कसले राखेको थियो स्वरूप बिग्रिएको झन्डा? यसरी भयो खुलासा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 06:39:42 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए ।

जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आधा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झन्डा राखेका थिए ।

नेपालको झन्डा उनीहरूले कहाँबाट ल्याए भन्ने नेपाली पक्षलाई जानकारी छैन । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी संघीय सरकार, प्रदेश सरकार र जानकी मन्दिरले संयुक्त रूपमा लिएका थिए । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मन्दिर परिसरमा भारतीय दूतावासले राखेको कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘भारतीय दूतावासले त्यहाँ कार्यक्रम राखेको सुनेको थिएँ, तर कार्यक्रमका लागि ल्याउने सामान कहाँबाट ल्याइयो र झन्डा कसरी राखियो मलाई थाहा छैन ।’

प्रदेश सरकारका प्रमुख सचिव हरि फँुयालले सो कार्यक्रममा प्रदेश सरकारका कर्मचारीको उपस्थित नभएको बताए । उनले भने, ‘प्रदेशका कर्मचारी सो कार्यक्रममा सहभागी थिएनन् । झन्डा कसले कसरी राख्यो जानकारी भएन ।’

कार्यक्रममा उद्घोषण भन्ने प्ररराष्ट्र मन्त्रालयका सहायक प्रोटोकल अधिकृत रामबाबु ढकालले गरेका थिए । उनी मञ्चमा पटक–पटक ओहोरदोहोर गरेका थिए । कार्यक्रमस्थलमा भारतीय दूतावासका कर्मचारीको भने घुइँचो थियो ।

उता संघीय सरकारका सामान्य प्रशासन मन्त्रालयले झन्डा बिगारेको विषयमा प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिका प्रशासकीय अधिकृतलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको छ ।

यसरी भयो लापरबाही
जानकी मन्दिरमा रामायण सर्किटको शिलान्यास हुने भनिए पनि प्रदेश सरकार र जानकी मन्दिर व्यवस्थापनलाई कार्यक्रमबारे जानकारी दिइएको थिएन । पछि सो कार्यक्रमको व्यवस्थापन भारतीय दूतावासले गरेको थियो । मञ्च पनि उसैले बनायो ।

सञ्चारकर्मीको टोली जानकी मन्दिर पुग्दा दूतावासका कर्मचारी हतारहतार मञ्च बनाइरहेका थिए । नेपाली अधिकारी त्यहाँ उपस्थित भए पनि जिम्मेवारी लिएनन्, न त दूतावासका कर्मचारीलाई आवश्यक निर्देशन नै दिन सके ।

प्रमुख सचिवलाई पनि थिएन पास
प्रदेशका प्रमुख सचिव हरि फुँयाललाई पनि जानकी मन्दिर प्रवेशको पास थिएन । नीलो र रातो दुई प्रकारको पासको व्यवस्था थियो । नीलो सञ्चारकर्मीलाई र रातो व्यवस्थापनमा खटिएकाका लागि थियो ।

सचिव फुँयाल भने, ‘प्रदेश सरकारका कुनै पनि कर्मचारीलाई पास थिएन, पास नै नदिएपछि त्यहाँ जाने कुरै भएन, फेरि त्यतिवेला म बाह्रबिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved