दुईभन्दा बढी डिम्याट खाता राख्न नपाईने, करिब १० हजार खाता बन्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 23, 2018 | 08:54:24 AM मा प्रकाशित

laxmi  sunrise bank

दुईभन्दा बढी हितग्राही (डिम्याट) खाता राख्न नपाउने नियम लागू भएयता करिब १० हजार डिम्याट खाता बन्द भएको सिडिएस एन्ड क्लियरिङ (सिडिएससी)का प्रवक्ता सुरेश न्यौपानेले बताए । उनका अनुसार सिडिएससीले निक्षेप सदस्यलाई दिएको निर्देशनअनुसार केही लगानीकर्ताले खाता बन्द गरिसकेका छन् । तर, कर्जा लिएका लगानीकर्ता र पोर्टफोलियो व्यवस्थापनका लागि खोलिएका खाता भने व्यावहारिक रूपले तत्काल बन्द गर्न नसकिएको सिडिएससीले जनाएको छ ।

एउटै लगानीकर्ताको धेरै डिम्याट खाता हुँदा व्यवस्थापन गर्न गाह्रो भएको भन्दै नेपाल धितोपत्र बोर्डले गत वर्षको भदौसम्ममा दुईभन्दा बढी खाता रहेको भए खाता रोक्का गराउन सिडिएससीलाई निर्देशन दिएको थियो । बोर्डले दिएको निर्देशनअनुसार सिडिएससीले पनि निक्षेप सदस्यलाई खाता बन्द गराउन आन्तरिक परिपत्र जारी गरेको थियो ।

सेयर बजारलाई आधुनिकीरण गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ०७२ भदौदेखि डिम्याट सेयर कारोबार सुरु गरेको हो ।

त्यस्तै, ०७३ साउन १ गतेदेखि प्राथमिक सेयरका लागि पनि डिम्याट खाता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । लगानीकर्ताले आफ्नो सुविधाअनुसार खाता खोल्ने क्रममा धेरैवटा खाता खोलेपछि निश्चित तथ्यांक निकाल्न कठिन भएको भन्दै बोर्डले सिडिएससीलाई खाता बन्द गराउन निर्देशन दिएको थियो ।

सिडिएससीका अनुसार करिब ८ हजारभन्दा बढीको दुईभन्दा धेरै खाता रहेको पाइएको छ । बोर्डले दिएको निर्देशनसँगै सिडिएससीले गरेको अध्ययनले धेरै खाता भएका लगानीकर्ताको पहिचान गरेको हो । धेरै खाता भएका कतिपय लगानीकर्ताका खाताहरू शून्य रहेको पाइएको सिडिएससीले बताएको छ ।

निवेदन दिएपछि बन्द हुन्छ खाता
यदि कुनै लगानीकर्ताको दुईभन्दा बढी खाता छ भने सजिलैसँग बन्द गर्न सकिने सिडिएससीले बताएको छ । लगानीकर्ताले जुन निक्षेप सदस्यबाट खाता खोलेका छन् त्यहीँ गएर खाता बन्द गर्नका लागि निवेदन दिन सकिने सिडिएससीले बताएको छ । निवेदन दिएपछि सजिलै खाता बन्द हुन्छ । त्यस्तै, लगानीकर्ताले निवेदन दिएपछि एउटा खातामा रहेको सेयर अर्को खातामा समेत सार्न सकिन्छ । प्रत्येक खातामा सेयर मौज्दात छ भने निक्षेप सदस्यलाई निवेदन लेखेर एउटा खाताको सेयर अर्को खातामा सार्न सकिने सिडिएससीले जनाएको छ ।

सिडिएससीको तथ्यांकअनुसार हालसम्म १२ लाख २६ हजार ३ सय ४६ वटा डिम्याट खाता खोलिएको छ । निक्षेप सदस्य ६६ छन् । मेरो सेयरमा रजिस्ट्रर भएका निक्षेप सदस्यको संख्या ६५ रहेको छ । हालसम्म ३ अर्ब ४१ करोड ५१ लाख ५६ हजार ४ सय ५४ सेयर डिम्याट भएका छन् । रजिस्ट्रर क्लियरिङ सदस्य संख्या ५० छ भने सी–आस्बामा रजिस्ट्रर भएका बैंकको संख्या ६२ छ । नयाँ पत्रिका 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved