चिनियाँ प्रधानमन्त्री ली यहि महिना नेपाल आउँदै, गोप्य रुपमा तयारी सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 07:03:45 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ प्रधानमन्त्री ली कछइङले एक महिनाभित्र नेपाल भ्रमण गर्ने गरी तयारी अघि बढेको छ। यही मार्च महिनाभित्र ली नेपाल भ्रमणमा आउने भएपछि गोप्यरूपमा भ्रमणको तयारी गरिएको हो।

चिनियाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको तयारीका सिलसिलामा ली काठमाडौं आउने तयारीमा रहनुभएको बताइएको छ। प्रधानमन्त्री लीको नेपाल भ्रमण सफल बनाउन केही दिनयता काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरू प्रायः हरेक दिनजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धाउने गरेका छन्।

विमानस्थल क्षेत्र र रनवेको सुरक्षा अनुगमन गर्न दूतावासका अधिकारीहरू विमानस्थल पुग्ने गरेका विमानस्थलका एक उच्च अधिकारीले बताए। ‘प्रधानमन्त्री ली विशेष विमानमा आउने भएपछि रनवेको गुणस्तर र सुरक्षामा चिनियाँ अधिकारीहरूको चासो बढेको हो।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने। सुरक्षा र अन्य कारणले भ्रमण तालिका र भ्रमण तयारी गोप्य राखिएको चिनियाँ दूतावास उच्च स्रोतले जनाएको छ।

यस सम्बन्धमा चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले चिनियाँ उच्चस्तरीय भ्रमण सम्भावना रहेको आफूले पनि सुनेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘नेपालमा स्थिर सरकार बनिसकेपछि उच्चस्तरीय भ्रमणका लागि चीनले चासो देखाउनु स्वाभाविक हो। यो नेपालका लागि पनि जरुरी छ।’

भ्रमणको तालिका प्रधानमन्त्री ली नेपाल आउनु केही दिनअघि मात्रै सार्वजनिक हुने दूतावास स्रोतले जनाएको छ। यसअघि नेपालले पटक–पटक चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो पठाउँदा चिनियाँ पक्षले सकारात्मक जवाफ पठाए पनि भ्रमण हुनसकेको थिएन। आफ्नै मुलुकले अघि बढाएको महत्त्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’लाई मूर्तरूप दिन चीनले नेपालमा उच्चस्तरीय भ्रमणको आवश्यकता औंल्याएको बताइन्छ। सो महत्त्वाकांक्षी परियोजनामा नेपालले समर्थन जनाइसकेको छ। गतवर्ष दुवै मुलुकबीच सो परियोजना सहकार्यमा सम्झौता भइसकेको छ।

राष्ट्रपति सी भ्रमणका लागि चीनले विगतमा पनि सुरक्षा चासो देखाएको र नेपालले सुरक्षा सुनिश्चिताबारे प्रस्ट जवाफ पठाउन नसक्दा भ्रमण हुन नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्। सीकै भ्रमणको तयारीका लागि चिनियाँ प्रधानमन्त्री ली नेपाल आउने भएपछि चीनले सुरक्षा चासो राख्ने गरेका मुलुकका विभिन्न क्षेत्रमा सुरक्षा निकायले पनि निगरानी बढाउन थालेको नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीले बताए। काठमाडौंमा तिब्बेतियन शरणार्थी बसोबास गर्ने बौद्ध, एकान्तकुनालगायतका क्षेत्रमा शरणार्थीको गतिविधिमाथि निगरानी बढाउन शुरू गरिएको ती अधिकारीले जानकारी दिए। नेपाल समाचारपत्र 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved