यस्ता छन् नव नियुक्त अर्थमन्त्री डा खतिवडाका चुनौती र अवसरहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2018 | 07:54:41 AM मा प्रकाशित

ntc

आयको तुलनामा व्यय धेरै भएपछि मुलुकको बाह्य क्षेत्र नकारात्मक अवस्थामा छ । घट्दो रेमिट्यान्स, बढ्दो व्यापारघाटा र प्रत्यक्ष विदेशी लगानीको न्यून आप्रवाहले मुलुकको शोधानान्तर स्थिति साढे ६ अर्ब रुपैयाँ ऋणात्मक भइसकेको छ । सरकारको खर्च बढेको छ, तर स्रोतमा भने संकुचन आइरहेको छ । यसरी अर्थतन्त्रका अधिकांश सूचाकांक नकारात्मक देखिइरहेकै वेलामा त्यसैको नेतृत्व गर्न आइपुगेका छन्, डा. युवराज खतिवडा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार विस्तार गर्दै सोमबार डा. खतिवडालाई अर्थमन्त्रीको जिम्मेवार दिएका हुन् । अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै कतिपय अर्थशास्त्री तथा सरोकारवालाले डा. खतिवडालाई चुनौतीको चाङमा रहेको बताएका छन् । तर, यस्ता चुनौतीका चाङभन्दा पनि खतिवडालाई अवसर धेरै रहेको अर्थसचिव शंकरप्रसाद अधिकारी बताउँछन् । सोमवार साझ नवनियुक्त अर्थमन्त्री डा. खतिवडालाई मन्त्रालयमा स्वागत गर्दै अर्थसचिव अधिकारीले भने, ‘अर्थमन्त्रीलाई केही चुनौती पनि छ, तर चुनौतीभन्दा बढी अवसरै अवसर छन् ।’

अर्थतन्त्रका सूचाकांकहरू केही नकारात्मक र केही सकारात्मक भएको सुनाउँदै उनले नवनियुक्त अर्थमन्त्रीलाई भने, ‘पुँजी निर्माण कमजोर छ, ‘बाह्य क्षेत्र नकारात्मक छ, उत्पादकत्वमा समस्या छ, बजेटरी अनुशासन छैन, मुलुक दशकअघिकै अवस्थामा आइपुगेको छ, तैपनि अनौपचारिक अर्थतन्त्रलाई रोक्ने, राजस्व चुहावट घटाउने र लगानीको वतावरण बनाउने हो भने भोलिका दिन राम्रा छन् ।’ खासगरी स्थायी सरकारलाई चुनौतीका बाबजुत पनि अवसर धेरै रहेको उनको भनाइ छ ।

संकटमा छैन अर्थतन्त्र, अवसर छ
नवनियुक्त अर्थमन्त्री डा. खतिवडालाई तत्कालीन चुनौतीहरू देखिए पनि अवसर धेरै रहेको अर्थविद् शंकर शर्मा बताउँछन् । ‘अर्थतन्त्रका सूचाकांकहरू केही नकारात्मक अवस्थामा रहेको भए पनि संकट भने आइसकेको छैन,’ उनी भन्छन्, ‘अर्थतन्त्र भत्किएको छैन, तर सम्भावना धेरै छ, त्यसैले पनि उहाँ (खतिवडा)लाई अवसर धेरै रहेको छ ।’ स्थिर र बलियो सरकार हुनु, चुनाव नलडी आएका कारण कार्यकता रिझाउनुपर्ने बाध्यता नहुनु तथा मुलुक संघीयतामा गइसकेका कारण अर्थमन्त्रीलाई काम गरेर देखाउने अवसर रहेको उनको भनाइ छ । ‘वित्तीय अनुशासन कायम गर्दै खर्च र राजस्वको सन्तुलन मिलाउन सके काम गर्न सहज हुन्छ,’ उनले भने, ‘राजस्व, वैदेशिक सहायता र ऋणसमेत बढाएर खर्च परिचालन गर्न सकिन्छ, तर पेन्सन, भत्तालगायत सामाजिक सुरक्षालाई भने व्यवस्थित गराउनुपर्छ ।’ अर्थमन्त्रीले संघीयता कार्यान्वयन, आर्थिक सुशान कायम र उत्पादत्वमा जोड दिनुपर्ने उनको भनाइ छ ।

केही सन्तोषजनक सूचाकांक
बाह्य क्षेत्र नकारात्मक भए पनि वैदेशिक लगानी, पुँजीगत ट्रान्सफर र पर्यटन आयको अवस्था भने सकारात्मक छ । पछिल्लो समय नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्दो अवस्थामा छ । त्यस्तै, पुँजीगत ट्रान्सफरको वृद्धि पनि उच्च छ । पर्यटन आय पनि बढिरहेको छ । यसले उत्पादन बढाउन तथा पुँजी निर्माणमा ठूलो सघाउ पुर्‍याउनेछ । चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह झन्डै दोब्बरले बढेर १४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपालमा पुँजी निर्माणमा सहयोग पुग्ने गरी आएको वैदेशिक अनुदान (पुँजीगत ट्रान्सफर) पनि झन्डै दोब्बरले बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । देशको वैदेशिक मुद्रा सञ्चिति १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी सुविधाजनक अवस्थामा रहेको छ । जसले बाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । मूल्य वृद्धि लक्ष्यअनुसार नियन्त्रणमा छ । यही अवधिमा निर्यात १३.६ प्रतिशतले बढेको छ । पहिलो ६ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरूले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएको राष्ट्र बैंकको अध्ययनले भन्छ ।

आशा धेरै छ अर्थमन्त्रीसँग
मन्त्रालयमा अर्थमन्त्रीलाई स्वागत गर्दै अर्थसचिव अधिकारीले अर्थतन्त्रका बारेमा जानकारी गराउनुअघि भने, ‘अर्थतन्त्रका बारेमा मैले यहाँलाई अवगत गराइराख्न आवश्यक छैन, अन्यथा आमाका अगाडि मामाको बखान भनेजस्तै हुन्छ ।’ अर्थसचिवको यो उखानले नवनियुक्त अर्थमन्त्री डा. खतिवडाप्रति आशा धेरै रहेको बुझाउँछ । त्यसो त राजस्वसचिव शिशिर कुमार ढुंगानाले कुशल अर्थमन्त्री पाएको भन्दै अब अर्थ मन्त्रालयले गति लिने बताए । राष्ट्र बैंकमा झन्डै दुई दशक बिताएका अर्थमन्त्री खतिवडासँग गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षका रूपमा काम गरेको अनुभव छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा विष्णु पौडेल अर्थमन्त्री हुँदा खतिवडालाई छाया अर्थमन्त्रीसमेत भनिन्थ्यो । सम्बन्धित क्षेत्रमा दक्षता र अनुभव भएकै कारण अर्थमन्त्री खतिवडासँग धेरै आशा गरिएको छ ।

आशा जगाउने आयोजनाहरू
सरकारले अघि बढाएका थुप्रै रणनीतिक महत्वका पूर्वाधार आयोजनाहरू सम्पन्न हुने क्रममा छन् । मेलम्चीको पानी चाँडै काठमाडौं आउनेवाला छ । माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्न हुने स्थितिमा छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा छ । पोखरामा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै छ । काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । फास्ट ट्र्याक निर्माणले निजगढमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि छिटो बनाउनेछ । किनभने, त्यो विमानस्थल काठमाडौंकेन्द्रित नै हुने हुँदा फास्ट ट्र्याकविना त्यो सम्भव हुनेछैन । भैरहवामा निर्माण सम्पन्न विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउने तयारीमा छ । सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढिसकेको छ । यस्ता सम्पन्न हुन लागेका परियोजना पनि डा. खतिवडाका अवसर हुन् ।

अर्थमन्त्री खतिवडाका पाँच प्राथमिकता
नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार साझ आफ्नो पदभार गरेका छन् । अर्थतन्त्रमा केही समस्या र विकृति भएको भएको आैँल्याउँदै उनले जतिनै संकट भए पनि समाधान गर्न सकिने जिकिर गरे । उनले पदभार गर्दै उनले आफ्ना पाँच प्राथमिकता घोषणा गरे । अर्थमन्त्रीले निर्वाचनका क्रममा जनतामाझ वाम गठबन्धनले गरेका प्रतिबद्धता कार्यन्वयन गर्ने, संविधानले मार्गनिर्देशन गरेअनुसार लोककल्याणकारी राज्य हुँदै समाजवादोन्मुख बन्ने, राज्यको भूमिकालाई अग्रणी, नेतृत्वदायी र अभिभावकीय बनाउने, मुलुकका सम्पूर्ण नागरिकको आर्थिक सुरक्षणको जिम्मेवारी राज्यले लिने, निजी क्षेत्र सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गर्ने, आर्थिक तथा वित्तीय अनुशासन कायम गर्ने, उच्च आर्थिक वृद्धिका लागि निजी क्षेत्रको परिचालन गर्ने, लगानी बोर्डलाई क्रियाशील बनाउने तथा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि हस्तान्तरण बढाउनेलगायत मुख्य प्राथमिकता रहेको उनले बताए ।

को हुन् डा. खतिवडा ?
३० साउन २०१३ मा जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट इकोनोमिक्स विषयमा स्नातकसम्मको अध्ययन गरे । त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट ०३७ मा अर्थशास्त्रमा र ०४० मा जनप्रशासनमा स्नातकोत्तर गरेका हुन् । खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट ०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका हुन् ।

सहायक अनुसन्धान अधिकृतका रूपमा ०३९ मा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका उनले त्यहाँ करिब २० वर्ष बिताए । खतिवडा ०५७ मा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेपछि उनी ०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भए । उनले त्यसवेला पञ्चवर्षीय योजना तुर्जमामा महत्वपूर्ण योजना दिएका थिए ।

योजना आयोग छाडेपछि ०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरे । त्यसपछि नेपाल फर्किए । असार ०६६ मा उनलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरे । आयोगको उपाध्यक्षमा नौ महिना काम गरेर उनले राजीनामा गरे । ९ चैत ०६६ मा उनी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए । गभर्नरको पाँचवर्षे कार्यकाल सफल भएको सरोकारवाला बताउँछन् ।

०७२ मा पुनः योजना आयोगको उपाध्यक्ष बने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णु पौड्यालसँग अर्थशास्त्रको ज्ञान नभएको भन्दै खतिवडालाई छाया अर्थमन्त्री पनि भन्ने गरिन्थ्यो । उनले महेन्द्र विद्या भूषण, सुप्रबल गोर्खा दक्षिणबाहुलगायत सम्मानसमेत पाएका छन् । नयाँ पत्रिका 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved