो ? कांग्रेसले विचार गर्नुपर्छ । यसका लागि बलियो कांग्रेस चाहिन्छ । अब झुन्डझुन्डलाई एउटै र पुरानोजस्तो एउटै कित्तामा उभ्याउन तीनजनाले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’

नेता शेखर भ्रातृ संगठनका अराजकताको समस्या पहिचान गरी समाधान लाग्नुपर्ने पक्षमा छन् । तर, पार्टी हारबारे जान्न र बुझ्न कारण खोज्नुपर्ने उनको भनाइ छ । ‘पार्टीमा कमजोरी भएका छन्, तर यसको कारण खोज्न जरुरी छ,’ शेखर भन्छन्, ‘कसैलाई आरोप नलगाई कसबाट गल्ती भयो ? समीक्षा हुनुपर्छ ।’

अर्को महिना शेखरकोमा

अर्को महिना तीन नेता शेखरनिवास महाराजगन्जमा जम्मा हुँदै छन् । नेतृ सुजाताले अब शेखर कोइरालानिवासमा छलफल हुने जानकारी दिइन् । ‘हामी पालैपालो छलफल गर्दै छौँ । शशांकको पछि मैले गरंँ, अब शेखरदाकोमा छलफल राख्नुपर्छ भनेर मैैले नै प्रस्ताव गरेकी छु,’ उनले भनिन् ।

तर, नेतृत्वमा प्रवेश भएन

तीन नेता पार्टीमा आफ्नो परिवारको वर्चस्व गुमेको र कांग्रेस कमजोर भएपछि आफूहरू पुनः मिलेर अघि बढ्नुपर्ने साझा सहमतिमा पुगेका छन् । तर, १४औँ महाधिवेशनसम्म कसले नेतृत्व गरेर जाने भन्नेमा टुंगोमा पुगेका छैनन् । अहिले नै नेतृत्वमा दाबेदार देखिँदा आफ्नो पक्षका नेता भड्किन सक्ने भएकाले उनीहरूले कोइरालाहरूको तर्फबाट नेतृत्व गर्ने व्यक्ति तत्काल घोषणा गरेर नजाने नीति लिएका छन् । ‘तीनमध्ये जो हुने हो, सहमतिबाटै हुन्छ, तर अहिले कसले नेतृत्व गर्ने भन्ने टुंगो लागेको छैन,’ शेखरका स्वकीय सचिव थपलिया भन्छन्, ‘जसले नेतृत्व गरे पनि सहमतिबाटै हुन्छ ।’

यसकारण सहज छैन कोइरालाहरूलाई आफैँ अघि बढ्न

कांग्रेसमा कोइराला विरासत फर्काउन शशांक, सुजाता र शेखरलाई त्यति सहज भने हुनेछैन । नेता रामचन्द्र पौडेलदेखि अरू प्रभावशाली नेताको झुन्डलाई विश्वासमा लिने र मिलाउनुपर्ने बाध्यतामा उनीहरू छन् । प्रकाशमान सिंह, डा. रामशरण महत, असन्तुष्ट युवा नेताहरूलाई कसरी मिलाएर लैजाने भन्ने चुनौतीपूर्ण छ । पहिले आफ्नै गुटमा रहे पनि १३औँ महाधिवेशनबाट देउवातिर सरेका अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, चन्द्र भण्डारी, फरमुल्लाह मन्सुरजस्ता नेतालाई पनि

आफ्नो पक्षमा ल्याउनुपर्ने अवस्था छ

पछिल्लो केही दिनयता पौडेल, प्रकाशमान, सिटौला र केसीसहितका नेताहरू संवादमा छन् । यी नेताहरूले कोइरालाविरुद्ध अर्को समूह खडा गर्दा उनीहरूलाई थप असहजता हुनेछ । नेतृत्वमै दाबी गर्न पहिलो तीनमध्ये एकमा सहमति गर्न र दोस्रो देउवालाई टक्कर दिने गरी उपगुटलाई विश्वासमा लिन पनि कोइरालाहरूलाई सहज छैन । १३औँ महाधिवेशनमा सभापतिमा लडेर नेता पौडेल पराजित भएका थिए । अब नेतृत्वकै लागि पौडेलले दाबी गर्ने विषय बाहिर आएको छैन । तर, नेता प्रकाशमान सिंहले कोइरालानिकटबाहेकका नेताको छुट्टै गुट बनाउने सम्भावना पनि उत्तिकै रहेको चर्चा कांग्रेसमा छ ।

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार

नेता पौडेलदेखि सबै गुटका युवा नेताहरूको आ–आफ्नो तयारी

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । चुनावी समीक्षासहित राष्ट्रिय सभा निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा छलफल गर्न बिहीबार बिहान ११ बालुवाटारमा कांग्रेस बैठक बस्नेछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको निर्वाचन र पार्टीले व्यहोरेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिए । ‘राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने समय नजिक आइसकेको छ । केन्द्रीय समिति बैठकले उम्मेदवार छान्ने मापदण्डसहितका विषयमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिलाई निर्देश गर्छ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रिय सभाका लागि यी विषयमा थोरै समय लाग्छ । तर, बढी समय निर्वाचनमा हारको व्याख्या, चर्चा–परिचर्चा, समीक्षा, गम्भीर आत्मसमीक्षाको चरणमा बैठकमा छलफल हुन्छ ।’

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको अस्वाभाविक हारका विषयमा समीक्षा गर्न कांग्रेसमा केन्द्रीय समिति र महासमिति बैठकको माग हुँदै आएको थियो । नेता रामचन्द्र पौडेलले भेटेरै छिटो केन्द्रीय समिति बैठक बोलाएर निर्वाचनको समीक्षा गर्न सोमबार सभापति देउवासँग आग्रह गरेका थिए । सोही भेटमा देउवाले सम्भव भए बुधबार नभए बिहीबार बैठक बोलाउने आश्वासन दिएका थिए ।

पटक–पटक बस्न सक्ने

निर्वाचनमा बेहोरेको हारबारे गम्भीर समीक्षाका लागि कांग्रेसमा अधिकांश केन्द्रीय सदस्य बोल्ने तयारीमा छन् । नेता रामचन्द्र पौडेल पक्षदेखि सबै गुटमा रहेका युवा नेताले चुनावी समीक्षासहित पार्टीले लिनुपर्ने दिशाबारे लिखित अवधारणा नै प्रस्तुत गर्ने तयारी गरेका छन् । जसका कारण समीक्षा बैठक लामै समय चल्ने देखिएको छ । प्रवक्ता शर्माले बैठक ६–७ दिनसम्म चल्न सक्ने बताए । ‘पटकपटक गरेर होला, एक–दुई दिनको अन्तरमा होला, तर सदस्यले बोल्न चाहेको जति समय दिएर भए पनि समीक्षा बैठक चल्छ ।’

युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डे, उमेशजंग राजमाझीसहतिका नेताले निर्वाचनका समीक्षा हुनुपर्ने माग गर्दै आएका छन् । केन्द्रीय समिति, महासमिति बैठक बोलाएर पार्टी पराजयपछिको रणनीति तय गर्नुपर्ने उनीहरूको भनाइ छ । साथै, प्रभावशाली नेताहरू पनि कांग्रेसमा गम्भीर आत्मसमीक्षा गर्दै पार्टीलाई पुनर्जीवन दिनुपर्ने पक्षमा छन् । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved