ओली–प्रचण्ड ‘निर्णायक’ छलफल आज, शनिबार एकताको मिति घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 08:27:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए ।

गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् । २० वैशाखमा निर्णायक छलफल गर्ने समझदारीपछि दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त बनेका थिए । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन् ।

दुई दलबीच एकीकृत पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् । स्रोतका अनुसार दुई दलबीच ६०÷४० को अनुपातमा संख्यात्मक हिस्सेदारी मिलाउने गरी एकता टुंगो लगाउने तयारी छ ।

एमालेले आन्तरिक छलफल गर्दै
माओवादी केन्द्रसँगको एकताका विषयमा एमालेले बिहीबार आन्तरिक छलफल गर्ने भएको छ । बुधबार साँझ डाकिएको स्थायी समितिको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताले स्थगित भएपछि एमालेले बिहीबार छलफल गर्न लागेको हो ।

‘प्रधानमन्त्रीज्यू व्यस्तताका कारण गृहजिल्ला झापाबाट ढिलो आउनुभएको र थकाइमा रहनुभएका कारण बिहीबार बस्ने गरी बैठक स्थगित भएको छ’, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षज्यूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलअघि या पछि स्थायी समिति बैठक बस्नेछ ।’

माओवादी केन्द्रले बुधबार केन्द्रीय सचिवालय बैठकमा एकताबारे छलफल गरेकाले एमाले नेताहरूले पार्टी स्थायी समितिमा सोही एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताएका थिए । बैठकको एजेन्डा तयारीका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर केन्द्रीय सचिवालय बैठकसमेत बसेको थियो । तर, प्रधानमन्त्री ओली व्यस्त बनेपछि बैठक स्थगित भयो ।

शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् ।

‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधानलगायतका विषयमा सहमति जुटिसकेको र अब केन्द्रीय समितिको संख्याका विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराउनुभयो’, बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले भने ।

बिहीबार आफूले ओलीसँग वार्ता गर्ने र केन्द्रीय समितिको संख्यालगायतमा सहमति जुट्न बाँकी विषयलाई अन्तिम रूप दिने प्रचण्डको भनाइ थियो । दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।

प्रचण्डको भनाइ उल्लेख गर्दै नेता गणेश शाहले सम्माजनक,न्यायोचित र समानताका आधारमा एकता हुने बताए । ‘पार्टी एकता भएपछि एमाले पनि रहँदैन, माओवादी पनि रहँदैन,’ शाहले भने, ‘सम्मानजनक न्यायोचित र समानताका आधारमा एकता हुन्छ ।’ एकताका लागि धेरै विषय मिलिसकेको बताउँदै प्रचण्डले थोरै प्राविधिक विषयमा सहमति भएमा पार्टी एकता हुने बताए । ‘पार्टी एकताको मिति छिट्टै घोषणा हुँदै छ ।’प्रचण्डको भनाइ उल्लेख गर्दै शाहले भने, ‘म केन्द्रीय समितिमा परिनँ, म पोलिटब्युरोमा परिनँ, म स्थायी कमिटीमा परिनँ भनेर दुखेसो नगर्नुहोला । एकता गरेर समाजवादी क्रान्ति गर्नुपर्ने भएकाले केही विषयमा कम्प्रोमाइज गर्नु पनि पर्छ ।’

संगठन पुनर्गठन गर्न निर्देशन
प्रचण्डले संगठनको अद्यावधिक गर्न पनि निर्देशन दिएका छन् । पार्टीको टोल कमिटीदेखि गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका, निर्वाचन क्षेत्र,जिल्ला,प्रदेश,केन्द्रीय कमिटीसम्म अद्यावधिक गर्न निर्देशन दिइएको हो । माओवादीमा प्रवेश गर्ने र छाड्ने धेरै भएकाले संगठन व्यवस्थित हुन सकेको छैन । केही दिनअघि रामबहादुर थापाको संयोजकत्वमा संगठन व्यवस्थित गर्न निर्देशन दिइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved