श्वेतपत्र जारी गर्दै अर्थ मन्त्रालय, शेयर बजारको बिषय समेटिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 07:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मुलुकको अर्थतन्त्रलाई चित्रण गर्ने र भविश्यका योजनासमेत समेट्दै श्वेतपत्र जारी गर्ने भएको छ । विद्यमान अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुनेगरी श्वेतपत्रको तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्वेतपत्रमा हालको देशको अर्थतन्त्रको अवस्था र भविश्यमा चाल्नुपर्ने कदमका सम्बन्धमा समावेश गरिने उल्लेख छ । 


पछिल्लो समय मुलुकको अर्थतन्त्र कमजोरका परिसूचकहरू कमजोर बन्दै गइरहेको भन्ने टिप्पणी भइरहेको बेला अर्थतन्त्रको वास्तविक अवस्था समेटेर श्वेतपत्र निर्माणको तयारीमा सरकार जुटेको हो । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षालगत्तै श्वेतपत्र जारी गर्ने सरकारको तयारी छ । अर्थ मन्त्रालयले यसैसाता चालू आर्थिक वर्ष २०७४-०७५ को अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै छ । “१-२ दिनभित्रै अर्थवार्षिक समीक्षा गर्छौं त्यसलगत्तै हामी श्वेतपत्रको तयारीमा लाग्छौं,” अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोख्रेलले भने । उनका अनुसार मध्यावधी समीक्षा सकिएपछि श्वेतपत्रको तयारी थाल्ने छ । मन्त्रालयका अनुसार अर्थमन्त्रीमा नियुक्त भएसँगै डा. युवराज खतिवडाले श्वेतपत्रको तयारी अघि बढाउन निर्देशन दिएका छन् ।


श्वेतपत्रमा सेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रूपमा समेटर विशेष कार्यक्रम ल्याउने बताइएको छ । जसमा सेयर बजारलाई स्थिरता दिने कार्यक्रम पनि समावेश गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । मुलुकको व्यापारघाटा क्रमशः नियन्त्रणबाहिर जान थालेपछि सरकारले यसलाई रोक्ने उद्देश्य अनुरूप श्वेतपत्र जारी गर्ने तयारी सरकारको छ । खुुम्चिँदो रेमिट्यान्स वृद्धिदर, राजस्व संकलन अपेक्षाअनुसार नभएको, संघीय प्रणालीमा खर्च बढिरहेको अवस्थामा व्यापारघाटा निरन्तर उकालो लागिरहेकाले यसलाई रोक्न श्वेतपत्र जारी गर्न लागिएको मन्त्रालयका प्रवक्ता पोख्रेलले जानकारी दिए । उनका अनुसार श्वेतपत्र जारी भएपछि व्यापारघाटा कम गर्ने विभिन्न प्रयास हुने र जिम्मेवारीसमेत तोकिने छ । व्यापारघाटा कम गर्न कसले के गर्ने, कसको जिम्मेवारी कस्तो हुने, निर्यातको प्राथमिकतामा के राख्नेलगायत विषयलाई श्वेतपत्रमा समेटिने छ ।


श्वेतपत्रमा आगामी ५ वर्षमा वामपन्थी सरकारले गर्ने कामका योजना समेटिने छन् । त्यससँगै हाल अर्थतन्त्रका सूचकहरू प्राथमिकताका क्षेत्रहरू समावेश गरिने छन् । विश्लेषकहरूले समेत अर्थमन्त्रीमा अर्थतन्त्रका जानकार व्यक्ति नियुक्त भएका बेला अर्थतन्त्रको यथार्थ रूप देखाउन श्वेतपत्र जारी गर्नुपर्ने माग राख्दै आएका छन् । यसअघि केपी ओलीकै नेतृत्वमा रहेको सरकारले २०७२ पनि श्वेतपत्र जारी गरेको थियो ।


तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले भूकम्प र नाकाबन्दीले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा २०७२ मंसिरमा श्वेतपत्र सार्वजनिक गरेका थिए । त्यसपछि केपी शर्मा ओलीको सरकारले अहिलेको अवस्थालाई मध्यनजर गर्दै श्वेतपत्र जारी गर्ने तयारीमा जुटेको हो । प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेलगत्तै मुलुकको आर्थिक क्षेत्रको वृहत्तर हित हुनेगरी काम गर्ने लगानीको वातावरण बनाउने आर्थिक वृद्धिको लक्ष्य थप बढाउने भन्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved