नेपाली कफी विश्वबजार मै अब्बल, चीन र भारतलाई पछाडी पार्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 04, 2018 | 07:48:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।

दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो । नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिस्पर्धामा ९० अंक पाएको यो पहिलोपटक हो।

गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । ‘४० मुलुकको कफी परीक्षण गर्दा नेपालको कफीले ९० स्कोर पाएर अब्बल बनेको छ,’ बोर्डका निर्देशक दीपक खनालले भने, ‘अब विश्व बजारमा नेपाली कफी प्रतिस्पर्धा गर्न सक्षम भएको छ।’

फ्लेवर, टेस्ट, एसिडिटी, स्विटनेसलगायतका विभिन्न मापदण्डमा कुल एक सय स्कोरलाई आधार बनाएर कफी परीक्षण गरिन्छ । ८० अंकभन्दा बढी प्राप्त गर्ने कफीलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ । यसलाई आधार बनाएर विश्वभरका कफी बायर (क्रेता) ले सम्बन्धित मुलुकमा पुगेर कफी खरिद गर्ने गरेका छन् । अमेरिकामा रहेको कफी रिभ्यु डटकमले उक्त रिपोर्ट सार्वजनिक गर्ने गरेको छ।

धेरै मेहनतपछि आफ्नो बगानको कफी अब्बल बनेको लेकाली कफी स्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले बताए । ‘धेरै वर्षदेखिको कफी प्रशोधनका विभिन्न चरण पूरा गरेर यो अवस्थामा आएका हौं,’ शेर्पाले भने, ‘कफी टिप्दादेखि भण्डारण प्रक्रियामा सानो गल्ती गरे पनि गुणस्तर कमजोर हुन्छ।’

कफी टिपेदेखि, ग्रेडिङ, पल्पिङ, गुम्स्याउने, धुने, सुकाउनेलगायतका प्रक्रियामा मापदण्ड पूरा गर्नुपर्ने उनले बताए । ‘पाँच वर्षदेखिको प्रयासले सफलता प्राप्त गरेका छौं,’ शेर्पाले भने, ‘हामी नेपाली किसानका लागि गौरवको विषय हो ।’ सबै प्रक्रिया पुर्‍याएर कफीखेती गरे नेपाली कफीका लागि आगामी दिन सुखद रहेको शेर्पाले बताए ।गुणस्तरी उत्पादनका लागि कफी रोपणदेखि प्रोसेसिङ विधि व्यवस्थित गनुपर्ने सरोकारवाला बताउँछन् । ८० अंकभन्दा बढी प्राप्त गर्ने कफीलाई विदेशीहरुले उच्च मूल्य दिएर खोजी–खोजी लैजाने व्यवसायी बताउँछन्।

नेपालमा कफीखेती परम्परागत रुपमा हुँदै आएको छ । अब व्यावसायिक हुनुपर्ने बेला आएको बोर्डका योजना अधिकृत गौरव लुइँटेलले बताए । ‘नेपाली कफीले गुणस्तरमा विदेशी कफीसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ,’ लुइँटेलले भने, ‘सबै कफी उत्पादक किसानले अब गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको छ ।’आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भए पनि उत्पादन बढ्न सकेको छैन । कफी उत्पादनबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भए पनि अपेक्षित रुपमा कफीखेती विस्तार हुन नसकेको हो।

नेपाली कफी उत्पादक किसानलाई उत्तिकै चुनौती रहेको कफीविज्ञ राजकुमार बन्जाराले बताए । ‘एउटा बगानका उत्पादकको मेहनतले कफी उत्कृष्ट बनेको छ,’ बन्जराले भने, ‘सबै किसानले कफी उत्पादनका मापदण्ड अनुशरण गर्नुपर्छ।’

वाणिज्य नीति र कृषि रणनीतिले पनि कफीलाई उच्च प्राथमिकतामा राखेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निजी क्षेत्र विकास परियोजनाका बद्रीप्रसाद बस्ताकोटीले बताए । ‘विशेष कफी उत्पादन हुँदा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ,’ बस्ताकोटीले भने, ‘अन्तर्राष्ट्रिय बजारको अक्सनमा गएपछि बढाबढबाट उच्च मूल्यमा कफी बिक्री गर्न सकिन्छ।’

मुलुकभर २६ सय हेक्टर क्षेत्रफलमा चार सय ६६ मेट्रिक टन कफी उत्पादन हुने गरेको बोर्डले जनाएको छ । चालू आर्थिक वर्षमा करिब सात प्रतिशत उत्पादन बढ्ने अपेक्षा गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए।

कफी उत्पादनमा हेल्भेटास, युरोपियन युनियनलगायतका निकायले पनि सहयोग गर्दै आएका छन् । कफी प्रशोधनका लागि पूर्वाधार निर्माणमा विभिन्न जिल्लामा सघाउँदै आएको हेल्भेटासका भोला श्रेष्ठले बताए । ‘मध्य र पश्चिम क्षेत्रका किसानलाई पूर्वाधार निर्माणमा सघाइरहेका छौं,’ उनले भने।

बोर्डले कफीखेती विस्तार गर्न चालू आर्थिक वर्षमा करिब सात लाख बिरुवा रोपेको जनाएको छ । कफीको विकास गर्न पाँचवर्षे रणनीति योजना र निर्यात रणनीति तयार भएको छ । बोर्डले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत मापदण्ड निर्धारण गर्ने तयारी गरिरहेको जनाएको छ।

अपेक्षित रुपमा उत्पादन बढ्न नसके पनि निर्यात भने बढेको छ । आर्थिक वर्ष ०६८-६९ मा चार करोड ३० लाखको चिया निर्यात भएकोमा आर्थिक वर्ष ०७३-७४ मा आठ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यहाँ उत्पादन भएको ४० प्रतिशत कफी जर्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्सलगायतका मुलुकमा निर्यात हुन्छ। नागरिक 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved