जहाँ गाउँपालिका केन्द्र पुग्नै २ जिल्ला नाघ्नु पर्ने बाध्यता छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 06:29:26 AM मा प्रकाशित

laxmi  sunrise bank

कास्कीको मादी गाउँपालिकासँग जोडिएको सिङदीमा पोखराबाट थुम्सीकोट–मुंग्रेबेंसी हुँदै २ वर्षअघि सडक जोडिएको हो । नजिकै पसगाउँसम्म पनि गत वर्षबाट सडक जोडियो । क्व्होलासोंथर गाउँपालिका ५ सिङदी र वडा ६ को पसगाउँमा हिउँदका समय पोखराबाट सवारीसाधन चल्छन् । लमजुङको रामबजारबाट गिलुङटक्सार–साल्मेभञ्ज्याङ–घाम्राङ हुँदै दशकअघि सुरु गरिएको बाटोको ट्रयाक यो वर्ष पसगाउँ पुगेको छ । सिङदी गाउँ जोडिएको छैन । पसगाउँ र सिङदीबाट मंग्रे हुँदै रामबजारसम्म हिउँदमा सवारी चल्छन् । रामबजारबाट भोर्लेटार गएर झन्डै तनहुँ सीमा दुईपीप्ले पुगेर सुन्दरबजार हुँदै बेंसीसहर पुग्नुपर्ने बाध्यता छ । रामबजार–घ्राम्राङ सडकखण्डको साल्मेभञ्ज्याङबाट मिदिमखोलासम्म आउने ट्रयाक मात्रै खुलेको छ । क्व्होलासोंथर गाउँपालिकाको कार्यालय मालिङबाट मिदिमखोलासम्म ट्रयाक खुलेको छ । तर, मिदिमखोलामा पुल नहुँदा कार्यालयबाट मिदिमपारिका स्थानीय गाउँपालिका आउन कास्कीबाट तनहुँ हुँदै गाउँपालिका कार्यालय आउनुपरेको छ ।

संघीयता कार्यान्वयनसँगै सेवासुविधाका लागि नागरिकले गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्छ । गाउँका सर्वसाधारण, कृषक, शिक्षक, कर्मचारी सबैलाई गाउँपालिका नगई हुँदैन । क्व्होलासोंथर ५ सिङदीका अध्यक्ष गीतबहादुर गुरुङका अनुसार भौगोलिक विकटले गाउँपालिकासम्म सेवा लिन जाँदा पोखरा–दमौली हुँदै बेंसीसहरको बाटो भएर मालिङ पुग्नुपर्छ । नत्र सक्नेले समेत गाउँपालिका कार्यालय पुग्न ९/१० घण्टा एकतर्फी हिँड्नुपर्छ । ‘जसोतसो पसगाउँ हुँदै घाम्राङ पुगिएला । त्यसपछि ओरालो र मालिङको त्यत्रो ठूलो उकालो । हामीलाई सकस छ, उमेर गएका र बालबच्चाले सक्दैनन्,’ उनले भने, ‘बरु यहींबाट पोखरा गयो, बस्यो । भोलिपल्ट बेंसीसहर हुँदै गाउँपालिका पुग्यो । काम गर्‍यो । पर्सिपल्ट एवं रीतले फर्कियो ।’ सक्नेले हिँडेर जाँदा पनि उही ३ दिन लाग्ने उनले बताए ।
६ नम्बरका वडाध्यक्ष मनलाल गुरुङले गाउँपालिका बैठक तथा अन्य कार्यमा जान ८ नम्बरका वडाध्यक्ष घाम्राङका राजु गुरुङको घरमा बास बसेर भोलिपल्ट मात्रै जाने गरेको बताए । बैठक सकिएपछि त्यसरी नै बसेर घर फर्किने गरेको उनले सुनाए । ‘३ घण्टाको बैठकका लागि ३ दिन खर्चिनुपर्छ । हामीलाई त यत्रो सास्ती छ । बाटो हिँड्दै जानेआउने गरे अरुको पनि त्यही हालत हो,’ उनले भने । बरु गाउँबाट सिधै पोखरा, पोखराबाट दमौली हुँदै बेंसीसहर र बेंसीसहरबाट गाउँपालिका केन्द्र पुग्नु ठीक छ । वडा तहमा अहिले विकासे काम धमाधम भइरहेका छन् । योजना माग, सम्झौता, कार्यान्वयनको चरणमा छ । यसका लागि उपभोक्ता समिति गाउँपालिका धाउनुपर्छ । गाउँपालिकासम्म पुग्न अप्ठ्यारो परेपछि योजना शाखाका कर्मचारी नै गाउँ बोलाएर योजना सम्झौता गरिएको वडा ६ का अध्यक्ष गुरुङले बताए ।
योजना र विकासका सबै काम गाउँपालिकाबाट भए पनि भुक्तानीका लागि भने बेंसीसहरै आउनुपर्ने बाध्यता छ । गाउँमा बैंक स्थापना भए पनि गाउँपालिकाको खाता उक्त बैंकमा छैन । बेंसीसहरस्थित बाणिज्य बैंकमा सेवा लिन आउँदा भीडले समयमा काम हुन नसकेको स्थानीयको गुनासो छ । हिमालय मावि सिङदीका प्रधानाध्यापक शुभराज खनालका अनुसार गाउँपालिका पुग्नुभन्दा बेंसीसहर पुग्न सहज छ । विद्यालय कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत विषयलाई लिएर गाउँपालिका जानुपर्छ । प्रधानाध्यापकको बैठक, गोष्ठी, छलफलका लागि केन्द्रै पुग्नुपर्छ । ‘८/९ घण्टा हिँड्नु वा पोखरा–दमौली तथा रामबजार–दुईपीप्ले भएर जानु अर्को विकल्प हो,’ उनले भने । शिक्षकको तलब बेंसीसहरस्थित बाणिज्य बैंकमा रहेको खातामा राखिदिनाले पहिले र अहिलेको अवस्थामा कुनै भिन्नता भने नरहेको उनले सुनाए ।

क्व्होलासोंथर गाउँपालिकाको वडा १, २, ३ र ४ मिदिमखोला वारि छ । ५, ६, ७, ८ र ९ पारीपट्टी पर्छ । वडा ८ र ९ गाउँपालिका केन्द्रको ठीक पारिपट्टि पर्छ । तर, आँखैअगाडि देखिने केन्द्र पुग्न पनि उनीहरूलाई ४/५ घण्टा लाग्छ । क्व्होलासोंथर ८ मा रहेको तामु प्राविका प्रधानाध्यापक नन्दबहादुर गुरुङले गाउँबाट पारिपट्टि देखिने गाउँपालिकाको केन्द्र पुग्न बेंसीसहर घुम्नुपर्ने बाध्यता रहेको बताए । ‘खोलामा पुल र बाटो मात्रै राम्रो भए यो नियति भोग्नुपर्ने थिएन,’ उनले भने । क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले मिदिमखोलामा मोटरेबल पुल निर्माणका लागि सर्भे डिजाइन सकिएको बताए । अर्को आवमा टेन्डर प्रक्रिया अगाडि बढाएर निर्माण गरिने उनले बताए । उनका अनुसार मिदिमखोलातर्फ गाउँपालिका कार्यालयदेखि ५ किमि छ । पारिपट्टि साल्मेभञ्ज्याङबाट मिदिमखोलासम्म ४ किमि छ । ‘पुल निर्माणसँगै हामी बाटोलाई राम्रो बनाउँछौं । त्यसपछि पारि र वारि जोड्छौं’ उनले भने । उनका अनुसार पारिपट्टिका सेवाग्राहीलाई गाउँपालिका कार्यालय आउन कास्की–तनहुँ भएर बेंसीसहर हुँदै आउनुपर्ने बाध्यता छ । ‘भौगोलिक विकटताले समस्या पारेको छ । हामी छिट्टै नजिक पार्ने प्रयासमा छौं,’ उनले भने ।

पसगाउँबाट बेंसीसहर हरेक बिहान साढे ८ बजे बस छुट्छ । उक्त बस बगैंचा हुँदै कास्कीको डबैडाँडाबाट मुंग्रेबेंसी, लमजुङको रामबजार हुँदै हंसपुर, तालबेंसी भएर बेगनासताल भएर पोखरा पुग्छ । तर, सिङदीबाट गएको बस सीधै पोखरा पुग्छ । सिङदीका सेवाग्राहीलाई गाउँपालिका कार्यालय जान पसगाउँका बस रोकेर रामबजार झर्नुपर्छ । ‘बसले रोक्ने/नरोक्ने । रामबजारमा बेंसीसहर जाने गाडी पाउने/नपाउने । बेंसीसहरबाट मालिङ जाने गाडी पाउने/नपाउने टुंगो छैन,’ सिङदीका मुक्तिप्रसाद गुरुङले भने । तामुका कुमरास गुरुङका अनुसार सडकको ट्रयाक खुले पनि सार्वजनिक सवारी छैन । सवारी चढ्न २ घण्टा हिँडेर गिलुङ पुग्नुपर्छ । रामबजार पुगेपनि भोर्लेटार, बेंसीसहरमा सवारी पाउने या नपाउने कुनै निधो नहुँदा १ दिनको काम गर्न पनि ३/४ दिन लाग्ने उनले सुनाए । ‘सवारी कहिले आउँछ भनेर कुरेरै हैरान हुन्छ । अलिकति मात्रै आफू ढिलो पुगियो गाडी छुटछ । त्यसपछि भोलिमात्रै । त्यही पनि हिउँदमा,’ उनले भने, ‘बर्खाको समस्या कसलाई भनेर केही हुनु छैन । समस्या हामीसँगै छ ।’ यो समस्या क्व्होलासोंथर गाउँपालिका ४ भुजुङको कमागाउँ, केमरुङ, सोंधीका बासिन्दाले पनि व्यहोर्नु परेको छ । कमगाउँकी पूर्णकुमारी गुरुङका अनुसार भुजुङ पुग्न २/३ घण्टांै लाग्छ । ‘ठूलो गाउँसम्म जिप अहिले आउँछ, कहिले आउँदैन । बर्खामा आउने कुरै भएन,’ उनले भनिन्, ‘बिहानै दौडेर गयो । जिप भेट्यो भने भेट्यो । नत्र ५/६ घण्टा हिँडेरै मालिङ पुग्नुपर्छ । कि गाउँमै बास बसेर भोलिको जिप कुर्नुपर्छ । त्यै पनि आउने या नआउने थाहा छैन ।’कान्तिपुर 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved