काभ्रे विमानस्थलको लागत १० अर्बभन्दा बढी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 07:39:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काभ्रेको नागीडाँडामा निर्माण गर्ने भनिएको आन्तरिक विमानस्थलका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको एक प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनमा १० अर्बभन्दा बढी खर्च हुने देखिएको हो ।

काभ्रेको नागीडाँडामा विमानस्थल बनाउनको लागि झन्डै ४५ मिटर डाँडा कटान गर्नुपर्ने तथा मुआब्जामै ठूलो रकम खर्च हुने अध्ययनमा देखिएको छ । अनेकौं प्रतिकुलताका बीचमा पनि विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विशेष जोडबल देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको विकल्पका रुपमा हेरिएको यो विमानस्थल निर्माणले आन्तरिक उडान ‘डाइभर्ट’ हुनेमा समेत धेरैले विश्वास गर्न सकेका छैनन् । मन्त्री अधिकारीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा कुनै पनि बहानामा विमानस्थल निर्माण हुने कार्यबाट पछाडि नहट्ने बताए । 

विमानस्थलको धावनमार्ग ८ सयदेखि १२ सय मिटरमात्र हुने भएकोले पनि समस्याको समाधन गर्न नसक्ने जानकारहरू बताउँछन् । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल ७ अर्ब रुपैयाँमा तयार हुने अवस्था रहे पनि काभ्रेमा अन्तर्राष्ट्रिय विमानस्थलकै लागि १० अर्ब रुपैयाँ खर्चिनु कत्तिको उपयुक्त हो भन्ने प्रश्न पनि उठेको छ । आन्तरिक उडान गर्ने त्यसमा पनि साना विमानमात्र उडान गर्नेगरी निर्माण गरिने विमानस्थलले बिजनेस नै नपाउने प्राधिकरणकै अधिकारीहरू बताउँछन् । 

अहिले डाँडा कटान नगरी धावनमार्गसहित संरचना बनाएर विमानस्थल बनाउन पनि ८ सय मिटरको लागि ३ अर्ब ५० करोड खर्च हुन्छ । यस्तै, १२ सय मिटरको लागि ५ अर्बभन्दा बढी खर्च हुन्छ । नागीडाडाँमा ४५ मिटर भन्दा बढी माटो कटान गर्नुपर्ने तथा पर्खाल उठाउनुपर्ने भएकोले पनि खर्च अधिक हुने प्राविधिकहरूको भनाइ छ । 

प्राधिकरणले यसअघि काभ्रेको ठूलीचौरमा निर्माण गर्ने भनेको विमानस्थल निर्माणमा समेत दुई वर्षअघि नै ७ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको थियो । “अहिले नागीडाडाँमा १० अर्ब खर्चनु भनेको मुर्खताभन्दा अरु केही होइन,” प्राधिकरणकै एक उच्च अधिकारीले कारोबारसँग भने । बिजनेस नै नपाउने विमानस्थलको लागि अर्बौं खर्चनु भनेको स्थानीय जग्गा दलाललाई मोटाउने अवसर दिनुमात्रै रहेको उनको भनाइ छ । 

मन्त्री अधिकारीले काभ्रेबाट लुक्ला तथा हेलिकप्टरहरूको उडानको लागि सहज हुने भएकाले आन्तरिक विमानस्थल बनाउन लागिएको बताउँदै आएका छन् । त्यसको लागि पूर्व पर्यटनसचिव यज्ञ गौतम सहितको टोलीलाई विमानस्थल बनाउने स्थानको खोजी गर्न जिम्मा लगाएका छन् । 

निजी क्षेत्रका वायुसेवा सञ्चालकहरूको संस्था आयोनका अध्यक्ष पवित्रकुमार कार्की पनि काभ्रेमा अर्बौं खर्च गरेर निर्माण हुने विमानस्थलको कुनै औचित्य नहुने तर्क गर्दछन् । “भैरहवा विमानस्थल सञ्चालनमा आउने बेलासम्म केही एयरलाइन्सहरूलाई पार्किङको लागि आफ्नै हब एयरपोर्टमा पठाएमा सबै समस्या समाधान हुन्छ,” कार्कीले भने । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले समेत जहाजको उडान अतवरणको समयमा पनि हेलिकप्टर उडान तथा अवतरण रोक्नु भन्दैन तर नेपालमा अनौठो नियम लगाउँदा पनि समस्या बढेको कार्कीको तर्क छ । 

प्राधिकरणले भने १० वर्ष अघिदेखि काभ्रे वरपरका डाडाँमा विमानस्थल खोजी गर्र्दै आएको छ । तत्कालीन पर्यटनमन्त्री हिसिला यामीले काभ्रेको पाँचखालमा आन्तरिक उडानको लागि विमानस्थल निर्माण गर्ने घोषणा गर्दै अवलोकन र सर्भे गरिएको थियो । अहिलेसम्म कुनै पनि प्राविधिक अध्ययनमा विमानस्थल उपयुक्त नहुने देखिएपछि घोषणा भए पनि निर्माणले गति लिन नसकेको हो । उक्त क्षेत्रमा मुआब्जालगायतका कारण देखाउँदै बनाउन असम्भव भन्ने प्रारम्भिक प्रतिवेदन प्राधिकरण नेतृत्वले दिएको थियो । 
त्यसपछि केही वर्ष सेलाएको विमानस्थल खोजी कार्य तत्कालीन पर्यटनमन्त्री शरत्सिंह भन्डारीको समयमा पुनः विमानस्थल निर्माणको लागि अध्ययन भएका थिए । उक्त समयमा पुनः विमानस्थल बनाउने भन्दै भकुन्डेवेसीलाई स्थान छनोट गरियो । तर स्थानीयहरूले कुनै हालत बनाउन नदिने चेतावनी दिएपछि पुनः केही समय विमानस्थल खोजीको कार्य रोकिएको थियो । त्यसको केही वर्षपछि प्राधिकरण नेतृत्वले काभ्रेकै विमानस्थल स्थानमा विमानस्थलको अध्ययनको लागि भन्दै लाखौ रुपैयाँ खर्च गरिसकेका छन् । तर पनि हालसम्म कहाँ बनाउने हो भन्ने विषय टुंगिन सकेको छैन । कारोबार दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved