उपचारमा पनि पक्षपात: विपन्न नागरिकलाई ८ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहयोग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 06:11:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा आर्थिक सहायता दिने वेला विपन्न नागरिकलाई पनि सोहीअनुसार दिने तयारी सरकारको थियो । तर, स्वास्थ्य मन्त्रालयमै फाइल हराएपछि त्यस्तो व्यवस्था नगरिएको मन्त्रालयको व्यवस्थापन महाशाखाले जनाएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा विपन्न नागरिकलाई पनि १२ प्रकारका रोगमा उपचार सहायता दिन व्यवस्थापन महाशाखाले टिप्पणी उठाएर सचिवसमक्ष पठाएको थियो । एकैपटक विपन्न र राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिका लागि १२ प्रकारका रोगमा सहायता दिने भन्दै आवश्यक टिप्पणी पठाइएको महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए । तर, २३ कात्तिक ०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले गरिब तथा विपन्न वर्गका नागरिकलाई छाडेर सम्पन्न अर्थात् विशिष्टलाई मात्रै दिने हिसाबले १२ प्रकारका रोगमा उपचार सहायता दिने निर्णय गरेको थियो।

विपन्नलाई दिने पैसा भएन

स्वास्थ्य मन्त्रालयले सम्पन्नलाई १२ र गरिबलाई आठ प्रकारका रोगमै सहायता रकम दिन पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा फाइल उठेको बताएको छ । ‘फाइल हराएको होइन । हामीले मन्त्रिपरिषद् बैठकमा लैजाने वेला पटकपटक अर्थ मन्त्रालयमा ताकेता गरेका हौँ । तर, विपन्नलाई दिन बजेट नपुग्ने भएपछि फाइल अगाडि नबढेको हो,’ मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले भने । एकैपटक पठाएको फाइलमा विपन्न नागरिकको विषयमा मन्त्रिपरिषद्ले निर्णय नगर्दा व्यवस्थापन महाशाखा नै अन्योलमा परेको छ । ‘दुवै फाइल एकैपटक पास हुनुपर्ने थियो, तर विपन्नको छाडेर राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको स्वास्थ्य उपचारमा मात्रै निर्णय भएको छ,’ निर्देशक तिंकरीले भने ।

सरकारको यस्तो निर्णयको सरकारी तवरबाटै विरोध हुन थालेको छ । पैसा हुनेले राज्यबाट थप आर्थिक सहायता लिएर सेवा पाइरहेका छन् भने गरिब तथा विपन्न नागरिक उपचार सेवा पाउने आफ्नो नैसर्गिक अधिकारबाट समेत वञ्चित भएका छन् । उपसचिव लामिछानेका अनुसार स्वास्थ्य मन्त्रालयले एक लाख दिँदै आएको उपचार सहायता रकमलाई वृद्धि गरी दुई लाख रुपैयाँ पुर्‍याउने निर्णयमा अर्थ मन्त्रालय तगारो बन्दा विपन्न नागरिकले १२ प्रकारका कडा रोगमा सहायता नपाएका हुन् । स्वास्थ्य मन्त्रालयले अर्थसँग पुनः छलफल गरेर विपन्न नागरिकलाई पनि १२ किसिमका रोगमा औषधि उपचार सहायता रकम दिने उनको भनाइ छ ।

‘कडा’ १२ रोगमा क–कसले पाउँछन् सहायता ?

राष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, वर्तमान तथा पूर्वसभामुख, उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं वर्तमान तथा पूर्वपदाधिकारीहरू

गरिबले आर्थिक सहायता पाउने आठ रोग

मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेडइन्जुरी र सिकलसेल एनिमिया

यी हुन् ‘ठूलाबडा’ले आर्थिक सहायता पाउने १२ रोग

मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेडइन्जुरी, सिकलसेल एनिमिया, थालासेमिया, एप्लास्टिक एनेमिया, कलेजो र मस्तिष्कघात

विपन्नलाई मिर्गौलाको उपचारमा मात्रै सहजता

विशिष्ट व्यक्तिले राज्यबाट १५ लाख रुपैयाँसम्म औषधि उपचार सहायता रकम पाउँछन् भने विपन्न नागरिकले एक लाखसम्म सहायता रकम पाउने गरेका छन् । स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीका अनुसार मिर्गौलाका बिरामीको हकमा भने सरकारले आजीवन डायलाइसिसको व्यवस्था गरेको छ ।

त्यस्तै, मिर्गौला प्रत्यारोपण गरेमा चार लाख अस्पताललाई दिने गरेको छ । ‘५० हजार स्वास्थ्य जाँच गर्दा दिइन्छ,’ तिंकरीले भने, ‘विपन्नले मिर्गौला प्रत्यारोपण गराए साढे पाँच लाखको स्वास्थ्य सेवा पाउनेछन् । अन्यथा आठ प्रकारका रोगमा एक लाखभन्दा बढी दिइएको छैन ।’ नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved