सुवालले 'मन्त्रीज्यूले ईश्वर कहाँ छन भनेर देखाउन सक्नुभएन’ भन्दा संसदमा हाँसोको फोहोरा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 10, 2018 | 07:29:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कोही मोबाइल चलाइरहेका, कोही हाई काढिरहेका अनि कोहीचाहिँ कुर्सीमा असरल्ल परेर बसेका । प्रतिनिधिसभामा बुधबार बैठक चलिरहँदा सांसदहरू विभिन्न मुद्रामा देखिन्थे । बजेट अधिवेशनअन्तर्गतको बैठकमा पहिल्यै तय भएका केही अध्यादेश र प्रि–बजेट प्रस्तुत हुँदै थियो ।

नेमकिपाका एक मात्र सांसद प्रेम सुवाल चार–चारपटक ‘पोडिएम’ मै गएर बोले । प्रत्येकपल्ट उनलाई सभामुख कृष्णबहादुर महराले ‘समय पाँच मिनेट’ भन्न छुटाएनन् । राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, सत्यनिरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधनसहित) अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेशविरुद्ध मत राख्ने एक मात्र सांसद उनी मात्रै थिए । प्रत्येक अध्यादेशमा आफ्नो विरोध हुनाका कारण भन्न सभामुखले उनलाई पाँच मिनेट समय दिएर ड्यासमै बोलाए । अनि उनले अध्यादेशैपिच्छे विरोध गर्नुपर्नाका कारण खोलिदिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा उपस्थित अन्य सांसद भने विषयप्रति ‘फोकस आउट’ झैं देखिन्थे । मानौं, संसद्मा उनीहरूसँग असम्बन्धित विषय प्रवेश गराइएको छ । बैठकमा सुवाल बोल्ने र त्यसको जवाफ सम्बन्धित मन्त्रीले दिने क्रम भने चलिरह्यो । चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा सुवालले उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीका नाताले स्वास्थ्यमन्त्री गिरिरजामणि पोखरेलले दिए भने बाँकी तीन विधेयकमा उनलाई तीनैपटक जवाफ दिनुपर्‍यो कानुनमन्त्री शेरबहादुर तामाङले । प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेशको विरोध गर्ने क्रममा जब उनले ‘मन्त्रीज्यूले ईश्वर कहाँ छन् देखाउनुपर्छ’ भने, तब एकाएक संसद् बिउँझिएजस्तो भयो । त्यसलाई प्रस्टै सुन्ने केही सांसदको हाँसोको फोहरा छुट्यो ।

यो विधेयकमा सुवालले विरोध गर्नाको कारण रहेछ, ‘ईश्वरको नाममा शपथ खान्छु’ भन्ने अध्यादेशमा प्रयुक्त वाक्यांश । नदेखिने ईश्वर होइन, देखिने देश र जनताको नाममा शपथ खानुपर्छ भन्ने उनको तर्क थियो । होइन भने यस्तो प्रस्ताव ल्याउने कानुनमन्त्रीले ईश्वर देखाइदिनुपर्ने उनको माग सुनेपछि केही सांसद अलिक टाठो भएजस्ता देखिए । त्यसपछि अग्नि सापकोटा, भीम रावललगायत दर्जनभन्दा बढी सांसद बाहिरिए । सुजाता कोइराला भित्र पसिन् र दुई मिनेटमै बाहिरिइन् । खानेपानीमन्त्री बिना मगर पछाडिको सिटबाट उठेर अघिल्तिरको लहरमा बसिन् र दायाँतिरका पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा बायाँतिर कुर्सीका अर्थमन्त्री युवराज खतिवडासँग पालैपालो खासखुस गरिन् ।

यसबीचमा मन्त्री तामाङलाई सुवालको जवाफ दिन सभामुखले फेरि पोडियममा बोलाए । उनले ईश्वर देखाउने काम गरेनन् बरु ‘कानुनहरूमा एक रूपता दिन’ भनेर ‘देश र जनता/ईश्वर’ का नाममा शपथ खुवाउने व्यवस्था गरिएको तर्क गरे । अनि भने, ‘जसलाई देश र जनताको मनमा शपथ खान मन लाग्छ, उसले देश र जनताकै नाममा खान्छ, जसलाई ईश्वरका नाममा मन लाग्छ, उसले ईश्वरकै नाममा खान्छ ।’ त्यसपछि सभामुखले सुवाललाई मन्त्रीको जवाफ चित्त बुझेको भए विरोध फिर्ता लिनुस् भने । ‘म यो फिर्ता लिन सक्दिनँ सभामुख महोदय,’ निकै गम्भीर भएर सुवाल बोले, ‘किनभने मन्त्रीज्यूले ईश्वर कहाँ छन् भनेर देखाउन सक्नुभएन ।’ यसपछि भने सदनभित्र केहीबेर हाँसो गुन्जियो । अघिल्ला तीन अध्यादेशमा जस्तै यसपटक पनि सुवाल एक्लो परे, बाँकी बहुमतले अध्यादेश पारित गर्‍यो । अर्थमन्त्री खतिवडाले अब सरकारले यी–यी काम गर्न पैसा छुुट्याउँछ भनेर बजेटको संक्षिप्त आकार सुनाए । त्यसमाथि बिहीबार छलफल गरौंला भनेर सभामुखले सभा टुंग्याए । त्यसपछि बसेको राष्ट्रिय सभा बैठकमा भने चारै अध्यादेश सर्वसम्मतिले पारित भए । कान्तिपुर 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved