भावी प्रधानमन्त्री जिल्लामा साढे तीन खर्बका योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 06:25:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा दमकमा साढे तीन खर्ब बजेटका योजना भित्रिएका छन् । सरकारले केही योजना निर्माणको तयारी थालेको छ भने केही वैदेशिक सहायतामा निर्माण हुँदैछन् । कतिपय योजना डिपिआर तयार भएर निर्माणको तयारीमा छन् । दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति र औद्योगिक पार्कको डिपिआर तयार भएर काम अघि बढेको छ ।

अघिल्लो निर्वाचनमा जनअपेक्षाअनुरुप काम नगरेको आरोप खेपेका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला ‘ड्रिम प्रोजेक्ट’ भनेर पाँच खर्ब रुपैयाँका योजना ल्याएका थिए । यसपटकको चुनावमा उनका लागि तिनै योजना सहयोगी बने । ती बहुप्रतीक्षित योजना केही प्रारम्भिक अध्ययनमै छन्; केही भने निर्माण भइरहेका छन् । दमकलाई विश्व बौद्ध सर्किटसँग जोेड्ने भनेर विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणको महत्वाकांक्षी योजना ल्याइएको छ । यहीँ तीन खर्बभन्दा बढीको लागतमा तयार हुने औद्योगिक पार्कको समेत तयारी थालिएको छ । त्यसको थालनीको रुपमा ओलीले आफू प्रधानमन्त्री हुँदा केही विदेशी अधिकारीको भ्रमण गराएका थिए । त्यसैअनुरुप निर्माणको काम अघि बढ्ने अधिकारीहरु बताउँछन् ।

ओलीकै चाहना अनुसार उनको गृहनगर दमकसहित उनको निर्वाचन क्षेत्रमा पर्ने गौरादह र कमलसमेतको क्षेत्र समेटिने गरी औद्योगिक पार्कको थालनी गर्न चिनियाँ उच्च अधिकारीले भ्रमण गरिसकेका छन् । तीन खर्ब ३३ अर्बको लागतमा यहाँ मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र बन्नेछ । करिब २२ सय बिघामा निर्माण हुने भनिएको योजनाको कागजी काम आधा जति सकिएको छ । जग्गा प्राप्तिको काम भइरहेको छ।

औद्योगिक पार्क निर्माणका लागि करिब साढे पाँच सय रोपनी ऐलानी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा आइसकेको छ । लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जग्गा प्राप्तिको काम भइरहेको बताएका छन् । उनले उद्योग मन्त्रालयले जग्गा प्राप्ति ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेर सिफारिस गरेपछि त्यसै अनुसार मुआब्जा दिने बताए । ‘जग्गा प्राप्तिका लागि मन्त्रालयसम्म फाइल पुगेको छ,’ बस्नेतले भने, ‘सरकारले निर्णय गरेपछि त्यस क्षेत्रको जग्गाको मोल तोकेर त्यसै अनुसार मुआब्जाको प्रक्रिया अघि बढाइने छ । मुआब्जाका लागि लिमिटेडलाई ३३ करोड रुपैयाँ आएको छ ।’

बस्नेतले जग्गा प्राप्तिका लागि झापामा त्यो रकम खर्च गरिने र त्यसका लागि सरकारले काम अघि बढाउनुपर्ने बताए । आवश्यक जग्गा लिमिटेडका नाममा आएपछि पार्क निर्माणको काम सुरु हुनेछ । स्थानीय भने पार्क बन्नेमा खासै आशावादी छैनन् । ‘जग्गा दलाललाई मात्रै फाइदा पुग्नेछ,’ स्थानीय हरिकृष्ण न्यौपानले भने, ‘जग्गाको अनावश्यक मूल्य बढाइएको छ ।’ उनले काम अघि बढे स्थानीय क्षेत्रलाई समेत फाइदा हुने र रोजगारीका अवसर सिर्जना हुने बताए ।

विपक्षी दलका नेताहरु पनि चुनावका बेला भएको प्र्रचार अनुरुप काम हुन नसकेको बताउँछन् । ‘हरेक चुनावमा नारा बनाइयो,’ कांग्रेसका क्षेत्रीय सभापति ढुण्डी भण्डारीले भने, ‘तर आशा अनुसारको काम अघि बढेको छैन ।’ स्थानीयबासी भने पुस १३ गते चिनियाँ उच्च अधिकारीको भ्रमणपछि पार्क निर्माणको कामले गति लिन्छ भन्ने विश्वासमा छन् । स्थानीय एमाले नेता डिल्ली न्यौपाने चिनियाँ पक्षले निर्माणको काम थाल्ने प्रतिबद्धतापछि काम अघि बढ्ने आशामा छन् । ‘स्थानीयलाई धेरै ठूलो आशा र अपेक्षा छ,’ उनले भने, ‘तत्काल निर्माणको काम सुरु भए विकासले गति लिने थियो ।’

स्थानीय जनप्रतिनिधि पनि यसै वर्षबाट काम सुरु हुनेमा खासै विश्वस्त छैनन् । दमक–१० का वडा अध्यक्ष बोधराज न्यौपानेले एक वर्ष योजना तयारीमा लागे पनि अब भने कामले गति लिने विश्वास बढेको बताउँछन् । ‘यसै वर्षबाट जग्गा अधिग्रहणको काम सुरु हुने बुझेका छौं,’ उनले भने । औद्योगिक पार्कमा सयभन्दा बढी उद्योग रहने छन् । दमक नगरपालिकाले ती उद्योगलाई १० वर्षसम्म कर नलिने निर्णय गरिसकेको छ ।
विश्वकै अग्लो बुद्ध मूर्तिको डिपिआर तयार भएको छ । पाँच सय ४२ फिट अग्लो मूर्तिका लागि जग्गा अधिग्रहण र प्राप्तिको काम भइरहेको छ । १५ अर्ब ७५ करोडको लागतमा निर्माण हुने यो परियोजना दुई सय ६५ बिघामा रहने छ । तर निर्माणस्थलमा सामुदायिक वन भएकाले प्राप्तिमा कठिनाइ भइरहेको छ । वन क्षेत्र संघ, प्रदेशको साझा अधिकारका रुपमा संविधानमा व्याख्या गरिएकाले जग्गा प्राप्तिमा कठिनाइ भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले बताए ।

‘अरु योजना केही निर्माण भइरहेका छन्, केही यसै आर्थिक वर्षभित्र सुरु गर्ने तयारीमा छौं,’ उनले भने, ‘ठूला योजनाका लागि भने सरकारको निर्णय पर्खनुपर्ने अवस्था छ । यसको कामले भने गति लिन सकेको छैन । जग्गा विवादका कारणसमेत बुद्ध मूर्ति निर्माणको काममा खासै प्रति हुन नसकेको हो ।’ लुम्बिनी आएका पर्यटकलाई दमकसम्म ल्याउने गरी मूर्तिसँगै बुद्ध विश्वविद्यालय, पाठशाला र ध्यानकेन्द्र समेत रहने छन् ।दमकमा अहिले एकैसाथ सभागृह, भ्यू टावर पनि निर्माण थालिएका छन् ।

सभागृह निर्माण सुरु भइसकेको छ । भ्यू टावरको डिपिआर तयार भएर यसै महिना ठेक्का लगाउने तयारी छ । सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भइरहेका यी योजना निर्माण सम्पन्न भएपछि नगरपालिकाले स्वामित्व पाउने छ । २८ करोड ४० लाख रुपैयाँकोे लागतको सभागृह निर्माणको काम धमाधम भइरहेको छ । यस्तै एक अर्ब ५५ करोड रुपैयाँको लागतमा निर्माणको तयारी थालिएको भ्यू टावर २० तलाको हुनेछ । ‘यसको प्रारम्भिक अध्ययन सकिसकेका छौं, शिलान्यास भइसकेको छ,’ दाहालले भने, ‘अब एक महिनाभित्र ठेक्का प्रक्रियामा जान्छ ।’

दमक–३ मा निर्माण हुने मूर्तिको डिपिआर तयार भइसकेको छ । नगरपालिकाका अनुसार अब दातासँगको छलफलपपछि त्यसको काम अघि बढ्नेछ । दमक–३ का वडा अध्यक्ष नविन बरालले जग्गा प्राप्तिको काम अघि बढेको बताए । उनले दमकलाई विश्व सामु चिनाउन यो परियोजना सहायक हुने उल्लेख गरे । ‘स्थानीयको सकारात्मक सहयोग छ । उनीहरुले तत्काल काम अघि बढाउन दबाब दिन थालेका छन्,’ उनले भने, ‘जग्गा प्राप्तिसँगै अरु काम अघि बढ्नेछ ।’ एमाले अध्यक्ष ओलीले दमकलाई विश्व बुद्ध सर्किटका रुपमा विकास गर्न योजना ल्याएको दाबी गर्ने गरेका छन् ।

चासोमा औद्योगिक पार्क
दमक–१० मा तीन खर्ब ३३ अर्बको लागत अनुमानमा निर्माण थालिएको औद्योगिक पार्क गौरादह र कमल गाउँपालिकामा समेत पर्नेछ । पार्कका लागि पाँच सय ४२ बिघा प्राप्तिको चरणमा रहेको र अन्य जग्गाको मुआब्जाका लागि ३३ करोड रुपैयाँ विनियोजन भइसकेको छ । स्थानीयबासी विश्वकै चर्चित उद्योग आउने भएपछि आशावादी छन् । ‘विश्वमै नाम चलेका उद्योग स्थापना भएपछि रोजगारी र आर्थिक विकास समेत हुने भयो,’ स्थानीय डिल्ली न्यौपानेले भने, ‘हामी जुनसुकै हिसाबको सहयोग गर्न तयार भएर बसेका छौं।’

पुस १३ गते चिनियाँ उच्च अधिकारीले दमकको औद्योगिक पार्क निर्माणस्थलको अवलोकन गरेपछि स्थानीय आशावादी छन् । ‘ठूलो लगानीमा निर्माण हुने भनिएको पार्क बने यस क्षेत्रको विकासमा टेवा पुग्ने थियो,’ दमक–१० का हरिकृष्ण न्यौपानेले भने । स्रोतका अनुसार आगामी अप्रिलमा चिनियाँ राष्ट्रिपति सी जिनपिङको नेपाल भ्रमणको बेला पार्क शिलान्यास गर्ने तयारी छ । यसैको तयारीस्वरुप एक महिनाअघि चिनियाँ उच्चस्तरीय टोली आएको हो ।

चिनियाँ टोलीले दमक नगरपालिका र स्थानीयसँग लगानीको वातावरण, जग्गा प्राप्तिको अवस्थाबारे चासो राखेको थियो । आर्थिक, प्राविधिक विशेषज्ञ सहितको टोलीले वान बेल्ट वान रोड (ओबिओआर) अन्तर्गत परियोजना निर्माणको तयारी थालिएको जनाएएको थियो । ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको प्रमुख लिउ रुपेङ नेतृत्वको टोलीले अध्ययन गरेको थियो ।

दमक–१० का वडा अध्यक्ष बोधराज न्यौपानेले पार्क निर्माणमा स्थानीयले सहयोग गर्ने बताए । ‘केही बुझाइमा समस्या रहेका थिए,’ उनले भने, ‘चिनियाँ अधिकारी आएपछि त्यस्ता भ्रम हटेका छन् ।’ उनका अनुसार दमकबाट कमल गाउँपालिका र गौरादहका कोहबरा जाने पुल निर्माण हँुदैछन् । त्यसको योजना पेस भएर काम अघि बढ्ने तयारीमा रहेको बताउँदै उनले थपे, ‘पुल निर्माण भएपछि रतुवा नदी आसपास क्षेत्रमा वारिपारि गर्न सहज हुनेछ ।’ चिनियाँ अधिकारीले दमकमा औद्योगिक पार्कको कार्यालय, बैंक, वित्तीय सस्था र वारि कमल गाउँपालिका र गौरादह नगरपालिकामा सयभन्दा बढी उद्योग राख्ने जनाएका छन् । दमकबाट रतुवा नदी तरेर ती स्थानमा पुग्न सकिन्छ । औद्योगिक पार्क रतुवा नदीको किनार र रमा सामुदायिक वन भएको क्षेत्रमा निर्माणको तयारी छ । नागरिक  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved