सरकारले अर्थतन्त्रको स्थिति नाजुक रहेको भन्दै श्वेतपत्र सार्वजनिक गरेको वर्ष नै अर्थतन्त्रको आकारमात्र बढेको छैन आर्थिक वृद्धिदर पनि झन्डै सरकारले बजेटको मध्यावधि समीक्षामा प्रक्षेपण गरेअनुरुप नै भएको छ ।
सरकारी तथ्यांकको अभिलेख राख्ने आधिकारिक निकाय केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ उत्पादन बढेर अर्थतन्त्र ३० खर्ब ७ अर्ब २४ करोड पुगेको छ । स्थिर मूल्यअनुसार कुल गार्हस्थ उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशतले बढेर ३० खर्ब माथि पुगेको विभागले जानकारी दिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले डेढ महिनापहिले सार्वजनिक गरेको आर्थिक स्वेतपत्र झुठो ठहरिने गरी विभागले चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो । अर्थमन्त्री खतिवडाले गत चैत १६ गते श्वेतपत्र सार्वजनिक गर्ने क्रममा मुलुकको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तथ्य लुकाइएको भन्दै श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिँदै आएको छ ।
चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ४२ खर्ब ६ अर्ब पुगेको र कुल मध्यवर्ती उपभोग र उपभोक्ताको मूल्यमा १४ खर्ब ८६ अर्ब १९ करोड १० लाख पुगेकोे छ । कुल स्थिर पुँजी निर्माण १० खर्ब २५ अर्ब (कुल गार्हस्थ उत्पादनको ३४.११ प्रतिशत) र चालू मूल्यमा अन्तिम उपभोग खर्च २५ खर्ब ५५ अर्व १६ करोड ३९ लाख रहेको विभागका महानिर्देशक सुमनराज अर्यालले बुधबार आयोजित कार्यक्रममा जानकारी दिए ।
चालू मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात ११ खर्ब ५ अर्व ८ करोड ८० लाख र बिप्रेषण ७ खर्ब २९ अर्ब २४ करोड २० लाख रहेको पनि विभागले जनाएको छ । सरकारले चालू आर्थिक वर्षमा ५.८९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । केन्द्रीय तथ्यांक विभागले धानको उत्पादन डेढ प्रतिशतले घटेका कारण कृषि क्षेत्रको वृद्धि २.९२ प्रतिशतमा सीमित हुने भए पनि निर्माण तथा उद्योग क्षेत्रमा ८.७ प्रतिशत र सेवा क्षेत्रमा ६.६२ प्रतिशतको आर्थिक वृद्धि हुने भएकाले समग्रमा ५.८९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको हो । विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्ष औद्योगिक उत्पादनतर्फ इँटाको उत्पादन ८४, वनस्पति घ्यु ६०, मदिरा ४५, पशुदाना ३७ र चिरान काठको उत्पादन ३० प्रतिशतले बढ्ने बताएको छ ।
निजी लगानीमा सुधार आएको, पुनर्निर्माणले गति लिएको भन्दै त्यसको प्रभाव अर्थतन्त्रमा पर्ने बताएको छ । केही दिनपहिले विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ४.६ तथा एसियाली विकास बैंकले ४.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेका थिए । तर केन्द्रीय तथ्यांक विभागले कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान बढेर ५८ प्रतिशत पुगेको तथा कृषि क्षेत्रको योगदान भने घटेर २८ प्रतिशतमा झरेका कारण आर्थिक वृद्धि सन्तोषजनक हुने बताएको छ ।
विभागले खासगरी निर्माण क्षेत्रको वृद्धि उत्साहजनक देखिएको पनि जनाएको छ । पुनर्निर्माणका अलावा जलविद्युत् आयोजना र विमानस्थल निर्माणको कामले गति लिएका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको विभागको महानिर्देशक अर्यालले बताए । “भूकम्पपछिको पुनर्निर्माणले गति लिएको छ, विकास निर्माणका कामले प्राथमिकता पाएका छन् अर्थतन्त्रले सकरात्मक बाटोमा पाइला चालेको छ,” उनले भने । विभागले चालू आर्थिक वर्षमा निर्वाचनका कारण सरकारी खर्च ९.६ प्रतिशतले बढेको पनि जानकारी दिएको छ । अर्थतन्त्रको आकार बढेको र रेमिट्यान्स घटेका कारण त्यसको असर आर्थिक वृद्धिमा देखिएको विभागको दाबी छ ।
धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक वृद्धिमा असर गरेको विभागका निर्देशक ईश्वरी भण्डारीले बताए । उनले भने, “आन्तरिक उत्पादसँगै रेमिट्यान्स घट्ने देखिन्छ कृषिको मुख्य औजार धान हो तर धानमा कमी आएकोले त्यसको असर आर्थिक वृद्धिमा पर्ने देखिन्छ,” उनले भने । विभागले यस आर्थिक वर्षमा २ खर्ब ६४ अर्ब र आयात १३ खर्ब ६९ अर्ब हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलनमा विभागले प्रतिव्यक्ति नेपालीको आम्दानी पहिलोपटक १ हजार ४ अमेरिकी डलर पुगेको बताएको छ । गत वर्ष १०५ डलरले बढेर ८६२ अमेरिकी डलर पुगेको नेपालीहरुको प्रतिव्यक्ति आम्दानीमा यसपाली थप सुधार आएर पहिलो पटक १ लाख रुपैयाँमाथि पुगेको हो ।
विभागले अर्थतन्त्र सकारात्मक बाटोमा हिँडेको र दक्षिण एसियामा औषत रहेको पनि बताएको छ । विभागले शिक्षामा ४.८ प्रतिशत र स्वास्थ्यको क्षेत्रमा ६.३ प्रतिशतले वृद्धि पनि प्रक्षेपण गरेको छ । महानिर्देशक अर्यालले चालू आर्थिक वर्षमा २ खर्ब ३५ अर्ब स्रोत अपुग हुने र ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल आउने बताएको छ । मुलुक संघीय संचरचनामा प्रवेश गरे पनि पुरानै संरचनाअनुसार नै सर्वेक्षण गरिएको र सरकारले स्थानीय तहमा पठाएको २ खर्ब २५ अर्बको हिसाब छुट्टै नआएको विभागको भनाइ छ । उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका प्रविधिलाई आत्मसात गर्दै तथ्यांक प्रस्तुत गरिएको दाबी गरेको छ । कारोबार