
 2mb (1).gif)
केही साताअघि भारतीय पक्षबाट सीमा नदी महाकालीमा काठेपुल बनाएको र नेपाली भुमि भएर डोजर ढुवानी गरेको घटना सार्वजनिक भएपछि त्यसलाई रोक्न नेपाली सेनाले सीमा क्षेत्रमा गस्ती थालेको छ ।
दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मबाट सेनाको टोली सीमा क्षेत्रमै गस्ती गर्न निस्केको हो। सोमबार बिहान आवश्यक बन्दोबस्तीका सामानसहित सेनाको टोली महाकाली तटीय क्षेत्र भएर उत्तरतर्फ गइरहेको स्थानीयले बताएका छन्।
सीमा क्षेत्रमा छिमेकी पक्षका गतिविधी बढेको समाचार सार्वजनिक भएपछि सेनाले यस क्षेत्रको स्थलगत सुरक्षा गस्ती गर्न लागेको जिल्लास्थित सुरक्षा स्रोतले बतायो। राष्ट्रिय सञ्चारमाध्यममा महत्वका साथ सीमामा भारतीय पक्षबाट भएको संरचना निर्माणको खबर आएपछि नेपाली सेनाको समेत ध्यानाकर्षण भएको प्रतिक्रिया स्वरुप रहेको आम बुझाई छ।
दार्चुलाको उत्तरी सीमामा भारतीय पक्षले बिना अनुमति भौतिक संरचना बनाएको खबर सार्वजनिक भाएसंगै जिल्लास्थित नेपाली सेनाको गुल्मलाई माथिल्लो सैनिक तहबाट तत्काल सीमाक्षेत्रमा गस्ती गर्न निर्देशन आएको सुरक्षा स्रोतको भनाई छ। सुरक्षा स्रोतका अनुसार अधिकृतस्तरका कमाण्डरको नेतृत्वमा सेनाको टोली महाकाली नदी किनार क्षेत्रमा गस्तीमा निस्किएको आजको नागरिक दैनिकमा खबर छ।
सेनाको करिब ५० जनाको टोली व्यास क्षेत्रको त्रिदेशीय सीमासम्म गस्ती गर्न निस्केको हो। सेनाको नियमित कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा आफ्नो भुभागमा गस्ती कार्यक्रम हुने भएकोले पछिल्लो समय सीमामा केही गातिविधी भइरहेका सूचनाका आधारमा हतियार र आवश्यक सामानसहित सेनाको टोली सदरमुकामबाट उत्तरतर्फ गएको बुझिएको छ।
नेपाली सेनाको टोलीले सीमाक्षेत्रमा गस्ती गर्नु सान्दर्भिक र महत्वपूर्ण पक्ष भएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए। ‘भारतीय पक्षबाट एकतर्फी संरचना बनाएको बेला नेपाली सेनाले गस्ती गर्नु धेरै राम्रो हो’ उनले भने, ‘यसले मातृभूमिप्रति श्रद्धा र प्रेम भएका सबैलाई हौसला दिएको छ।’